स्रष्टा–आन्दोलनको निरन्तरता


हरेकपल April 11, 2020

स्रष्टाका सिर्जनामा व्यक्तिको हृदयस्पर्र्श गर्नेमात्र होइन, हृदय नै परिवर्तन गर्न सक्ने शक्ति र सामथ्र्य हुन्छ । समाजको अग्रता र परिवर्तनका लागि स्रष्टाको भूमिका महत्त्वपूर्ण हुन्छ । सच्चा लोकतान्त्रिक स्रष्टाहरूले जहिले पनि निरङ्कुशताविरूद्ध उन्मुक्ति, यथास्थितिविरूद्ध गतिशीलता र उज्यालोको खोजीलाई अभिव्यक्ति दिएका छन् । यस्ता अभिव्यक्ति दिँदा कति स्रष्टाले चरम यातना पाएका छन्, कतिले मृत्युसमेत वरण गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । राणाकालमा राज्यसंयत्रले लोकतान्त्रिक गणतन्त्रको चेतनालाई निषेध गर्न हरसम्भव प्रयास ग¥यो । राणाविरोधी कृष्णलाल अधिकारीले ‘मकैको खेती’ जस्तो सामान्य व्यवसायी पुस्तक लेख्दासमेत उनलाई अपराधी ठहर्‍याई जेल हाल्यो र उनी त्यहीँ मृत्युवरण गर्न विवश भए । वि.सं. २०१७ सालमा राजा महेन्द्रले देशमा निरङ्कुश पञ्चायती व्यवस्था सुरू गरेपछि धेरै स्रष्टाहरूले जेलजीवन र निर्वासन भोग्नुपर्‍याे । २०२० को दशकको अन्त्य ३० को दशकको थालनीपछि निरङ्कुशताविरोधी युवापुस्ताका स्रष्टाहरूले विद्रोहका विविध रूप र शैलीको प्रयोग गरे । राल्फा, अमलेख, बुटपालिस, अस्वीकृत जमात, योङ राइटर्सजस्ता आन्दोलनहरूले निरङ्कुशताविरोधी चेतनालाई समाजमा फैलाए । २०३६ साल ताका कविहरू कवितालाई लेख्नेमात्र होइन, सडक–सडकमा गएर सुनाउने आन्दोलन ‘सडक कविता आन्दोलन’मा लागे । रङ्गमञ्चको नयाँ धारणा बोकेर सडक नाटकमार्फत् निरङ्कुशताको विरोध गर्दै सर्वनाम नाट्यसमूह सडकमा आयो । २०४६ साल चैत ३ गते स्रष्टाहरूले सामूहिक रूपमा त्रिचन्द्र क्याम्पसअगाडि मुखमा कालोपट्टी बाँधेर धर्ना बसे र गिरफ्तारी दिए । लेखकहरूको यो सामूहिक प्रयासलाई ऐतिहासिक महत्त्वका रूपमा लिइयो ।

२०४६ सालको आन्दोलनबाट प्राप्त जनताको सीमित स्वतन्त्रता २०५९ साल असोज १८ मा राजा ज्ञानेन्द्रले अपहरण गरेपछि देशमा प्रतिगामी शासन सञ्चालन हुनथाल्यो । २०६१ माघ १९ बाट त देशमा तानाशाही हुकुमी शासन नै सुरू भयो । यस समयमा सर्वसत्तावादीहरूले स्रष्टा कृष्णसेन इच्छुक र डी.कौडिन्यको हत्या गरे, पूर्णविरामलाई गिरफ्तार गरी चरम यातना दिए, नवीन विभासलाई गिरफ्तार गरी केही समय बेपत्ता पारे । निरङ्कुशतन्त्रको दमनसँग जुध्ने क्रममा साहित्यकार निनु चापागाईँको हात भाँचियो भने युवा साहित्यकार रत्नमणि नेपालको दाँत भाँचियो । यस्तो चर्को दमनका विरूद्ध विभिन्न विचारका स्रष्टाहरू एक हुनुपर्ने आवश्यक्ता बोध गरी २०६० साल साउन ४ गते स्रष्टाहरूको प्रतिगमनविरोधी सङ्घर्ष समिति गठन भयो ।

२०६१ साल पुसमा लोकतान्त्रिक साहित्यकार संघ गठन र २०६२ साल साउनमा लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च गठन भएपछि निरङ्कुशतन्त्रका विरूद्ध सामूहिक रूपमा स्रष्टाहरूले विभिन्न कार्यक्रमहरू सम्पन्न गरे ।

जनआन्दोलन–२ मा देशव्यापी रूपमा सबै क्षेत्रका स्रष्टाहरूको उल्लेख्य भूमिका रह्यो । कवि, लेखक, चित्रकार, मूर्तिकार, व्यङ्ग्यचित्रकार, सङ्गीतकार, गायक, रङ्गकर्मी, चलचित्रकर्मी, अभिनेता, अभिनेत्री, कलाकार आदिको योगदान– बहस, चिन्तन, सिर्जना र अभिनयमा मात्र नभएर भौतिक उपस्थितिका रूपमा समेत उल्लेख्य रह्यो । निरङ्कुशतन्त्रको विरोधमा उत्रिने क्रममा २०६२ साल चैत्र ३० गतेका दिन स्रष्टाहरूमाथि सर्वसत्तावादी सरकारले गोली प्रहार गरी नृशंश दमन गरेको थियो । त्यसदिन डा. तुलसीप्रसाद भट्टराई, हरिगोविन्द लुइँटेल, देशभक्त खनाल, डा. सञ्जीव उप्रेती, आर. एम. डङ्गोल, मनोज न्यौपाने, ठाकुर बेलबासे, कुसुम ज्ञवाली, घिमिरे युवराज, भोलाराज सापकोटा, रामकुमार राई गणेश पौडेल लगायतका स्रष्टाहरूलाई प्रहरीले गिरफ्तार ग¥यो र दशरथ रङ्गशालाको कभर्डहलमा दिनभरि राखी राति नौबजे छाडिदियो । कवि ठाकुर बेलबासेलाई भने छाडेन, तीन महिने थुनुवा पुर्जी दिई तालिम केन्द्र महाराजगञ्जमा लग्यो ।

त्यस समयको सङ्घर्षको उत्कर्षलाई सम्झँदै ‘स्रष्टा, चैत्र–३०’ स्थापना गरिएको हो । चैत्र ३० लोकतन्त्र पक्षधर स्रष्टाहरूले कहिल्यै भुल्न नसक्ने दिन हो । यो दिन, स्रष्टाहरूको अगाडिको यात्राको सङ्कल्प अनि ऊर्जा पनि हो । आजको खुला वातावरणमा स्रष्टा, चैत्र ३० को उद्देश्य हिजोको दिनलाई सम्झनु मात्र होइन, यसका उद्देश्य यस्ता छन् –

– स्रष्टा आन्दोलनलाई निरन्तरता,
– सबै किसिमका निरङ्कुशता र शोषणका विरूद्ध सङ्घर्ष,
– प्रत्येक नागरिकको पहिचान र मर्यादा हुने समाजको निर्माण,
– समाजलाई अग्रगमन र परिवर्तनको दिशा प्रदान,
– स्रष्टाहरूको नयाँ भूमिकाको खोजी,
– सिर्जनात्मक वैचारिकता,
– र, स्रष्टा आन्दोलनको अभिलेखीकरण ।
(साभार – ‘स्रष्टा, चैत्र ३० स्रष्टा आन्दोलनको आलेखनको’ सम्पादकीयबाट )
…. …. …. .. .. …… .. . .

विचार

(‘स्रष्टा, चैत्र ३०’ को स्थापना २०६३ साल चैत्र महिनामा भएको थियो । यसले त्यस समय प्रकाशित गरेको स्रष्टा ‘आन्दोलनको आलेखन’को सम्पादकीय अंश, प्रेस विज्ञप्ति र संस्थापकहरूको नामावली साभार गरेर यहाँ राखिएको छ –सम्पादक । )

प्रेस विज्ञप्ति मिति – २०६३/१२/२६
जनआन्दोलन–२ को समयमा नेपाली जनताले देखाएको अद्वितीय सङ्घर्षको घडीमा नेपाली स्रष्टाहरूले उल्लेख्य योगदान दिए । यो समयमा वैचारिक बहस, चिन्तन र लेखनले मात्र नभएर भौतिक उपस्थितिको रूपमा समेत स्रष्टाहरूले उल्लेख्य योगदान दिएका थिए । निरङ्कुशतन्त्रको विरोधमा उत्रिने क्रममा चैत्र ३० का दिन स्रष्टाहरूमाथि सर्वसत्तावादी सरकारले गोली प्रहार गरी नृशंश दमन गरेको थियो । त्यस समयको सङ्घर्षको उत्कर्षलाई सम्झना गर्दै ‘स्रष्टा, चैत्र ३०’ ले त्यसै दिन कार्यक्रम तय गर्ने भएको छ ।

सङ्घर्षको उत्कर्षको स्मरणमा खुलेको संस्था ‘स्रष्टा, चैत्र ३०’ ले सिर्जनासङ्घर्षको अगुवा संस्था आरोहण, गुरूकुलसँग मिलेर पहिलो कार्यक्रम गर्न लागेको हो । चित्रकारहरूले आन्दोलनको स्मरणमा चित्र बनाउने, गायकहरूले गीत प्रस्तुत गर्ने, कविहरूले कविता सुनाउने, रङ्गकर्मीहरूले नाटक प्रदर्शन गर्ने एवम् जनआन्दोलनमा स्रष्टासँग सम्बन्धित वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिनेछन् ।

आजको खुला वातावारणमा हिजोको सङ्घर्षलाई स्मरण गर्नुमात्र हाम्रो उद्देश्य होइन, पुनः सङ्घर्ष जारी राखी वैचारिक साहित्यिक अभियान चलाउने अवस्था आएमा सिर्जना–क्षेत्रका व्यक्तिले काम गर्न सक्छन् भन्ने विश्वास यस संस्थालाई रहेको छ । कार्यक्रममा विशिष्ट लोकतान्त्रिक स्रष्टाहरूलाई सम्मानसमेत गरिने छ ।

आर.एम्. डङ्गोल
(संयोजक)

… ….. ….. ……

सङ्घर्षको उत्कर्षको स्मरणमा खुलेको संस्था ‘स्रष्टा, चैत्र ३०’ को सस्थापकको नामावली –

स्रष्टा, चैत्र ३०

संयोजक
आर.एम्. डङ्गोल
सदस्यहरू
मनोज न्यौपाने
ठाकुर बेलबासे
रत्नमणि नेपाल
टङ्क उप्रेती
केशवराज सिलवाल
पदम गौतम
प्रकाश सिलवाल
नवराज लम्साल
श्रीबाबु कार्की ‘उदास’
कुसुम ज्ञवाली
चङ्की श्रेष्ठ
धर्मेन्द्रविक्रम नेम्वाङ
नारायण श्रेष्ठ
छत्र क्षितिज
भोलाराज सापकोटा
घिमिरे युवराज ।

फोटो: ‘भास्वर ओझा, स्रष्टा, चैत्र ३० का लागि!