जनसुरक्षा कोषमा ५० लाख सहयोग गर्ने सहाराको घोषणा


हरेकपल April 4, 2020

विराटनगर, २२ चैत । प्रदेश नं १ को सरकारले स्थापना गरेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु ५० लाख जम्मा गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीसँग सामना गरिरहेको सरकारलाई साथ दिनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रु ५० लाख सहयोग गर्नाका साथै राहत प्याकेज घोषणा गरेको सहकारीद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

संस्थाको २५औँ वर्ष पुगेको अवसरमा रु ३० लाख राहत कोषमा जम्मा गर्ने निर्णय गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताउनुभयो । यसअघि नै सहकारीले रु २० लाख सहयोग गर्ने घोषणा गरी सकेकाले जम्मा रु ५० लाख सहयोग गरेको हो ।

प्रदेश सरकार, स्थानीय तह, विपद् व्यस्थापन समन्वय समितिको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइनमा बसेका र विपन्न परिवारका लागि खाद्यान्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई खरिदमा सहयोग पु¥याउनु सहकारीले आर्थिक सहयोग गरेको अधिकृत गिरीले जानकारी दिनुभयो ।

झापा मोरङ, सुनसरी उदयपुर, पाँचथर र इलाम जिल्लामा सहकारीमार्फत काम गरिरहेको संस्थाले विराटनगर–१० स्थित नवसञ्चालन भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका लागि रु चार लाख बराबरको खाद्यान्न उपलब्ध गराएको छ । मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका इलाका प्रमुख ओम साहले खाद्य सामग्री हस्तान्तरण गर्नुभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

केन्द्रमा उपचारका लागि बस्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मीलगायत उपचार गराउन आउन सक्ने बिरामीका लागि उक्त सहयोग प्रदान उपलब्ध गराएको जनाएको छ । केन्द्रका लागि एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, आलु प्याज, चना, चिउरा, भुजा, नुन, चिनी, पानी र साबुनलगायतका सामग्री संस्थाले उपलब्ध गराएको हो । प्रदेशका छ जिल्लामा लघुवित्त र बैंकिङ दुवै मोडलमा बचत तथा ऋणको कारोवार गरिरहेको छ ।

बिर्तामोड नपाको राहत कोषमा नौ लाख ७६ हजार सहयोग

बनियानी – झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् । राहत कोषका लागि संस्थागत रुपमा १६ र व्यक्तिगत रुपमा एक जनाले गरी रु नौ लाख ७६ हजार ५०० सहयोग गरेको बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।

राहतको कोषमा कर्णाली साकोस र सिम्रिक साकोसले रु एक÷एक लाख, कञ्चनजङ्घा अङ्ग्रेजी मावि, न्यूटन र एभरेष्ट एकाडेमी, गोमेन्द्र बिर्ता मोडेल र गोमेन्द्र बहुमुखी कलेज, एमिटी एजुकेसन फाउन्डेसन, लिटल फ्लावर इङ्लिस स्कुल, कनकाई एजुकेसन फाउण्डेसनले रु रु ५०÷५० हजार, कञ्चन निर्माण सेवाले रु ५१ हजार सहयोग गरेका छन् ।

त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले रु एक लाख एक हजार, विराटपोखर महिला समूहले रु १० हजार, कमला आचार्यले रु २५ हजार, धौलागिरि पारिजात साकोस रु ५१ हजार, कृष्ण प्रणामी सेवा समाज, सद्गुरु देवचन्द्र सदन चारपानेले रु ५१ हजार, अनन्त परोपकार समाज सहकारीले रु २५ हजार, विराट–अर्जुन उपभोक्ता सहकारीले रु १० हजार ५०० र प्रथम बहुउद्देश्यीय सहकारी संस्था रु ५१ हजार सहयोग प्रदान गरेको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाले रु ५० लाखको राहत कोष स्थापना गरेको छ । जसमा नगरप्रमुख शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, अधिकृत देवराज कार्की र सबै वडाध्यक्षलगायत जनप्रतिनिधिले एक÷एक महिनाको पारिश्रमिक राहतकोषमा सहयोग गरेका छन् ।
–––