लकडाउन यात्रा संस्मरण


हरेकपल April 4, 2020

मैले जयवागेश्वरीको डेराबासमा २०७२ सालमा भुइँचालो कहर भोगेँ । अहिले २०७६ सालको अन्त्यको समयमा कोरोना कहर भोग्दै छु । फरक यो छ, भुइँचालोमा मानिस सुरक्षित हुन घरबाहिर बस्न मन पराउँथे । अहिले सुरक्षित हुने नाममा मन पराइरहेका छन् घरभित्रै बन्दी हुन ।

मलाई हरेकपल डट कमले घरबाटै अफिसको काम गर्ने सुविधा दिए पनि यो लकडाउनका बेला मेरो कोठामा इन्टरनेट नभएको अवस्था छ । जुन नेट म उपयोग गर्थेँ, त्यो मेरो छिमेकी कोठामा बस्नेकोे थियो । त्यसलाई महिनाको छ सय तिरेर म उपयोग गरिरहेको थिएँ । छिमेकीले डेरा सर्दा नेट पनि उतै सर्यो र म नेटविहीन बनेँ । अब नेट जोडूँ न त भन्यो भने पनि लकडाउन सकिने समय पर्खनुपर्यो । अब नेट जोड्न ढिलो गर्नुको पछुतो बाहेक अरू के नै गर्न सक्छु र म ? कतिपय पत्रकार मित्रहरूले अफिसमा नै ओछ्यान ल्याएर काम गरिराखेको थाहा पाइरहेको छु मैले । पत्रकारिताको धर्म निर्वाह गर्न सजिलो छैन । भनिन्छ– पत्रकार त्यो हो, जो युद्धमा रुन पाउँदैन । महामारीको बेला उसले कामबाट टाढिन मिल्ने कुरै भएन । त्यसैले ‘जोे डर गया, वह मर गया’ भन्ने हिन्दी डायलग बोल्दै घरबाट अफिसतिर निस्कन्छु म । समय यस्तै बिहानको पौने छ, छ वा सवा छ हुँदो हो ।

म जयवागेश्वरी, नवाली टोल हुँदै सिफलतिर लाग्छु । मानिसहरू खाद्यान्न र तरकारी किन्दै थिए सडक छेउका खुला आकाश मुनिका पसलमा । कोही किनिसकेर फर्किँदै थिए । कोही लट्ठी बोकेर मर्निङवाकमा पनि थिए । मर्निङ बाक किन भनेको भने अरू दिनमा जस्तै तिनको हातमा लट्ठी थियो । बिस्कुटको पुरिया पनि । आज पनि तिनीहरू बाटाका कुकुरलाई दुईदुईवटा बिस्कुट दिँदै अघि बढिरहेका थिए । हुन त दुई काम, एक पथ पनि हुन सक्छ । जे होस्, मर्निङवाक होइन भन्न मिल्दैन । तिनको हिँडाइको शैलीले पनि त्यही बताउँथ्यो । तिनीहरूलाई देखेर नवाली टोलका एक बासिन्दाले पशुपति क्षेत्रका बाँदरको चिन्ता गरे, ‘बाँदरहरूलाई पो खानाको कमी हुने भयो । बाँड्दै आएकाहरूमध्ये कतिले बाँड्दै छन्, कतिले छैनन् ? सरकारले त के मतलब गथ्र्यो ?’

प्रहरीको भ्यानबाट सूचना प्रवाह हुँदै थियो–
अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कुहोला । यदि अटेर गरेमाा छ महिनासम्म जेल सजाय हुन सक्ने छ ।

यो सूचना सु्न्दा तरकारी बेच्दै गरेकी फुटपातकी पसल्नी महिला भन्दै थिइन्, ‘अत्यावश्यक भनेको के हो ? काम नगरी कसरी खानू ? काम गर्न त पाउनुपरो नि ।’

उनीसँग तरकारी किनेर फर्कन लाग्दै गरेको ग्राहकले भने, ‘सरकारले हाम्रै लागि यो कडाइ गरेको हो ।’

उनले सरकारसँगको असन्तुष्टिको कारण यसरी खुलाइन्, ‘हिजो ठेलामा तरकारी बेच्ने बहिनीलाई – भोलिदेखि ठेला नचलाउनू भनेर पुलिसले भन्यो । उनी अलि ढिलोसम्म बसेकी थिइन् । बिक्री पनि भइरहेको थियो । साइकल र ठेलामा बेच्नेलाई बेच्नै पाउँदैनौ त भन्नु भएन नि सरकारले ।’

कोरोनाको असरको चर्चा सडकमा भइरहेको छ । म सुन्दै अघि बढिरहेको छु । बाटाका दायाँबायाँका दृश्यहरू अरू दिनभन्दा फरक छन् । सधैँ बिहानै खुल्ने सटरहरू खुलेका देखिँदैनन् । खाद्यान्न, डेरी र फलफूलका मात्र सटर खु्लेका छन् । म सिफलनेर पुग्दा अघि सूचना प्रवाह गर्ने पुलिसको भ्यान पनि सुस्त गतिमा आउँदै छ । माइकबाटै पुलिसले पैदल यात्रुलाई थर्काउँछ, ‘ओ, भाइ ! माक्स लगाएको खै ? माक्स खै भन्या ?’ पुलिसको स्वरले माक्स नभएको १८–२० वर्षे केटो दौडिए गुडुडु । सिफलनेर सुन्तला बेच्दै गरको मधेशी साइकिल पसलेले पनि साइकिल कुदाए हातैको भरले । एकैछिनमा गायब भए । पुलिसले समाएर लग्ला भन्ने डरले उनी कहाँ अलप भए मैले थाहा पाइनँ ।

सिफल चौकसम्म पुग्दा चार पाँचवटा पत्रपत्रिका बेच्ने पसल छन् । तर आज सबै बन्द । खु्लेका रहेछन् भने एकदुईवटा पत्रिका किनूँ भनेको, पाइएन ।

म सिफलबाट अघि बढेँ । बाटामा मानिसहरूको भीड छैन । जो छन् ती अत्यावश्यक सामान किनेर आउँदै छन् या जाँदैछन् । तिनका लुगा र खुट्टाका चप्पलबाट यो अनुमान गर्न सकिन्छ । जुत्ता लगाएका मानिस देखिएनन् । गाडीहरू पनि अरू दिनको जस्तो छैनन् । एकदम कम छन् । छैनन् बराबर नै । जे जति गाडी थिए, ती कि त पुलिसका थिए, कि महानगरपालिकाका फोहोर उठाउने गाडी थिए । कि त थिए, खानेपानीका ट्याङ्कर कि थिए डेरीका गाडी, कि खाद्यान्न ढुवानी गर्ने गाडी । मोटर साइकल एकादुई चलेका थिए ।

कालो पुल नेर एकजना पैदल यात्रुलाई तरकारी किनेर ल्याउँदै गरेका मानिसले सोधे, ‘आज किन बाइक नलिई आउनुभएको ?’
जवाफमा ती पैदलयात्रुले भने, ‘पुलिसले कतिलाई जताबाट आएको हो, त्यतै फर्काइदिँदै छ । हिँड्दा स्वास्थ्यलाई पनि राम्रो ।’
तरकारी बोक्ने मानिसले सही थाप्दै भने, ‘हो । अब कसैको घर जाऊँ भने पनि मान्छे घरमा आएको मन नपराउने समय आएको छ ।’
यी दुईजनाको संवादले गाडी नकुद्ने कारणबारे स्पष्ट जानकारी दिन्छन् ।

कालो पुलबाट सानो गौचरणतिर अघि बढ्ने क्रममा मलाई बाटाको बीचोबीचबाट हिँड्न मन लाग्यो । त्यो पनि आकाशतिर हेर्दै । धेरैजसो आकाशतिर हेर्यो र बेलाबेला भुईँ हेर्यो गर्न थालेँ । गाडी कतैबाट आए, आवाजले थाहा पाइहालिन्थ्यो । गाडीको आवाज आए, छेउ लागे भैहाल्यो । सडकमा कुकु्रहरुकोे सङ्ख्या जति देखिन्थ्यो, त्योभन्दा कम थिए गाडीहरू । परेवाहरु आकाशमा उडेको हेरेँ । काग हेरेँ । भँगेराहरूलाई हेरेँ । सडकबाट देखिने रुखहरूमा बसन्तले पालुवा हालेको हेरेँ । खुब रमाइलो लाग्यो । यस्तो अवसर नै कहाँ पाइन्छ र अरूबेला ?

बाटो क्रस गर्न कुनै समस्या छैन । बाटाका मङ्गल गनेर हिँड्न सकिन्छ सजिलै । लेन छुट्याउने सेतो रेखा जो पट्टीजस्तो छ, त्यो पनि भगवती बहालसम्म कतिवटा छन् र त्यसभन्दा अगाडि कति छन् भनेर हिसाब निकाल्न सकिन्छ । न अफिस भ्याउने चटारोमा छन् मानिसहरू । न त गाडी र मानिसको भीड नै छ । सानो गौचरणको बाटो अरूबेला भन्दा आरामले काट्छु म । अघि बढ्दै जाँदा मालीगाउँ जाने बाटो आइपुग्छ । एक मन त जाऊँ सञ्जीव उप्रेती दाइलाई भेट्न जस्तो पनि लाग्छ । तर उहाँले पक्कै भन्नुहुनेछ,, ‘मनोज भाइ, आज त आउनुभयो तर अब यो लकडाउनभरि नआउनूहोला ।’ आफ्नै मनले आफैलाई के वाहियात कुरा सोचेको भन्यो ।

खाना पकाउने ग्याँस लिएर एउटा साइकिल आउँदै थियो । बाटामा कुदाउँदै गरेको साइकिल देखिएको यो नै हो । उसलाई पसलेले भने, ‘तिमीलाई त सजिलै रहेछ । दुइटा खाली सिलिण्डर बोकेर जहाँ गए पनि भयो । पुलिसले पनि नछेक्ने ।’

‘अँ, जेल जाने सल्लाह दिनुस् मलाई । हिजो पुलिसले नै कुन ठाउँबाट ल्याएको भनेर सोध्दै थियो । उसका आफन्तको पनि नेपाल ग्याँस चलाउँदा रैछन् ।’

म पुग्छु– भगवती वहाल । त्यहाँ पुलिसका गाडी थिए । पुलिस पनि थिए बाटामा । एक महिला प्रहरीको छेउबाटै म पेटीतिर लाग्दै थिएँ, उनले हातले इसारा गरेर उनीभन्दा अलि परबाट हिँड्न भनिन् । बिचरा, तिनलाई पनि कोरोना सर्ला कि भन्ने कति डर ! बाटाको बीचमा बसे पनि मान्छे्हरू वल्लोछेउ र पल्लोछेउ एकैचोटि आएपछि कहाँ जानू ? सोचेँ, पुलिसलाई त यस्तो छ, कोरोनाका बिरामी जाँच्ने डाक्टर र नर्सलाई कस्तो हुँदो हो ! सोच्दै हिँड्दा चारढुङ्गे आइपुग्छु । नन्दी स्कुल अगाडि अलिक भीड छ । पानी थाप्नेहरूको भीड । तरकारी ठेलापसलबाट किन्नेहरू पनि छन् । साइकिलबाट फलफूल किन्नेहरू पनि छन् । खाद्यान्न किन्नेहरू पनि । खाद्यान्न ढुवानीको गाडीबाट सामान झार्ने समय पनि त्यही परेछ । मलाई तीन फिटको दूरीमा हिँड्न यहाँ भने हम्मेहम्मे पर्यो । पुसिलको गाडी तुरुन्तै त्यहाँ आइपुग्यो । पुलिसले सडकका मानिसलाई तिनी बाहिर निस्कनपर्ने काम सोध्न थाले. र भने, ‘तपाईँहरू काम नहुने मान्छे घरभित्र जानुस्, घरभित्र जानुस् ।’ मैले जनआन्दोलनको बेलाको कफ्र्युको समय सम्झिएँ । त्यो बेला पनि चैतकै महिना थियो । तर त्यो बेला पुलिस देख्दा रिस उठ्थ्यो, आज उनीहरूले घर भित्र जानुस् भन्दा त्यस्तो रिस उठेन । बरु ठीक लाग्यो । निको लाग्यो ।

यहाँसम्म आइपुग्दा मलाई भने कुनै पुलिसले सोधेनन् , ‘कता’ भनेर ? उनीहरूले मलाई अ्रत्यावश्यक काममा नै निस्केको सम्झिए क्यार । मेरो हिँडाइको गति भने निकै तेज थियो । यसैकारण पनि मलाई कतै कुनै पुलिसले केही नसोधेका हुन सक्छन् । सोधेका भए पनि मेरो प्रेस कार्ड साथमै थियो । मेरो हिँडाइको गति धिमा त्यतिबेला मात्र हुन्थ्यो, जतिबेला बाटा वा पसलका मानिसले कोरोनाका कारण उत्पन्न परिस्थितिका बारेका केही भनेको सुन्थेँ । मैले घरबाट निस्कँदा नै सोचेको थिएँ, आज म यात्रा संस्मरण लेख्छु । लकडाउन यात्रा संस्मरण ।

म हिँड्दै नाग पोखरी आइपुग्छु । नाग पोखरीका सबै फलैँचा खाली थिए । यसरी खाली भएको कहिले पनि देखेको थिइनँ मैले । विभिन्न किसिमका मानिसहरू बसेको देखिन्थ्यो त्यहाँ अरूबेला । तिनीहरूबीच हुने हाउभाउले सहजै अनुमान गर्न सकिन्थ्यो – यी लोग्नेस्वास्नी हुन् , यी प्रेमीप्रेमिका हुन्, यी साथीसाथी मात्र हुन् इत्यादि । यो अलग कुरा हो, गरे जति सबै अनुमान मिल्छन् नै भन्ने छैन । तर आज फलैँचामा कोही छैनन् । निर्जन छन् नागपोखरीका फलैँचा । सक्दो हो त पोखरी बीचको नागको मूर्ति पनि कतै जाँदो हो । उसलाई पनि आफू बसेको ठाउँ बिरानो लागेको होला, कोही पनि पोखरी वरिवरिका फलैँचामा नदेख्दा । नागपोखरी परिसरभित्रको मन्दिरनेर भने पुजारी परिवार होलान् कि ? दुईजना मानिस देखिए । एकजना व्यायाम गर्न व्यस्त मानुष पनि थिए । धन्य यिनीहरूले नागपोखरीलाई निर्जन बन्न दिएनन् ।

म अब नारायणहिटी दरबारको पर्खालै पर्खाल उत्तरढोकातिर लागेँ । चराचुरुङ्गिीको आवाज मीठो सुनियो । बाँस झाँगका कागहरू पनि समवेत स्वरमा कराइरहेका थिए । बाटोमा कुनै गाडी गुडेको थिएन । मैले एकछिन आँखा चिम्लिएँ र म सहरमा छु भन्ने भुलिदिएँ । म हिँडिरहेको सडक गायब भयो । सडक छेउका बिल्डिङ गायब भए । नारायणहिटीको पर्खाल गायब भयो । अब धुले बाटो र झिंगटी र फुसको छाना भएका माटोले लिपेका र काठका गाउँले घरहरु भएका ठाउँमा पुगेँ म । र सुनेँ चरागान, कागको कराइ । मैले आफूलाई यतिखेर गाउँमै छु भन्ने कल्पना गरेँ । यो कल्पना दुई तीन मिनेटसम्म जारी रह्यो । गाडीको आवाज कानमा नपरुञ्जेल जारी रह्यो । गाडीको आवाजले मलाई आँखा खोल्न बाध्य पार्यो । आँखा खोलेँ । एउटा पजेरो मतिर पुच्छर फर्काएर हुइकियो । यो नआएको भए अरू केही मिनेट म गाउँमै हु्न्थेँ । नारायणहिटीको पर्खाल छेउछेउ हुँदै, बाँसका सुकेका पातलाई कुल्चँदै म त्रिबाटोमा आइपुगे । अर्थात् एउटा नागपोखरीबाट म आइरहेको बाटो, अर्को नारायण चौरतिर लाग्ने बाटो, अर्को लैनचौर जाने बाटोको बिन्दुमा आइपुगेँ ।

मैले नारायणहिटीको उत्तरढोका हुँदै कैलाशचौर जानुथियो । पर्खालैपर्खाल उत्तरढोका पुगेपछि बाटो क्रस गरे पनि हुने तर पहिले नै बाटो क्रस गर्न मन लाग्यो । सदा भीड हुने यो बाटोमा आज कतै पनि गाडी देखिएन । मैले पछि सम्झँदा पनि मजा आओस् भनेर आँखा चिम्लिएर बिस्तारै काटेँ बाटो । बाटो काटेको केही बेरसम्मै गाडी र मान्छे देखिएन । कुकुर गनेँ । चारवटा फेला परे कैलाश चौरतिर मोडिने बेलासम्ममा । मानिसभन्दा कुकुरको जनसंख्या बढी छ कि के हो ? मेरो मनले मैसँग ठट्टा ग¥यो । कैलाशचौर मोडिने बेलामा फोहोरको थुप्रो देखियो । महानगरले उठाउन भ्याएको रैनछ । मेरो माक्स नलगााउने बानी । विद्याले कोठाबाट निस्कने बेलामा ‘अरू बेला नलगाए पनि अहिले पुलिसले माक्स नलगाई हिँड्न पाइँदैन भन्यो भने फर्कनु पर्ला’ भनेर तर्साएर लाउन लगाएकी थिइन् । अहिले काम लाग्यो । नबोकेको भए पुलिसले फर्काइदिन पनि सक्थ्यो बाटैबाट । मेरो लगाउने तरिका भने नाक र खाने मुख छोप्ने किसिमको नभएर दाह्री प्रदेशमात्र छोप्ने किसिमको थियो । तल्लोओठ मु्निको भाग मात्र छोपेर लगाएको थिएँ यतिबेलासम्म । मानौँ माक्स भनेको चिउडो छोपुवा वस्त्र हो । यो महानगरले उठाउन नभ्याएको फोहोरको डङ्गुरले भने मलाई माक्स भनेको नाक मुख छोप्ने वस्त्र पनि हो भन्ने स्वीकार्न बाध्य पा¥यो । त्यस फोहोरमा आहारा खोजिरहेका थिए दु्ईटा कुखुरा र केही काग । म कैलाशचौरतिर मोडिएँ । मोडिनासाथ अरूबेला देखिन्थे, कोही न कोही मानिसहरू । आज त सडकमा पाँच छ वटा भँगेरा, तीन वटा कुखुरा र दुईवटा कुकुरमात्र देखिए । केही पाइला अगाडि बढेपछि बाटोले अङ्गेजीका े ‘थ्’ आकार लिने बेलामा मात्र मानिस देखिए । म वाई आकारको दाहिनेतिर लागेँ र पुगेँ हरेकपल डटकम । मैले आजसम्म लेखेका संस्मरणमध्ये यति छिटो लेखेको यो नै पहिलो हो ।