काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको हो। यो सँगै नेपालमा कोभिड १९ को संक्रमितको संख्या ९ पुगेको छ। कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
