विपन्‍नमाथि नै बढी मार


हरेकपल April 7, 2020

जुम्ला, वीरेन्द्रनगर, दाङ, अर्घाखाँची । दाङको बंगलाचुली गाउँपालिका, बचनीका ऋषिराम विश्वकर्मा उत्तरप्रदेशको सराबस्तीस्थित होटलमा सेफको काम गर्थे । उनको नोकरीले सात जनाको परिवार पालिएको थियो । कोरोना भाइरसको त्रासले भारतले विदेशी उडान बन्द गरेपछि पर्यटक आउन छाडे । होटल बन्द हुने भयो, उनी नेपाल फर्किए ।

‘अहिले होटलसमेत संकटमा परेको छ । कहिले बन्द खुल्ने, कसरी जाने केही निश्चित छैन,’ उनले भने ।
भारतबाट आउँदा उनले ७५ किलो चामल ल्याएका थिए । अहिले त्यो सकिन लागेको छ । कमाएर राखेको खर्चले डेढ महिनासम्म पुग्ने अनुमान उनले गरेका छन् । त्यसपछि के खाने भन्ने समस्या छ । ‘जोखिम मोलेर काममा जाने कुरा भएन । सबैतिर यस्तै समस्या छ । के गरूँ, कता जाऊँ, कसरी परिवार पालूँ ?’ उनले भने ।

ऋषिराम जस्ता धेरै नेपाली भारतमा वर्षैभर काम गर्छन् भने अरू धेरै नेपाली वर्षका केही महिना उता गएर काम गर्छन् । अहिले कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा उनीहरूको रोजगारीमा असर परेको छ । उनीहरू धमाधम नेपाल फर्कंदैछन् ।

कर्णाली प्रदेश सरकारले यही चैत १० गते भारतमा रहेका आफ्ना नागरिकलाई १० दिनभित्र घर फर्कन आह्वान गरेको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले उनीहरूको स्वास्थ्य परीक्षण गराउने र क्वारेन्टाइनमा राख्ने विचार गरेको थियो । तर नेपाल सरकारले त्यही दिन र भारत सरकारले भोलिपल्ट मानिसको आउजाउ बन्द गरेपछि प्रदेश सरकारको आह्वानअनुसार नेपाली घर फर्कन पाएनन् ।

‘धेरै मान्छे आउन पाएनन्, आएका कतिपय पनि सीमामा अलपत्र परे,’ प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘कतिपयलाई प्रदेश सरकारले उद्धार गरेर घर पुर्‍याएको छ, कति क्वारेन्टाइनमा बसिरहेका छन् ।’

केसीका अनुसार भारतमा काम गर्न गएकामध्ये कर्णाली प्रदेशका ५० हजारदेखि १ लाख मानिस स्वदेश फर्किर्ने अपेक्षा प्रदेश सरकारले गरेको थियो । फागुनको अन्तिम सातायता सुदूरपश्चिम प्रदेशको महाकाली नदी तरेर ७५ लाख र कैलालीको गौरीफन्टा नाकाबाट एक लाख २४ हजार नेपाली नेपाल फर्किएका थिए । यी नेपाली सुदूरपश्चिमका मात्र होइनन्, अरू प्रदेशका पनि हुन् ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले नेपाल र भारतबीचका विभिन्न नाकामा स्थापना गरेका हेल्थ डेस्कको रेकर्डअनुसार चैत १५ गतेसम्ममा २ लाख नेपाली भारतबाट फर्किएको निर्देशनालयका सचिव विनोद गिरीले बताए । यिनमा प्रदेश ५ का मात्रै नभएर अरू प्रदेशका नागरिक पनि थिए ।

दाङ जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार कामका लागि विदेश गएका ३ हजार ६ सय मानिस बन्द भएका बेला दाङ फर्केका छन् । तीमध्ये भारतबाट फर्केका साढे तीन हजार जना छन् ।

घोराही उपमहानगरपालिकाका मात्रै १ हजार २ सय २५ जना भारतबाट फर्केको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । उत्तरी पहाडी गाउँपालिका बंगलाचुलीका १ हजार १ सय ११ जना भारतबाट फर्केका छन् ।

गाउँरनगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा पाँच हजार मानिस घर फर्केका छन् । धेरै नेपाली नेपाल–भारत सिमानामा अड्किएका छन् । अर्घाखाँचीमा झन्डै दुई हजार जना विदेशबाट फर्केका छन् । तीमध्ये ९५ प्रतिशत भारतबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निकै जना नेपाल–भारत सिमानामा रोकिएका छन् । यस जिल्लाका निकै घरका एक जना भारतमा काम गर्ने र वर्षमा एकरदुई पटक आउजाउ गर्ने गर्छन् ।

कोरोनाको डर चाँडै हटिहाले पनि भारतमा नेपालीले पाउने रोजगारी धेरै मात्रामा घट्ने अनुमान गरिएको छ । त्यसैले नेपाल र भारतमा बन्द खुल्नेबित्तिकै अरू धेरै नेपाली घर फर्कन सक्छन् । भारतमा नेपालीले काम गर्न नपाउँदा नेपाललाई दुई किसिमले असर पर्छ । पहिलो, आम्दानी घट्छ । दोस्रो, खानेकुराको अभाव हुन्छ ।

यता नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनामा भारतमा काम गरिरहेका नेपालीले ४३ अर्ब १६ करोड रुपैयाँ नेपाल पठाएका थिए । गएको वर्ष भारतबाट एक खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो ।

भारतमा काम गरिरहेकारगर्ने नेपालीमध्ये कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले आधालाई मात्र असर पार्‍यो भने पनि आउने एक वर्षमा भारतबाट नेपाल आउने ६४ अर्ब रुपैयाँ रेमिट्यान्स गुम्छ । यसको असर नेपालका सम्पन्न क्षेत्रमा अलि कम र विपन्न क्षेत्रमा अलि बढी पर्नेछ । भारतमा गएर काम गर्ने चलन नेपालका सम्पन्न क्षेत्रमा भन्दा विपन्न क्षेत्रमा बढी छ । अन्य देशमा काम गर्न जानलाई चाहिने पैसा जुटाउन नसक्नेहरू भारत जान्छन् ।

नेपालका धेरै ठाउँ रोजगारी र आम्दानीका लागि भारतमा अत्यधिक मात्रामा निर्भर छन् । उदाहरणका लागि दाङको बंगलाचुली गाउँपालिकाका ९० प्रतिशत मानिस भारतको रोजगारीमा भर परेका छन् । बालबच्चा पाल्न, पढाउन र दैनिक खर्च चलाउन उनीहरू मूल रूपमा भारतमा गर्ने काममा निर्भर रहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । भारतको रोजगारी गुम्दा यस्ता ठाउँमा बढी असर पर्ने निश्चित छ ।

जुम्लाबाट चाहिँ कामका लागि भन्दा पनि हिउँदे र बर्खे व्यापारका लागि धेरै नेपाली भारत जान्छन् । हिउँदे व्यापारमा गएकाहरू चैतको सुरुमा घर फर्किन्छन् भने बर्खे व्यापारमा गएकाहरू दसैंमा ।

जुम्लाको हिमा गाउँपालिकाका नन्दलाल रोकाया १२ जना साथीसँग व्यापारका लागि फागुनको पहिलो साता उत्तरप्रदेशको अम्बेडकर नगर पुगेका थिए । ‘व्यापार गर्ने भनेर गएको थिएँ, बेच्ने भनेर किनेको सामान पनि त्यहीँ छाडेर घर फर्किनुपर्‍यो,’ उनले भने ।

नन्दलालसँगै फर्किएका सार्की रोकायाले १० हजार रुपैयाँ ऋण काढेर किनेका व्यापारका सामान भारतमै अलपत्र छाड्नुपरेको सुनाए । ‘अहिले के दशा लाग्यो कुन्नि, व्यापार छाडेर घर आउनुपर्‍यो,’ उनले भने ।

हिउँदे व्यापारमा जानेहरूले पनि पूरै समय व्यापार गर्न पाएनन् । तिला गाउँपालिकाका नारायण देवकोटाले १०र१२ हजार मात्र कमाएर घर फर्किएको बताए । ‘साथीहरू व्यापार गर्दै थिए, म त डरले घर फर्किइहालें,’ उनले भने, ‘अहिले त साथीहरू पनि डेरामै बसिरहेका होलान् ।’ कान्तिपुर दैनिकमा खबर छ ।