रातो बिहान


हरेकपल April 11, 2020

डाँडाबाट खस्दैछन् राता किरणहरू बस्तीहरूमा
यसबेला, तिनको वृष्टिछायाँ परेको
आफ्नै घरको चौघेरामा उभिएर
पारिको डाँडातिर नियालिरहेँछु,
र, सँगसँगै आत्मालाप गरिरहेँछु,
‘अब छिटै वारिपारि सर्वत्र न्यायो घाम लाग्नेछ, अनि
सूर्योदयले मलाई स्पर्श गरेसँगै मेरो अर्चना आरम्भ हुनेछ’
म आँखा उचाल्दैछु–
बस्तीको सिरानबाट रातो उज्यालो तलतल सर्दै आइरहेछ,
अग्निरेखाहरूझैँ किरणहरू
मेरो शिरमाथिको आकाश मार्ग हुँदै
बस्तीको भित्तामा पुगेर ठोकिएका छन्,
र तिनले घरका छाना, भित्ता र दलानहरू पोत्न थालेका छन्,
क्रमशः झ्यालढोकाहरूबाट भित्रिएका राता किरणहरूले
ओछ्यानका नानीहरूमाथि अनि चुल्हानेरको दियाघरमाथि
आगोका सिर्काहरू फ्याँक्न थालेका छन्,
म कसरी मेरो अर्चना आरम्भ गरूँ !
रातो बिहान सुन्दर नहुने रहेछ ।

डाँडाबाट खस्दैछन् राता किरणहरू बस्तीहरूमा
डाँडानेरको घाम झन्झन् माथि सर्दै गएको छ
क्षितिजको अग्निपथ झन्झन् अग्निमय भएको छ,
बस्तीका छानाहरू झन्झन् राताम्य हुँदैछन्,
र, किरणहरू मेरो अनुहार पोत्दै आँगनमा ओर्र्लेका छन्,
आँगनको भित्तामा पुगेका किरणहरूले
आमाले भर्खरै लिपेको तुलसीको मठलाई डस्न थालेका छन्,
अनि यसबेला मलाई सर्वाङ्ग रातो घामले डाम्न थालेको छ
मेरा आँखामा सर्वत्र राता दृश्यहरूको जुलुस छाइरहेछ ।
डाँडामाथि पुगिसकेको घामबाट, उसैगरी
खस्दैछन् राता–राता किरणहरू बस्तीहरूमा
चौघेराबाट चौतर्र्फी देखिएका छानाहरूभित्रबाट
आमाहरू भक्कानिएका मूच्र्छनाहरू सुनिरहेँछु म,
बाबुहरूका विलापका हिक्काहरू सुनिरहेँछु म,
भर्खरै ओर्लेको रातो घामको तातो वाफले निसास्सिएको
कोलाहलमय बस्तीको चीत्कार सुनिरहेँछु म,
म झस्किँदैछु, कतै डढेलो पो सल्किन्छ कि !
न्यानो बिहानको अर्चना गर्न चौघेरामा उभिएको म
यसबेला आफैँलाई नियाल्दै छु
आफ्नै आँखाहरूमा ठोकिएका राता किरणहरू
राता थोपा भएर भुइँभरि पोखिएछन्,
छेवैको आँगनमा जमेको रातो घामबाट
निर्मलाको प्रतिविम्बले हेरिरहेछ,
निर्मलाहरूको रगतमा घोलिएर टल्पलाउँदै
भुइँमा पोखिएको रातो बिहानलाई
म कसरी अर्चना गरूँ !
रातो बिहानले मान्छे र माटो दुवैलाई पोल्ने रहेछ ।
… … …

(साभार – मधुपर्क, २०७५ माघ, पूर्णाङ्क ५९६ )