कोबिड-१९ का बहुपक्षीय असरहरु


हरेकपल April 7, 2020

कोबिड-१९ को महामारीका कारण विश्वमा एक चौथाइ जनसंख्या घरभित्र रहेको कुरा डब्लुएचओले हालै सार्बजनिक गरेको छ । चीनले यो रोग फैल्याएको भन्दै अहिलेको विश्व समुदाय आक्रोसित बनेको छ । विश्वमा कोविड १९ बाट संक्रमितको संख्या करिब १३ लाख ५० हजार छ र दैनिक करिब लाख हाराहारीमा  संक्रमित बढिरहेका छन्, संक्रमित मध्येको मर्ने रफ्तार बढ्दै गएर ५.५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।

नेपालमा ९ जना संक्रमित फेला परिसकेको र सो मध्ये १ जना दोस्रो चरणको संक्रमित भएको पुस्टि भइसकेको छ । अब पनि सरकारले अहिलेको जस्तै कछुवाको गतिमा हिड्ने हो भने मुलुकको यो संकमणलाई कसैले थाम्न सक्दैन । नेपालमा अहिले संक्रमितको परीक्षण नगन्य मात्रामा छ । सरकार धेरै निर्णयमा दोधारे देखिएको छ, १ दिन अगाडी उद्योगधन्दा आंशिक रुपमा खोल्ने भन्छ भने १ दिनपछी लक् डाउन थप गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान प्रतिवन्ध गर्ने निर्यण गरेको छ । सरकारले अत्यावश्यक सामग्री खरिद गर्न नसकेको र ल्याएका उपकरण पनि गोदाममा थन्किएको अवस्थामा छन् ।

सरकार लाचार भएर सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा लगाएको छ भने राष्ट्रपतिलाई अनावश्यक रुपमा अघी सारेको छ । नेपाल सरकारले नागरिकमा समान व्यबहार गरेको छैन, चीनका विद्यार्थीलाई प्लेन चार्टर गरेर ल्याई व्यवस्थित क्वारेन्टाइनमा राखेको थियो भने भारतमा रहेका नेपाली जनता रोग र भोकले ग्रस्त भई बिचल्ली परेको अवस्थामा पनि सरकार मौन छ । ती मध्ये कोही महाकाली नदीमा ज्यानको बाजी थापेर पौडेर नेपाल पसेका छन् त कोही बोर्डरमा अलपत्र अवस्थामा छन् ।

यो संक्रमणको बेला सरकार गम्भीर नभई ३ करोड नेपाली जनताको जीवन माथि खेलवाड गर्न खोजिरहेको छ । २ तिहाइको सरकार मुलुकमा विध्यमान रहेको अवस्थामा पनि आफ्नो काममा अत्यन्त लाचार छ । विपक्षी दलले सरकारलाई अत्याबश्यक स्वास्थ्य सामग्री तत्काल खरिद तथा व्यवस्थापन गर्न बाध्य पार्नुपर्नेमा सरकारको मौन समर्थनमा रहेको छ । त्यसैगरी केही जनताहरु सरकारको लक-डाउनको निर्देशनलाई बेवास्ता गर्दै जथाभावी हिड्डुल गरिरहेको अवस्था छ । तसर्थ सबैले आ-आफ्नो तर्फबाट गम्भीर हुन जरुरी छ ।

कोरोना संक्रमणले विश्वमा नयाँ परिवेश सिर्जना गरेको छ । यसले हामीलाई धेरै नराम्रा असरहरु छोडेर जाने सम्भावनाहरु छ । कोविड-१९ बाट हुन सक्ने नकारात्मक पक्षहरुलाई यहाँ छोटकरीमा प्रस्तुत गरिएको छ:

बेरोजगारी: विश्वव्यापीकोविड १९ को संक्रमणको प्रभावका कारण विभिन्न मुलुकमा विकास निर्माण, हवाइ, स्थल तथा जल यातायात, एवं पर्यटन तथा होटल ब्यबसायमा कमी आई सो क्षेत्रहरुमा व्यापक बेरोजगारी समस्या हुन थालिसकेको छ र भोली यसले अझ बिकराल रुप लिने निश्चित छ । नेपालमा पनि पर्यटन र होटल व्यबसाय ठप्प भएको अवस्था छ । पेट्रोलिम पदार्थ निर्यात गर्ने मुलुकहरुमा सोको बिक्रीमा कमी आइ त्यहाँको अर्थतन्त्रमा गिरावट आउंछ । संयुक्त राष्ट्रसंघले विश्वव्यापी रुपमा २ करोड ५० लाख मानिसहरु कोरोना महामारीका कारण बेरोजगार हुने प्रक्षेपण गरेको छ । यो संक्रमणका कारण उत्पन्न बेरोजगारीलाई समस्यालाई सरकारले सही सम्बोधन गर्नुपर्छ ।

बैदेशिक रोजगार: विश्वव्यापीकरणसंगै शुरु भएको बैदेशिक रोजगारमा जाने क्रमलाई पनि यो संक्रमणको प्रभावले व्यापक गिरावट ल्याएको छ । रोजगारीको कमीको कारण खाडी मुलुकले आफ्ना नागरिकलाई प्राथमिकता दिदै आप्रवाशी कामदारहरुको रोजगारीलाई कटौती गर्न थालिसकेका छन् । तसर्थ बैदेशिक रोजगारमा गएका लाखौ नेपाली जनताको रोजगारी अब अनिश्चित बनेको छ, जसको व्यवस्थापनको लागि सरकारले आधुनिक कृषि प्रणालीको विकास गर्दै उनीहरुलाई यसतर्फ आकर्षित गर्नुपर्छ ।

उद्योग तथा व्यापारमा असर: कोरोना संक्रमणसंगै विश्वव्यापी व्यापार व्यवसाय एक किसिमले ठप्प छ । मुलुक भित्र पनि अधिकांश उद्योग-धन्दा तथा व्यापार-व्यवसाय ठप्प छन् । विश्व सेयर बजारमा भारी गिरावट आएको छ । बोइंग जस्तो अमेरिकाको ठुलो बिमान निर्माण कम्पनी समेत अनिश्चित कालका लागि हाल बन्द गरिएको छ । कोरोनाको मनोबैज्ञानिक त्रास, आर्थिक मन्दी, बेरोजगारी तथा गरिबीले आक्रान्त बनाएको कारण उद्योग तथा व्यपार व्यबसायमा मन्दी आउने निश्चित छ ।

विकास निर्माणमा कमी: सम्पूर्ण विश्वकै मानिसहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने गरी आएको कोरोना भाइरसको प्रकोपले गर्दा विकास निर्माण लगायत अन्य क्षेत्रमा लगाइरहेको लगानीलाई महामारीको प्रकोप नियन्त्रणमा लगाउनु पर्ने हुँदा विकास निर्माणका कामहरु लामो समयका लागि ठप्प हुने स्थिति छ ।

पर्यटनमा गिरावट: पर्यटन प्रवर्दनका लागि एक मुलुकबाट अर्को मुलुक जाने क्रम जुन रफ्तारमा बढिरहेको थियो त्यसमा भारी गिरावट आउने निश्चित छ । नेपालीहरुमा पनि बिस्तारै देखिन थालेको भ्रमण गर्ने लहर अब तत्काल बिश्राम लिने अवस्थामा पुगेको छ । कोविड १९ कै कारण नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गर्नुप-यो । त्यस्तै विभिन्न धार्मिक समुदायहरुले मनाउदै गरेको धार्मिक पर्यटनमा पनि भारी गिरावट आउने छ । कोरोना संक्रमणसगै मठ मन्दिर, विहार, मस्जिद, चर्च आदिमा हुने भीडभाड घट्ने छ । मुस्लिम समुदायको यो वर्षको मक्का-मदिना जान साउदी अरबले पूर्ण प्रतिबन्ध लगाएको थियो ।

अनूदानमा कटौती: कोरोना संक्रमणसंगै खुम्चिदो अर्थतन्त्रले विभिन्न दात्तृराष्ट्र तथा अन्तरराष्ट्रिय दातृ निकायद्वारा संचालित धेरै परियोजनाहरु कटौती हुने र गरीब मुलुकका सरकार चल्न कठिन हुन्छ । साथै विभिन्न क्षेत्रका परियोजनामा कार्यरत धेरै कर्मचारीहरु बेरोजगार हुने सम्भावना बढेको छ । नेपाल जस्तो अनुदानमा चलेको संघियता धरापमा पर्ने अवस्था आइसकेको छ । नेपालको केन्द्रीय सांसद संख्यामा कटौती गर्ने तथा स्थानीय निकायको संख्या घटाएर मर्ज गरी खर्च कटौती गर्नुपर्ने दिन आउन सक्छ ।

सम्मेलनहरुमा असर: कोरोनासंक्रमणका कारण युएन लगायतका अन्तरराष्ट्रिय संघ-संथाको कन्फेरेन्सहरु हाल स्थगित भएका छन् । त्यस्तै विभिन्न विश्वविद्यालयहरुका गोष्ठी तथा सम्मेलनहरु पनि सबै रोकिएका छन् । यसको विकल्पमा कन्फरेन्सहरु अनलाइन माध्यमबाट हुने अवस्था सिर्जना भएको छ ।

पठन पाठनमा असर: कोरोना संक्रमणसंगै ठुलो संख्या हुने विद्यालय तथा विश्वविद्यालय जस्ता शैक्षिक सस्थाहरु हाल बन्द भई त्यहाँ हुने औपचारिक पठनपाठन तथा परीक्षा स्थगित भएको छ । अब यो शिक्षा क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने विश्वव्यापी चिन्ताको विषय बनेको छ । त्यसको लागि पठन-पाठनको तरिकालाई नयाँ मोडमा सोच्नुपर्ने हुन्छ । अबको विकल्पको रुपमा अनलाइन माध्यमबाट शिक्षा दिने चलन व्यापक हुदै जाने अवस्था सिर्जना हुदैछ र खुला विश्वविद्यालयको उपादेयता बढ्दो छ । त्यस्तै युरोप अमेरिका, अस्ट्रेलिया जस्ता बिदेशी मुलुकका विश्वविद्यालयमा पढ्दै गरेका धेरै विकासोन्मुक मुलुकका विद्यार्थीहरु घर फर्किनुपर्ने अवस्था आउन सक्छ । अष्ट्रेलिया सरकारले ६ महिनाका लागि खाने बस्ने पैसा छैन भने विदेशी विद्यार्थीलाई घर फर्किन भनेको समाचारहरु आइरहेका छन् भने बेलायतस्थित नेपाली विद्यार्थीहरु यो संक्रमण संगै भोकभोकै रोहिरहेका समाचारहरु प्रकाशित भैरहेका छन् । विदेशमा रहेका नेपाली विद्यार्थी जो काम गर्दै पढ्दै थिए घर फर्किनु पर्ने अवस्था आइसकेको छ ।

जनसाङ्ख्यिक असर: अहिलेको कोरोना संक्रमणसंगैमातृ-शिशु स्वास्थ्यमा नकारात्मक असर पर्ने, उच्च मृत्युदर भएका मुलुकमा बृद्धहरुको अनुपातमा कमी, संक्रमण त्रासले भोलिको प्रजनन दरमा गिरावट आउने, मृत्यु दर वृद्धि हुने, मानिसहरुको बसाइ-सराइ गर्ने प्रक्रिया रोकिई उमेर लिंगको अनुपातमा फेरबदल आउने जस्ता असरहरु अनुसन्धानकर्ताहरुले बाहिर ल्याइरहेका छन् । यस्तै दम्पति घरमा रहेको अवस्थामा मनमुटाब भई सम्बन्ध बिच्छेदको क्रम बढिरहेको पनि समाचार आइरहेका छ । यसै सन्दर्भमा खुदाको हवाला दिदै बढी बच्चा जन्माउने मुस्लिम समुदायलाई बढी बच्चा जन्माउन चीनले हालै प्रतिबन्ध लगाएको छ ।

सामाजिक दूरी बढ्ने: समग्र विश्वमा इलेक्ट्रोनिक मिडियाको कारण धेरै मानिसहरुमा सामाजिकिकरणमा ह्रास आइरहेकोमा अहिलेको कोरोना संक्रमणसंगै सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले अझ इलेक्ट्रोनिक मेडियाको प्रयोगको वृद्धि भई सामाजिकिकरणको प्रक्रिया अबरुद्ध हुने क्रम झन् बढेर जाने भएको छ । मानिसहरुको भेटघाट गर्ने क्रम घटेर इलेक्ट्रोनिक मिडियाको प्रयोग बढ्ने सुनिश्चित छ । यस्तो विषम परिस्थितिमा इलेक्ट्रोनिक मिडियाको उपयोगले कम्तिमा पनि संसार सामाजिक संजालमा जोडिन पाएको छ ।

मनोरन्जनात्मक क्षेत्रमा असर: कोविड-१९ को प्रकोपसंगै हाल विश्वका प्राय सबै मुलुकमा मनोरन्जनात्मक क्षेत्रका जस्तै सिनेमा ऊध्योग, टिभी सिरियल, नाटक आदि नयाँ निर्माण तथा प्रदर्शन् सबै बन्द भएका छन् । यो अवस्था कहिलेसम्म जारी हुने हो भन्न सकिने अवस्था छैनमानिसहरुमाहलमा गएरसिनेमा तथा नाटक हेर्ने चलनमा यो कोविड-१९ को संक्रमणसंगै व्यापक गिरावट आउने छ । यो संक्रमणसँगै कलाकारको व्यवसाय जोखिममा पर्ने निश्चित भएको छ । नेपाल, भारत लगायत संसारको अधिकांस मुलुकको फिल्म उद्योगहरु अहिले ठप्प छन् ।

खेलकुदमा असर: कोरोना संक्रमणले खेलकुद क्षेत्र पनि अत्यन्त जोखिममा परिसकेको छ । बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलकुदहरु ठप्प भई खेलाडीहरुको व्यवसाय संकटमा पर्ने अवस्था छ । कोरोना संक्रमणसंगै आगामी दिनमा दर्शकले विश्व-कप तथा ओलम्पिक खेल लगायत अन्य विभिन्न घरेलु खेल हेर्ने चलनमा व्यापक गिरावट आउने निश्चित छ । इटाली र स्पेन वीचको खेलमा हजारौ दर्शकले एकसाथ हेरेको र कैयौंचोटी किस तथा अंकमाल गरेकोले ती मुलुकमा ‘बायोलोजिकल बम’ को रुपमा कोरोना संक्रमण भएको हो भनी व्यापक आलोचना हुने गरेको छ ।

चुनावी असर: चुनावी प्रचारका लागि विभिन्न राजनीतिक पार्टीहरुले आम सभाहरु गर्न अब कठिन हुन्छ । अब विकल्पक रुपमा विभिन्न संचारका साधन मार्फत आफ्ना विचार अभिव्यक्तिहरु राख्नुपर्ने हुन्छ । समुहमा मानिसहरु एकजुट हुन नसक्दा नेतृत्व चयन र क्षमता प्रदर्शनलाई फरक किसिमले प्रस्तुत गर्नुपर्ने हुन्छ । चुनाब नजिकिदै गरेको अमेरिका जस्तो मुलुकलाई कोरोना संक्रमणले चुनावी प्रचारको शैलीलाई परिवर्तन गर्ने निश्चित छ ।

व्यक्तिगत सवारी साधनको प्रयोगमा विकास हुने: कोविड-१९ भिडभाडबाट सर्ने संक्रमण भएकोले सार्वजनिक सवारी साधनको प्रयोग सकेसम्म कम गरी व्यक्तिगत सवारी साधन प्रयोग गर्ने तर्फ मानिसहरु अग्रसर हुने सम्भावना छ ।

कोरोना संक्रमणले हामीलाई केही सकारात्मक संदेश पनि छोड्दै  छ । कोरोनले ठुलो क्षति गरेको भए पनि यी सकारात्मक पक्षलाई शक्तिको रुपमा बदल्दै हामीले मानव सभ्यतालाई अगाडी बढाउनु छ ।

बिश्वब्यापी उष्णता घट्ने: कोरोना संक्रमणका कारण उध्योगधन्धा तथा यातायातका साधन ठप्प हुँदा दोस्रो विश्वयुद्ध पछीको कार्बन उत्सर्जनमा सबैभन्दा भारी रुपमा ५ प्रतिशतसम्म कटौती आई ग्लोबल वार्मिंग घट्ने तर्क पनि बाताबरणविदहरुले बताउदै आएका छन् । त्यस्तै यसले केही हदसम्म नदीनालाहरु सफा हुने, लामो समय यातायात बन्द हुँदा नीलो आकाश देखिने र स्वच्छ हावा पाइने अवस्था देखिएको छ ।

कृषिमा सुधार हुने : धेरै ग्रामीण भागका मानिसहरु गैर कृषि पेशाबाट बेरोजगार बन्दा आफ्नो गाऊमा रहेको बाँझो जमीनको पनि सदुपयोग गरी आधुनिक प्रणालीबाट खेतीपाती तथा पशुपालन गर्ने लगायत कृषिका बिबिध क्षेत्रमा सुध्रार आउने छ । त्यस्तै करेसाबारीमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने किसिमका सागसब्जी रोपी हरियाली बढ्ने, फूलबारीमा फुल रोप्ने, जडिबुटी रोप्ने चलनमा वृद्धि हुने छ ।

स्वस्थकर खानपिन तथा सरसफाइमा बढ्ने: कोरोना संक्रमणले “रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम” भन्ने मान्यता आम समूदायमा विकास हुनेछ । जसको फलस्वरूप मानिसहरुमा खानपिनमा सचेतना बढ्ने छ । भिडभाडमा रहेर खाना खाने अहिलेको चलन विश्वव्यापी रुपमा निकै घट्ने छ । मानिसहरुको होटल रेस्टुरा पसेर खाने भन्दा घरमा बनाएर ताजा खाना खाने चलन बढ्ने छ । रोग बिरुद्ध लड्न सक्ने प्रोटिन तथा विभिन्न भिटामिनयुक्त सागपात, फलफूल खाने र जडिबुटीको प्रयोग गर्ने चलन सम्भव भएसम्म बढ्ने छ । चीनको मासु व्यापारबाट यो संक्रमण फैलिएको सन्दर्भलाई लिएर अस्ट्रेलियाका प्रधामन्त्रीले आक्रोस व्यक्त गरेका छन् । करीव ८० करोड अमेरिकी डलर बराबरको व्यापार घाटा सहेर पनि चीनले हालै वन्य-जन्तुको मासु बेचबिखन र खानपिनमा प्रतिबन्ध लगाएको छ । मासुबाट सर्ने संक्रमण भएकोले साकाहारी भोजन गर्नेको संख्या बढ्ने छ ।

कोविड १९ को प्रमुख कारणमा सरसफाइको कमी भएकोले अब मानिसहरु सरसफाइ प्रति सचेत भइ सफा रहने छन् । आजभन्दा १०० वर्ष अगाडी स्पेनिस फ्लुले पनि हात धुन तथा सरसफाइ रहन सिकाएको थियो । अहिले हामीलाई कोविड-१९ ले यही संदेश दिदैछ । यसर्थ अब मानिसहरुमा हात धुने प्रचलन बढ्ने छ भने मास्क र स्याटाइजरको प्रयोगमा व्यापक वृद्धि हुने छ । त्यस्तै धेरैका घर आँगन सफा रहने छ ।

आतंकवादमा कमी: कोविड-१९ शुरु भए पश्चात ठुला आतंकबादी गतिबिधिमा कमी आएको देखिएको छ । संक्रमणको असरले लामो समयसम्म मानिसहरुमा स्वास्थ्यको कारण आतंकबादी गतिबिधिमा कम संलग्न हुने आशा पनि गर्न सकिन्छ । तर हाल आईएसआईएस र अल-कायदा जस्ता आतंकबादी समूहहरुले कोरोनाभाइरस जस्तो अत्यधिक संक्रामक र घातक रोग पश्चिममाहरुको लागि ईश्वरको क्रोध हो र यो रोग आफैंमा “अल्लाहको सिपाही” हो भनी अन-लाइन च्याटींग मार्फत सूचना प्रबाह गरिरहेका छन् । भारतका समेत यसको गन्ध आइरहेको छ ।

हतियारको होडबाजी घट्ने: कोविड-१९ संक्रमण संगै शक्ति राष्ट्रहरु पनि आर्थिक तथा मनोवैज्ञानिक रुपमा कम्जोर भएकोले हतियारको होडबाजी अब घट्ने छ । विभिन्न किसिमका आणविक तथा रासायनिक युद्धको होडबाजी घट्ने तथा हतियार बेचबिखन र निर्माणमा कमी आउने आशा गर्न सकिन्छ । तर जैविक हतियारको रुपमा देखा परेको कोविड-१९ ले कतै अब युद्धको रुपमा यस किसिमका अत्यन्त संक्रमित जीवाणु प्रयोग हुने त होइनन् भनी शंका उब्जाएको छ । हाल कोरोना संक्रमित इजरयाली जनताहरुले प्यालेस्टाइनीहरुलाई लक्षित गर्दै उनीहरुको सवारी साधनमा थुकेर संक्रमण सार्ने कोशिस गरिरहेको समाचारमा आइरहेको छ । त्यस्तै भारतमा रहेका मुसलमानहरु पनि हिन्दुहरुलाई यो संक्रमण सार्न उद्धत रहेका समाचारहरु आइरहेका छन् ।

तस्करी घट्ने: कोविड-१९ संक्रमणले चोरी-डकैति घटेको तथा सबै मानिस घरभित्र बसेको अवस्था छ । चोरी-डकैति गर्ने नियतका मानिसहरुलाई एकातिर लक् डाउनको डर त अर्कातिर कोरोना संक्रमणको डरले यस्ता काममा कमी आएको छ । त्यस्तै राष्ट्रिय तथा अन्तरराष्ट्रिय यातायातका साधनहरु ठप्प हुँदा मानब बेचबिखन, लागु पदार्थको ओसारपसार, सुन, वन्यजन्तु, बनस्पति आदिका तस्करीहरु ठप्प छन् भने भोलिका दिनमा पनि घट्ने आशा गर्न सकिन्छ । त्यस्तै यो संक्रमणसगैं बेश्याबृती पेशामा पनि धेरै हदसम्म कम हुने आशा गर्न सकिन्छ । नेपालमा पनि सुन तस्कर तथा चेलीबेटी बेचबिखन गर्ने अपराधिक गिरोहहरु अहिले निष्क्रिय छन् ।

परिवारसगै रहने: कोविड-१९ को संक्रमणसंगै मानिसहरुमा बाहिरको व्यस्तता घटी परिवारसंगै घर बस्दा त्रास वीच पनि परिवार एकै ठाउ भेला हुँदा खुशियाली बढ्दो छ । व्यस्त बाबु-आमा संक्रमणसंगै आफ्ना छोराछोरीसंगै रहने भएकोले केटाकेटीहरु खुशी छन् ।

पूर्वीय दर्शनको महत्व: कोविड-१९ को संक्रमण संगै पूर्वीय दर्शनको प्रयोग बढ्ने अवस्था बनेको छ । पुर्वीय प्रचलनको टाढैबाट नमस्कार गर्ने तथा योगा गर्ने चलन उत्तम हो भन्ने धारणा बढ्न थालेको छ भने पश्चिमाहरुको अंकमाल गर्ने, भेट हुँदा चुम्मा गर्ने, हात मिलाउने चलन हटेको छ । पूर्वीय दर्शनको महत्व बढेर धर्म परिवर्तन गराउनेहरु निष्क्रिय भइ धर्म परिवर्तन गर्नेहरु कम हुनेछन् ।

तडकभडकमा कमी: कोविड-१९ को संक्रमणले भिडभाडमा जान त्रास हुने भएकोले हुनेखानेलेचाडबाड तथा उत्सवमा देखाउने गरेको तडकभडकमा कमी आउने छ । घर तथा माइतीमा छोरीचेलीले मनाउने हाम्रो तीज जस्तो सास्कृतिक चाडबाडलाई होटल तथा पार्टी प्यालेशमा मनाइने बिकृति हुन थालेकोमा सोको अन्त हुने तथा विलासिताका सामानको प्रयोगमा पनि कमी आउने र नहुने मानिसले देखासिकी गर्ने चलनमा पनि कमी आउने छ ।

कोरोना संक्रमणले केही कुराहरुलाई हामीले फरक किसिमले सोच्नुपर्ने सन्देशहरु पनि दिएको छ । कोरोना संक्रमण सर्ने त्रासले हाल विभिन्न सामग्रीहरुको होम डेलिभरी गर्ने तथा सागसब्जी घर-घर डुलाउने चलन बढिरहेको छ । भोलिका दिनमा पनि होम डेलिभरी प्रणालीलाई यस्ता संक्रमणबाट बच्न व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यसैगरी अन-लाइन खरिद प्रणालीलाई पनि व्यवस्थित गर्नुपर्छ ।बैंकहरुमा भिडभाड बढ्ने भएकोले कारोबारमा सम्भव भएसम्म एटिएम तथा विभिन्न अनलाइन बैंकिंग प्रणाली विकास गर्नुपर्छ ।

निश्कर्ष

हाल विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रणका लागि राज्य जिम्वेवार बन्नु पहिलो कर्तव्य हो । नेपाल सरकारको अहिले भैरहेको न्यून परीक्षणलाई बढाएर दैनिक हजारौंको हाराहारीमा परीक्षण गरेर सम्पूर्ण सम्भाव्य मध्येबाट संक्रमितको पहिचान केही हप्ताभित्र गरी सक्नुपर्छ । सरकारले कोरोना परिक्षणको सो क्षेत्रमा परीक्षण अझ तीब्र बनाउनु पर्छ । अत्यावश्यक स्वास्थ्यका सामाग्रीहरु तुरुन्त आपूर्ति गरी सरकारी तथा निजि दुवै स्वास्थ्य सस्थालाई वितरण गरी कोरोना परिक्षण तथा उपचारमा प्रभावकारिता तुल्याउनु पर्छ । आइसोलेसन वार्डमा भेन्टिलेशन तथा आइसीयुलाई पर्याप्त बनाई व्यवस्थित गर्नुपर्छ । नत्र भोलि यो तेस्रो चरण हुदै अघि बढ्न थालेपछि सरकारको काबु बाहिर जाने निश्चित छ ।

जनताको दैनिक आवश्यकीय सामग्रीको लागि होम डेलिभरीलाई प्रभावकारी बनाउनु पर्छ । राहत प्याकेजलाई सबै गरीबको पहुचमा पु-याउनु पर्छ । तर यसमा सरकारको अत्यन्त फितलो कार्यन्वयन छ । भारत तथा नेपाल-भारत बोर्डरमा अलपत्र नागरिकको तुरुन्त आवश्यक सम्बोधन हुनुपर्छ । अमेरिका तथा युरोपेली मुलुकको अवस्था समेत कोरोना संक्रमणले काबु बाहिर भइरहेको परिवेशलाई ध्यान दिदै नेपाल सरकार सचेत नहुने हो भने भोलि ३ करोड जनता नै यसको शिकार हुन बेर छैन । नेपालमा पनि भारतको निजामुद्दिन मरकजको गुरुको निर्द्शंनमा कोरोना फैल्याउने समुदायका मानिसहरु सक्रिय भएको अवस्था छ भन्ने सुन्न थालिसकिएको छ । यसको बारेमा सत्य तथ्य बुझी यो समुहलाई तत्काल पत्ता लगाएर सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राखी परीक्षण गर्दै आवश्यक कारबाहीको प्रक्रिया पनि आगाडी बढाउनु पर्छ ।

सरकारले हालै ७ दिन लक् डाउन समयाबधि थप गरेको छ । तर उद्योग-धन्दा आंशिक रुपमा खुलाउने निर्यणसंगै जनताहरु पनि सडकमा छ्याप-छ्याप्ती देखिन थालेका छन् । सुरक्षाकर्मीको कडाइको अभावमा लक् डाउनको व्यापक उल्लङ्घन भैरहेको छ । राज्यले लागु गरेको अहिलेको लक्-डाउनलाई जनताले पूर्ण पालना गर्नुपर्नेमा उल्लङ्घन गर्नेलाई सशक्त कारवाही गर्नुपर्छ । अत्यावश्यक बाहेकका सम्पूर्ण उद्योग-धन्दाहरू पूर्णतया बन्द गर्नुपर्छ । इटालीमा राजनीतिज्ञहरूले भाइरसको कारण अर्थव्यवस्थामा रोकावट आउन हुदैन भन्ने तर्क दिएका थिए, त्यसै गर्ने हो भने भोली हाम्रो पनि त्यही हालत हुन सक्छ, त्यसकारण बेलैमा विवेक पुर्याउनु उचित हुन्छ । हिजोआज सुरक्षित स्थल ठान्दै नेपाल भारतका बोर्डरका विभिन्न ठाउँबाट भारतीय नागरिकहरु पनि माइती ससुराली भन्दै धमाधम नेपाल भित्रिदा उच्च जोखिम देखिएको छ । यसका लागि बोर्डरमा सुरक्षाकर्मीको व्यापक परिचालन गरी रोक्न अति आवश्यक छ ।

अहिलेको कोरोना संक्रमणसंगै नेपालीअस्पतालहरुमा कोरोना संक्रमणको त्रासले अन्य रोगका बिरामीहरु अत्यन्त कम देखापरेका छन् । रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । मानिसहरुले पौष्टिक खाना र राम्रो सरसफाइमा ध्यान दिने हो भने रोगको संक्रमण घटेर जाने प्रमाणमा आधारित तर्क प्रसिद्ध जनस्वास्थ्यविद् थोमस मेकोनोनले सन् १९७६ मा प्रकाशित आफ्नो द मोडर्न राइज इन पपुलेशनमा उल्लेख गरेका छन् । कोरोनाको त्रास त छदैछ, हामीहरु पनि लक्-डाउनको समयमा सरसफाइमा विशेष ध्यान दिदै आफुले सकेको स्वास्थबर्धक खाना खाएर बिमारी कम भएका छौं र अस्पातालको चाप कम गरेका छौ । यसलाई हामीले आगामी दिनमा पनि आफ्नो दैनिक जीवनमा लागु गरौँ । कोरोना संक्रमणले ग्रस्त अमेरिका तथा युरोपियन मुलुक जस्ता धनी राष्ट्रलाई संक्रमितको ठुलो संख्याले गर्दा अस्पतालमा अत्यन्त भिड हुने भएकोले कोरोना संक्रमित मध्ये पनि स्वास लिन गारो हुनेलाई मात्र अस्पतालमा राखेर उपचार गरिरहेको अवस्था छ । हाम्रो जस्तो गरिब मुलुक पनि संक्रमण फैलिएर त्यो अवस्थामा पुग्यो भने के होला ? तसर्थ जनताले सरकारको लक् डाउनलाई पूर्ण पालना गर्ने र सरकारले पनि भएका संक्रमितकाे तुरुन्त पहिचान् तथा उपचार गरी अरुलाई फैलिन नदिने काममा कुनै कसुर बाँकी हुनु हुदैन ।

(लेखकद्धय रामप्रसाद ढकाल, सह प्राध्याक, पू.वि., विराटनगर, हाल जे.एन.यु. मा जनस्वास्थ्य विधामा सोध कार्यमा संलग्न हुनुहुन्छ र इन्दिरा प्रसाईं, उप-प्राध्यापक, महेन्द्र मोरंग क्याम्पस, विराटनगरमा हुनुहुन्छ ।  )