आज हनुमान जयन्ती, हेर्नुहोस् २०७६ चैत्र २६ गते


हरेकपल April 8, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ८ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको पूर्णिमा तिथि दिवा ८।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र बिहान ६।५२ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।४९ मा छ भने सूर्यास्त बेलुका ६।२४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आज हनुमान जयन्ती हो । त्रेतायुगमा चैत्र शुक्ल पूर्णिमाका दिन अञ्जनीपुत्र हनुमानको प्रादुर्भाव भएको थियो । यस अवसरमा हजुमानजीको विशेष आराधना हुने गर्दछ । यसैले आज हनुमानजीको दर्शन, पूजनका साथै स्तोत्रपाठ लाभदायी रहनेछ ।