महाकालीपारि दुर्दशामा हजार नेपाली


हरेकपल April 5, 2020

काठमाडौं । सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था छ ।

भारत उत्तराखण्डकोे पिथौरागढ प्रशासनले एक हजार ६ नेपालीलाई पाँच सेल्टरमा राखेको छ । धार्चुलामा रहेको मिनी स्टेडियममा तीन सय २५, बालुवाकोट महाविद्यालयमा तीन सय ७१, जौलजिबीमा दुई सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएको छ ।

धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले नेपाली राखिएको क्वारेन्टाइनको शनिबार अनुगमन गरेका छन् । शुक्लासहित स्वास्थ्य परीक्षण टोलीले कुनै पनि नेपाली अहिले स्वास्थ्य समस्यामा नरहेको प्रतिक्रिया दिएको जानकारी धार्चुलास्थित पत्रकार राकेश तिवारीले दिए । कसैलाई कोरोना लक्षण देखिए स्वास्थ्य केन्द्रमा लग्ने तयारी छ । तर, क्वारेन्टाइमा रहेका कसैमा पनि कोरोना परीक्षण भने भएको छैन ।

भारतीय शिविरमा कष्टकर र जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गरेका छन् । ‘हामीलाई भेडाबाख्राभन्दा पनि नराम्रो अवस्थामा राखिएको छ, एकैठाउँ ठेलमठेल गरेर सयौँजना सुत्दा कोरोनाको जोखिम झन् बढेको छ,’ शिविरमा रहेका दिलेन्द्र महतराले भने, ‘आफ्नो देश फर्केर नियमअनुसार क्वारेन्टाइनमा बस्न हामी तयार थियौँ, तर नेपाल सरकारले नै हामीलाई मर्नका लागि नै यहाँ छाडिदियो, आफ्नै देशले अवहेलना गरेपछि विदेशीबाट के आशा गर्ने रु’

नेपालीहरू सुक्खा भात खाएर जीवन धानिरहेका छन् । तर, यो घडीमा उनीहरू खानाभन्दा पनि जीवनकै सुरक्षाप्रति चिन्तित छन् । खाना खाने वेलामा मात्र खुला चौरमा राखिन्छ । बाँकी २३ घन्टा उनीहरू भिडमै हुन्छन् ।

कोरोना संक्रमणको जोखिम घटाउन विश्वभर सामाजिक दूरी घटाउन पहल भइरहेको छ । तर, धार्चुलामा भने न्यूनतम संक्रमण सर्न नदिन अपनाउनुपर्ने न्यूनतम मापडण्डसमेत पूरा नभएकोमा सामाजिक संस्थाले सरकारको ध्यानाकर्षण गरेका छन् । नेपालीको विषयका के गर्न सकिन्छ भनेर आइएफआरसीले विवरण मागेको नेपाल रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिंह महराले जानकारी दिए । त्यस्तै, धार्चुलामा रहेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइमा राख्न इन्सेकले सरकारलाई आग्रह गरेको जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीले जानकारी दिए ।

धार्चुलामा मात्रै होइन, सीमामा आएर आफ्नै देश प्रवेश गर्न नपाएका नेपाली धेरै छन् । भारतसँग सीमा जोडिएका स्थानीय तहका जनप्रतिनिधि यसलाई मुख्य समस्या बताइरहेका छन् ।

सरकारले कूटनीतिक रूपमा भारतसँग कुराकानी गरेर दुवै देशका नागरिकलाई जहाँजहाँ छन्, त्यहीँ सुरक्षित ढंगले बस्ने वातावरण तयार नगरेको सांसद दिलेन्द्र बडू बताउँछन् । दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद बडू भन्छन्, ‘सिमानामा आएर सयौँ नेपाली अड्किएका छन् । उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखे भयो अथवा भारतमै राम्रो ढंगले बस्ने व्यवस्था मिलाइदिन भारत सरकारसँग कुराकानी गर्न पनि हामीले परराष्ट्र मन्त्रीलाई सल्लाह दियौँ, तर चासै लिनुहुन्न । अहिले मान्छेको बिजोग छ । बिहानदेखि बेलुकासम्म फोनमार्फत गुनासो आइरहेका छन् ।’ उनले विज्ञप्तिसमेत निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

सीमाको नेपाली ल्याउने कुरामा सरकारको कमजोरी रहेको देख्छन्, सत्ता पक्षकै सांसद झपट रावल पनि । उनीहरूलाई नेपाल भिœयाएर व्यवस्थित ढंगले राख्नुपर्ने र जाँच गरिनुपर्ने उनी बताउँछन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ट्विटरमार्फत सिमानामा अलपत्र पार्नु अमानवीय र गैरजिम्मेवारी भएको जिकिर गरेका छन् । ‘विदेशमा रहेका लाखौँलाख नेपालीलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यावहारिक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु भन्ने हुन सक्दैन,’ उनको भनाइ थियो ।

सत्ता र विपक्ष दुवैतर्फका सांसदले सिमानाको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सरकारको विरोध गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ट्विटरमार्फत नेपालीलाई सिमानामा अलपत्र पारिएको विषयमा असन्तुष्टि पोखेका छन् ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार जना पुगेको छ । भारतबाट फर्किएका दुई जना र उनीहरूको सम्पर्कमा भएका एक जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । यसअघि गत साता दुबईबाट फर्केका धनगढीका एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिले संक्रमण भेटिएका दुई जना लकडाउनकै समयमा भारतबाट स्वदेश फर्किएका थिए । उनीहरू गत १२ चैतमा अन्य करिब एक हजार जनासँगै झण्डै २४ घण्टा धनगढीको त्रिनगर नाकामा रोकिएका थिए ।

११ चैतको बेलुकी नै त्रिनगर नाकामा आइपुगेका उनीहरूलाई प्रहरीले दोस्रो दिन रातिसम्म नाकामा रोकेर राखेको थियो ।स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै एक हजार मजदुरले १२ चैत बिहान त्रिनगर नाकामा नाराबाजीसमेत गरेका थिए । उनीहरूले ढुंगामुडा प्रहार गर्न थालेपछि रोक्न प्रहरीले बल प्रयोग गर्नु परेको थियो । केही भने भाग्दै मोहना नदी तरेर धनगढी पुगेका थिए । सोही भिडमा ती संक्रमित युवा पनि थिए ।

सो दिन नाकामा रोकिएका कैलालीका दुई सय ९१ जनामध्ये लम्की, टीकापुर क्षेत्रकालाई चार बसमा राखेर घर पु¥यायएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई सरकारले सिधै क्वारेन्टाइनमा राखेको भए जोखिम न्युनिकरण हुन्थ्यो । तर पहिल घर घर जान दिएर मात्र क्वारेन्टाइमा जम्मा गर्न थालिएको थियो । प्रहरीका अनुसार फर्केको दिन राति घर बसेका ती युवा दोस्रो दिन बिहानबाट स्थानीय सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा अन्य ४४ जनासँगै बसेका थिए । यस्तै संक्रमण भेटिएका कञ्चनपुरको बेदकोट नगरपालिका निवासी ४१ वर्षीय एक व्यक्ति पनि ब्रहमदेव हुदै समूहमै स्वदेश फर्किएका हुन् । सिमा बन्द भएकै बेला नेपाल भित्रिने क्रममा उनीसहित ११ जनालाई सशस्त्र प्रहरीको टोलीले समातेको थियो ।

संक्रमितसहितका ११ जनालाई पक्राउ गरेर ल्याउने सशस्त्र प्रहरीको समेत स्वाथ्य परीक्षण गरिने प्रहरी उपरीक्षक वीरसिंह साहुले बताए । सुन्दरपुर कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा संक्रमितसंगै आएका ११ सहित १३ जना बस्दै आएका थिए । घर फर्कने क्रममा उनी थुप्रैको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।