स्वास्थ्य सामग्री वितरण गर्न सरकारको अवरोधले छेकेन पूर्वमन्त्री बस्नेतलाई


हरेकपल April 7, 2020

सिन्धुपाल्चोक, २५ चैत । सरकारको अवरोधका बाबजुद पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका स्वास्थ्य संंस्थामा मेडिकल सामग्री सहयोग गर्दै आएका छन् ।

चीनबाट फैलिएको कोभिड १९ कोरोना भाइरसले बिश्वमा आक्रान्त बनाएपछि सरकारले गरेको लकडाउनपछी सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य सस्था तथा अस्पतालमा कोरोना भाइरसको रोकथामको लागि प्रयोग गरिने माक्स, सेनिटाइजर, ग्लोब्स, स्वास्थ्यकर्मीहरुको लागि एप्रोन, गाउँ र कोरोना संक्रमित बिरामीको उपचारमा खटिन प्रयोग गरिने (पिपिई) व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै आएका बस्नेतलाई सरकारी निकायले रोक्न खोजेका थिए ।

कोरोना भाइरसको त्रास र नेपालमा भएको लकडाउनपछि त्रासदीपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नका लागि नेता बस्नेतले मेडिकल सामग्री सहयोग गर्दै आएका हुन् ।

सरकारले स्वास्थ्य सामग्री तथा राहत वितरणमा एकद्वार नीति अपनाए पनि सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्य सामग्री आउन सकेको छैन । यही बीचमा जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा आवश्यक मेडिकल सामग्री सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरुले बस्नेतलाई रोक्न प्रशासनलाइ दबाब दिन थालेको नेता बस्नेतले बताए ।

‘अहिले सरकारले कुनै पनि मेडिकल सामान उपलब्ध गराउन सकेको छैन, तर मैले विभेद नगरी प्रहरी प्रशासनदेखि स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागिसमेत सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरुले सरकारको आडमा प्रहरी प्रशासनलाई दबाब दिएर रोक्न खोजे,’ बस्नेतले भने, ‘त्यसको कुनै प्रवाह नगरी सिन्धुपाल्चोकमा उक्त मेडिकल सामान सहयोग गर्दै आएको छु ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका नेपाल–चीन सीमा क्षेत्रको भोटेकोसी गाउँपालिका, सुनकोसी गाउँपालिका, लिसङ्खुपाखर, बलेफी, जुगललगायत इलाका स्वास्थ्य चौकीमा पिपिई सेटसहित सहयोग गरेको उनले बताए ।

नेपालमा लकडाउन र स्वास्थ्य सामाग्री अभावपछि यसरी पाएको सहयोगले स्वास्थ्यकर्मीमा खुसी देखिएको छ । पिस्कर स्वास्थ्य चौकीका स्वस्थ्यकर्मी भन्छन्, कोरोना भाइरससँग मिल्दोजुल्दो खालका बिरामी बढिरहेका छन्, सहयोगमा जुट्ने पूर्वमन्त्रीलाइ हृदयदेखि नै आभार छ ।’