ओम्‍नी ब्रान्डमा तुलहरिको व्यापार


हरेकपल April 10, 2020

काठमाडौं । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणअघि व्यावसायिक क्षेत्रमा तुलहरिसिंह भुसाल खासै सुनिएको नाम होइन । उनी नेपालको ठूलो व्यावसायिक घरानाका व्यक्ति होइनन् ।

राजनीतिक रूपमा पनि त्यति सक्रिय वा पहुँचवाला होइनन् तर कान्तिपुरलाई प्राप्त विवरणमा उनी कर्पोरेट क्षेत्र र सरकारी निकायहरूको ठेक्कापट्टामा जम्दै गएको देखिन्छ। ‘उहाँले जुन दिनबाट व्यापार गर्नुभयो, पछाडि फर्किएर हेर्नुपरेन,’ तुलहरि निकट स्रोतले भन्यो, ‘कर्पोरेट क्षेत्रमा होस् वा सरकारी, उहाँको कम्पनीले ठेक्का हालेको ठाउँमा पछि हट्नै परेन।’

विश्व बैंक र एसियाली विकास बैंकमा परामर्शदाताका रूपमा काम गर्दागर्दै अर्घाखाँचीका तुलहरि ०६३ असार ४ गते ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल ९ओबीसीआई० नामक कम्पनी खोलेर व्यापारतर्फ मोडिएका हुन्। त्यतिखेर उनी ललितपुरको कुपन्डोलस्थित दुर्गाप्रसाद बेल्बासेको घरमा भाडा तिरेर बस्थे। तुलहरिले उनै घरधनी बेल्बासे र साबिक सिद्धबाबा गाविस–९ अर्घाखाँचीका भानुभक्त भट्टराईका नाममा ओबीसीआई कम्पनी दर्ता गरे। आफ्ना नाममा कम्पनी दर्ता नगरी उनले सुरुवाती दिनदेखि नै व्यापारिक चलाखी गरेको देखिन्छ।

सूचना प्रविधिमा पोख्त भुसालले ओम्नीकै ब्रान्डबाट कम्प्युटर आपूर्ति सुरु गरे। सुरुमा उनले सबैभन्दा धेरै व्यापार बैंक तथा वित्तीय संस्थाहरूसँग गरे। ‘सिटिजन्स बैंकसँगको यस्तै प्रकृतिको कारोबार नै बैंकिङ क्षेत्रमा उहाँले थालेको सप्लाइको पहिलो बिन्दु हो,’ भुसाल निकट स्रोतले भन्यो। उनका अनुसार ०६३ सालयता इलेक्ट्रोनिक सामग्री खरिदसम्बन्धी ओम्नीले टेन्डर हालेका ठाउँमा अरू कसैको पर्ने सम्भावना शून्यप्राय छ। ‘हामीले चिनेकै आधारमा कतिपय आईटीका सामान आपूर्ति गर्ने साथीहरूलाई टेन्डर भर्नुस् न भन्थ्यौं,’ ६४६५ सालतिरको कुरा स्मरण गर्दै स्रोतले भन्यो, ‘उनीहरूले हालेका ठाउँमा नहाल्ने भन्ने जवाफ दिन्थे। हुन पनि तुलहरिजीले फ्याक्ट्रीकै मूल्यभन्दा सस्तोमा कोटेसन भर्नुहुन्थ्यो, उहाँलाई नै काम नदिई सुखै हुन्थेन।’

त्यसरी सस्तो सामान दिन कसरी सम्भव हुन्छ भन्ने जिज्ञासामा स्रोतले भन्यो, ‘कसैले किनेको मेसिनरी सामान केही महिना चलाएपछि कुनै कम्पनीलाई बेच्ने हो। निश्चित समय मात्रै त्यस्ता सामान चाहिने र फेरि लिलामीबाट बिक्री गर्ने परियोजना हुन्छन्। त्यस्ता निकायबाट उनैले ती सामग्री प्राप्त गर्थे र मोडिफाइ गरेर फस्ट ह्यान्ड भन्दै बिक्री गर्थे। यस्ता सामान ३० देखि ४० प्रतिशत कम मूल्यमा बेच्दा पनि घाटा लाग्दैन।’

तुलहरि वारेन्टीरग्यारेन्टीको नक्कली कागजसमेत बनाउँथे। ‘यस्तो काम गर्न सरकारी निकायमा त निकै सजिलो छ,’ स्रोतले भन्यो, ‘बैंक तथा वित्तीय संस्थामा समेत यस्तो धन्दा सजिलै चल्दोरहेछ।’ हुन पनि नेपालको बैंक तथा वित्तीय संस्थाले कतिपय एटिएम मेसिनदेखि विभिन्न प्राविधिक उपकरण ‘सेकेन्ड ह्यान्ड’ खरिद गरेर ग्राहकको तथ्यांक र नगद मौज्दात सुरक्षित नगरेको विवरण सार्वजनिक भइसकेका छन्। ‘तर ती सबै सामग्री तुलहरिले नै बिक्री गरेका भने हैनन्,’ स्रोतले भन्यो, ‘बैंकहरूमा यस्तो धन्दा झन् सजिलो छ भन्न खोजेको मात्रै हो।’ संघ, प्रदेश र स्थानीय तहको गत निर्वाचन ताका ओम्नीले निर्वाचन आयोगमा यस्तै सेकेन्ड ह्यान्ड प्रिन्टर बिक्री गरेको थियो।

कम्प्युटर आपूर्तिको सफलतासँगै तुलहरिले बिस्तारै व्यापारको दायरा बढाए। ६३÷६४ ताका देशमा ‘लोडसेडिङ अन्धकार’ बढेसँगै उनले हात हालेको जेनेरटरको व्यापार पनि चम्कियो। यही क्रममा चिनियाँ व्यापारीसँगको सम्बन्ध पनि दरिलो बन्दै गयो। ‘उहाँ कम्तीमा महिनाको एकपटक चीन जानुहन्छ,’ ओम्नीसँग आबद्ध एक कर्मचारीले भने।

तुलहरिको कम्पनी विस्तार भएर भारत र सिंगापुरसम्म पुग्यो। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले सिंगापुरस्थित आफ्नै कम्पनी ब्यांकोटेकमार्फत नेपालमा सामान आपूर्ति गर्दै आएका छन्। २०६६ पुस २० ९जनवरी ४, २०१०० मा सिंगापुरमा दर्ता गरिएको यो कम्पनीमा तुलहरिको ९० प्रतिशत सेयर छ भने एक जना स्थानीय साझेदार छन्। सिंगापुरमा पनि ओबीसीआई नाम गरेको कम्पनी छ, जसको लगानीकर्ता भने खुल्न सकेन।

तुलहरि भारतको टेक्नोलोजिज प्राइभेट लिमिटेड कम्पनीका निर्देशक हुन्। यसमा उनले आफ्नो नाम तुलबहादुर सिंह ९हरि० लेखेका छन्। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले ‘तुलबहादुर, तुलहरि, तुल नाम र सिंह, भुसाल थरलाई फरक फरक ठाउँमा फरक फरक रूपमा प्रयोग गर्ने गरेका छन्। नाम फरक पारे जस्तै उनको बसाइ पनि फरक फरक देशमा हुने गरेको छ। नेपाल, भारत, दुबई, सिंगापुर र पछिल्लो सयम चीनका व्यापारिक मुकाममा लगभग उत्तिउत्तिकै दरमा उनको बसाइ हुने गरेको उनीनिकट स्रोतले बतायो। ‘तीन वर्षअघि क्यान्सरको उपचार तुलहरिले सिंगापुरमै गराएका थिए,’ स्रोतले भन्यो, ‘गैरनागरिकका लागि सिंगापुरको स्वास्थ्य उपचार निकै महँगो मानिन्छ।’ उनले सिंह थरकी भारतीय युवतीसँग विवाह गरेका हुन्। कान्तिपुर दैनिकमा खबर छ ।