सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ


हरेकपल April 10, 2020

धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ ।

यहाँ आयोजित ‘कोभिड—१९ मिडिया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिनुभयो । प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ ।

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा बिहीबारसम्म ५६ बालबालिका, १७० महिला र दुई हजार २४० पुरुष गरी दुई हजार ४६६ बसेको, १७ विभिन्न अस्पतालको आइसोलेसनमा रहेको र ५७ जना सामान्य उपचारपछि फर्किएको जनाइएको छ ।

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा उक्त कार्य शुरुसमेत भइसकेको कार्कीले जानकारी दिनुभयो ।