पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको अपिल : संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर कार्य गरौँ


हरेकपल April 5, 2020

काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच पूर्वप्रधानमनत्रीलाई संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले मुलुकको वर्तमान अवस्थाबारे पाँच पूर्वप्रधानमन्त्रीसँग टेलिफोनमा छलफल गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा आफूले मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको आइतबार दिउँसो ट्विट गर्दै देउवाले जानकारी गराएका छन् ।

सभापति देउवाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

सभापति देउवाले ट्विटमा लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ, अपिल गरेको छु ।’