कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा सिसिएमसी स्थापना


हरेकपल April 8, 2020

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ ।

यसअघि केन्द्रीयस्तरमा मात्रै कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको थियो । बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको जानकारी गराए ।

देवकोटाका अनुसार केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्ण रुपमा तयार भएको छ । त्यहाँ अहिले सयभन्दा बढी शय्या र सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ ।

उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित नभेटिएको उनले जानकारी दिए । यसैगरी उनले आठजना सङ्क्रमितका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिए ।

यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, संक्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ । मन्त्रालयले नमुना संकलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेसिन पठाएको उनले बताए ।