स्रष्टाको भूमिका


हरेकपल April 11, 2020

(वि.सं. २०६२ साल चैत्र ३० गते कफ्र्यु लागेको दिन स्रष्टाहरूले ‘लोकतान्त्रिक सिर्जना यात्रा’का नाममा बानेश्वरको गुरुकुलमा शान्तिपूर्ण विरोधको कार्यक्रम गरेका थिए । गुरुकुलको सम नाटकघरभित्र सिर्जनात्मक विरोधका कार्यक्रमले चित्त नबुझे स्रष्टाहरू नारा लगाउँदै सडकमा निस्किए । उनीहरू पुरानो वानेश्वर चौकमा पुगेपछि बाटो छेकेर बसेका प्रहरीसँग निहुँ नखोजी शान्तिपूर्ण तरिकाले सडकमै बसी कविता वाचन गर्न थाले । यसै क्रममा प्रहरीले गोली प्रहार गर्नुका साथै बर्बर शैलीमा धरपकड र कुटपिट गरेर आन्दोलनकारी स्रष्टाहरूलाई भ्यानमा कोचेर लग्यो । प्रहरीको शैली यस्तो थियो, यदि त्यस समय स्रष्टाहरूले संयमता नअपनाएको भए केही स्रष्टाहरूको ज्यान जान्थ्यो । सिर्जना यात्रा ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’को आयोजनामा भएको थियो । उक्त संस्थामा त्यस समय ६ जनाको अध्यक्ष मण्डल थियो र यस मण्डलको अध्यक्ष वैरागी काइँला हुनुहुन्थ्यो । उहाँले ‘स्रष्टा, चैत्र ३०’ संस्थाले प्रकाशित गरेको पत्रिकालाई दिनुभएको लेख साभार गरेर यहाँ प्रस्तुत गरिएको छ – सम्पादक । )

स्रष्टा भनेको समाजदेखि बाहिरको अङ्ग होइन । कुनै कोठाभित्र देखिबस्ने, समाजदेखि विशृङ्खलित, नाता–सम्बन्ध टुटेको रूपमा स्रष्टालाई कल्पना गर्न मिल्दैन ।

स्रष्टा जहिले पनि आफू बाँचिरहेको समयसँग हुन्छ । जुनबेला अभिव्यक्ति स्वतन्त्रतादेखि अन्य सबै नागरिक अधिकारमाथि बाधा–व्यवधान हुन्छ; न्यूनतम मानवीय मूल्यको अभाव हुन्छ; एउटा स्रष्टाले ढुक्क भएर सिर्जना गर्न सक्दैन । यस्तो बेलामा स्रष्टाहरूले देखेको कुरालाई पत्रिकामा छाप्नेमात्र होइन; लेखेको कुरालाई बीच सडकमा, चोकमा, डबलीमा लगेर आम जनतालाई सुनाउनु पनि पर्छ । लोकतान्त्रिक आन्दोलनका निमित्त अरू विकल्प नरहेको अवस्थामा स्रष्टाहरूले सडकमा उत्रनुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यताको स्थापनाका निमित्त हुने आन्दोलनमा स्रष्टाहरूको सहयोग र सहभागितालाई समयको आवश्यकताका रूपमा लिनुपर्छ । कतिले यसलाई स्रष्टाहरूले गरिरहेको काममा विचलन आएको पनि भन्लान् । हामीले तिनीहरूलाई लोकतन्त्रविरोधी हुन् भन्ने बुझ्नुपर्छ ।

केही स्रष्टाहरू निरङ्कुश सत्ताका समर्थक पनि हुन्छन् । तिनीहरूलाई निरङ्कुश सत्ता व्यक्तिगत तवरमा फापेको हुन्छ । व्यक्तिगत लाभ–हानी हेरेर नै तिनीहरू निरङ्कुशताको पक्षमा हुन्छन् । २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले गरेको ‘कु’लाई केही स्रष्टाहरूले समर्थन गरेकै हुन् । लोकतान्त्रिक मूल्य मान्यतालाई ध्वस्त पार्नुलाई सही ठहर्‍याएकै हुन् । तिनीहरू राजालाई नै सबै शक्तिको स्रोत भन्छन् । लोकतान्त्रिक प्रणालीमा आम जनता सम्प्रभू हुन्छन् । सारा राज्यशक्तिको स्रोत जनता हुन्छन् । त्यसैले हामी लोकतान्त्रिक स्रष्टाहरू राजाको निरङ्कुशताका विरूद्ध सडकमा उत्रियौँ । अब दलहरूले निरङ्कुशता देखाउने व्यवहार गरे भने त्यसका विरूद्ध पनि उत्रिन्छौँ । हाम्रो काम लोकतान्त्रिक मूल्य र मान्यतामाथि कसैले आँच पुर्‍याउन सक्ने वातावरण सधैँका लागि समाप्त होस् भन्ने अभियान चलाउने हो ।

अब त लोकतान्त्रिक आन्दोलन सकियो । अब स्रष्टाहरूको भूमिका के हुने भन्ने विषयमा अचेल छलफल हुँदो छ । जनताको सम्प्रभूता फेरिफेरि पनि उल्लङ्घन हुने किसिमको सम्झौता हुनुहुँदैन भन्ने हाम्रोे विचार हो । तर त्यस्तो कहिल्यै हुनेछैन भन्ने सोच्नुहुँदैन । आन्दोलन कहिल्यै पनि नहुने अवस्थाको राजनीतिक व्यवस्थाको सिर्जना हुन्छ भन्ने कुरामा हामीले विश्वास गर्नु पनि हुँदैन । एउटा ‘वाच डग’को काम स्रष्टाहरूले जहिले पनि गरिरहनुपर्छ । स्रष्टाहरूको विरोध भनेको निरन्तर कुरा हो । यो कहिल्यै अडिदैन । विरोधमा कुनै बेला सिर्जना गर्दा मात्र पनि पुग्छ; कुनै बेला सडकमै उत्रनुपर्छ– यति मात्र फरक हो । अहिले पनि लोकतान्त्रिक स्वरलाई मुखरित गर्न स्रष्टाहरूले सघाइरहेकै छन् । स्रष्टाको भूमिका कहिल्यै सकिँदैन ।

फोटो: ‘भास्वर ओझा, स्रष्टा, चैत्र ३० का लागि !’