लकडाउन खुलेको तीन दिनपछि मात्र देशभरका अदालत खुल्ने


हरेकपल April 10, 2020

काठमाडौं, २८ चैत । देशमा जारी लकडाउनका कारण अहिले देशभरका अदालत बन्द अवस्थामा छन् । अब लकडाउन खुलेको तीन दिनपछि मात्र देशभरका अदालत खुल्ने भएका छन् ।

अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी यो निर्णय गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको हो ।

यसअघि सर्वोच्चले चैत २८ गतेसम्मका लागि अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि सर्वोच्चले वैशाख ३ गतेसम्म देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा अदालत २८ गतेसम्मका लागि बन्द गरिएको थियो । वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने सर्वोच्चको भनाइ छ ।

यद्यपि, बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम भने निरन्तर रहनेछ ।