मृत्यु


हरेकपल April 11, 2020

पानीको फोकाजस्तै
फुट्दै बगिरहेछन्
आँसुका भर्‍याङ हुँदै
खुसीहरू ।

भित्रभित्रै छट्पटिएर
हेरिरहेछ सहर
बन्द हुन लागेका श्वासहरू ।

अन्तिम समयका
साक्षी बनेका छन्
घरका भित्ता र दुई जोडी आँखा ।

हेर्नु र बग्नुबाहेक
छैन कतै उज्यालो
शून्यताभित्र ।

आकाशका भुईंहरूले चेप्दैछ
सिङ्गो संसार ।
आँसुका झरीले भिजेका छन्
घर अनि सडक ।
बन्द हुँदैछन्
झ्याल अनि ढोका ।
दुक्खका पहाडको भारी बोकेर
यात्रा गरिरहेछन्
भित्ता समातेका घडीका सुई ।

मजाक ठान्दै जिन्दगीलाई
‘फेब्रुअरी’सम्म सामान्य रूपमा हिँडिरहे सहरभरि
बाँच्नुको मीठो कल्पनामा
इटालीका यात्रीहरू ।

दिनचर्यासँगै उक्लिरहेको थियो कोही
ऊ, तिमी, म अनि हामी हुँदै
छेवैमा आइपुग्यो नकाबधारी मृत्यु ।

एक–एक गर्दै रोज्दै लिएर हिँड्न थाल्यो उसले
आँखाले देखुञ्जेल हेर्नु सिवाय केही रहेन
विश्राम लिएका जिन्दगीलाई ।