काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार कार्यभार सम्हाल्दै विषम परिस्थितिमा आफूलाई गभर्नरको नेतृत्व दिएकोमा उनले सरकारलाई धन्यवाद दिएका छन् ।
अधिकारीले मंगलबारै प्रधानन्यायाधीशबाट शपथग्रहण गरेका थिए । शपथग्रहण गरे लगत्तै बालुवाटारस्थित राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले आफ्ना प्रतिस्पर्धीहरुबाट पनि सहयोगको अपेक्षा गर्दै उनले भने, ‘म एक्लै छैन । मसँगै प्रतिस्पर्धा गर्नु भएका डेपुटी गभर्नर हुनुहुन्छ । अर्का डेपुटी गभर्नर तथा अन्य सबै हुनुहुन्छ । म कम्फर्टेबल छु ।’
सोमबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका थिए ।
गभर्नरको दाबेदार कायममुकायम गभर्नर डा. चिन्तामणि सिवाकोटी, केशवप्रसाद भट्टराई र अधिकारी थिए ।