काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यका र उपत्यका बाहिर नियमित रुपमा खानेपानीको वितरण भइरहे पनि निर्माणाधीन सबै आयोजनाको निर्माणका काम ठप्प भएको छ । काठमाडौँ उपत्यकामा वितरणका लागि निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनासँगै देशभरमा रहेका ठूला र साना आयोजनामा निर्माण अघि बढ्न सकेको छैन ।
‘लकडाउन’ सँगै यहाँ काम गर्ने कामदारले काम छाडेसँगै अधिकांश आयोजनामा काम हुन नसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । ती स्थानमा कामदार, निर्माण सामग्री र कर्मचारी नहुँदा अधिकांश आयोजना ठप्प रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को त्रासका कारण कामदारहरुले काम गर्न नचाहनु नै त्यसको मुख्य कारण हो ।”
निर्माणाधीन खानेपानी आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनामा निर्माण ठप्प भइसकेको छैन । त्यहाँ कार्यरत नेपाली कामदार आआफ्नो घर फर्किए पनि अहिले त्यहीँभित्र रहेका चिनियाँ कामदारले काम गरिरहेको प्रवक्ता शाक्यले बताउनुभयो । राजधानीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, उपत्यका बाहिर नेपाल खानेपानी संस्थान, खानेपानी बोर्डलगायत संस्थाले पानी वितरण गर्र्दै आएका छन् । खानेपानीको वितरणमा भने कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिका लागि आवश्यक सहजीकरण गर्दै आएको छ ।