काठमाडौं, २८ चैत । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएका छन् ।
गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीले तीनदेखि सात दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन नदिएको दाबी गरेको छ । ।
प्रवक्ता डा. देवकोटाले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कट्टी पनि गरिएको छैन ।’
उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।