पूर्व मन्त्री बस्नेतले दिए सञ्चारकर्मीलाई पिपिई सेट


हरेकपल April 11, 2020

सिन्धुपाल्चोक, २९ चैत । कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेकै बेला सिन्धुपाल्चोकमा समाचार संकलनमा खटेका सञ्चारकर्मीहरुलाई पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले कोरोना प्रतिरोधी पोशाक (पिपिइ सेट) मास्क, सेनिटाइजर, सहयोग गर्नुभएको छ । कोरोना रोकथामकालागि अग्रमोर्चामा रहेर खटिने सञ्चारकर्मीलाई पिपिइ सेट सहयोग गरेको सम्भवतः नेपालमा पहिलो भएको बताइएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले संचारकर्मीहरु कोरोना भाइरसबारे समाचार संकलन गर्न जानु पर्ने भएकोले संक्रमण नहोस् भनेर पिपिई सेट लगायतको सहयोग गरिएको बताउनु भयो । उहाँले संचारकर्मीले कोरोना भाइरसको त्रासबाट मूक्त भएर रिपोटिङ गर्न सहयोग मिलोस् भनेर सहयोग गरिएको जानकारी दिनु भएको छ । पहिलो पटक चार सञ्चारकर्मीलाई पिपिई सेट सहयोग गरिएको छ भने छिटै नै जिल्लाभरका संचारकर्मीलाई सो सहयोग उपलब्ध गराउने बताइएको छ ।

पत्रकारहरुले पिपिई सेट पाएपछि रिपोटिङमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् । गोरखापत्र, नेपाल टेलिभिजन, एपीवान टिभि, प्राइम टिभी लगायतका संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई पिपिई सेट प्रदान गरिएको छ ।

यसैगरी जिल्ला समन्वय समितिले सिन्धुपाल्चोकमा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।