(वि.सं. २०६२ साल चैत्र ३० गते स्रष्टाहरूको आन्दोलनमा सहभागी सञ्जीव उप्रेतीलाई प्रहरीले चुटेनन् मात्र ‘भागिस् भने गोली चलाएर यहीँ ठहरै पारिदिन्छु’, भनेर मार्ने धम्की पनि दिए । उप्रेतीले प्रहरीको चुटाइको दुखाइ निको नहुँदै लेख्नुभएको यो लेखले त्यो दिनको दृश्यको एकदमै राम्रोसँग चित्रण गरेको छ । ‘स्रष्टा, चैत्र–३०’ ले हरेक वर्ष चैत्र ३० गते स्रष्टाहरूको आन्दोलनलाई स्मरण गर्ने गर्दछ । यस वर्ष कोरोना भाइरसका कारण उक्त कार्यक्रम स्थगित भयो । स्रष्टाहरूको शान्तिपूर्ण आन्दोलनमा गोलीसमेत प्रहार भएको यो दिनको सम्झनामा ‘स्रष्टा, चैत्र–३०’ को अभियानमा साथ दिँदै यो लेख कान्तिपुरबाट साभार गरी प्रकाशित गरिएको हो – सम्पादक ।)

कवि, लेखक, कलाकारको प्रायः विम्ब वा प्रतीकसँग खेल्ने बानी हुन्छ । फूल शान्तिको प्रतीक, रातो रङ हिंसा र रक्तपातको प्रतीक, नदीको प्रवाह जीवनको अविरल गतिको प्रतीक, कवि कलाकारहरू यस्तै धेरै विम्ब–प्रतीकहरूको सिर्जना गर्छन् र बाह्य यथार्थको कठोर संसारलाई प्रतीकहरूको लयात्मक तरल संसारमा रूपान्तरित गर्छन् । तर इतिहासको प्रवाह उल्टो बगेको अवस्थामा, सडक र गल्लीहरूमा गोली र लाठीको आतङ्क मच्चिएको अवस्थामा प्रतीक, विम्बहरूको संसार पनि भाँचिदोरहेछ– कवि, कलाकार तथा अन्य स्रष्टाहरूलाई यथार्थको ठोस, विचलित वास्तविकतासँग अपर्झट जम्काभेट गराउँदै ।
स्थल थियो– पुरानो वानेश्वरको गुरुकुलको प्राङ्गण । चैत ३० गते लोकतन्त्रको पक्षमा रहेका कवि, कलाकारदेखि अभिनेता र रङ्गमञ्चकर्मीहरूको ठूलो जमघट थियो । डा. तुलसी भट्टराई, प्रकाश सायमी, देशभक्त खनाल, हरिगोविन्द लुइँटेल, विष्णुविभु घिमिरे, किरण मानन्धर आदिको भाषण र त्यसपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सत्ताविरूद्धको व्यङ्ग्यात्मक प्रहसनपछि सम नाटकघरभित्र नै लोकतन्त्रको पक्षमा कविता वाचन हुने घोषणा आयोजनकले पहिले नै गरिसकेका थिए । तर पछि गएर योजना परिवर्तन भयो र नाटकघरको बन्द दीर्घाबाट बाहिर निस्किएर स्रष्टाले वानेश्वर चोकतिर लम्कने सडकमै कविता वाचन गर्ने निर्यण गरे ।
सायद सम नाटकघरभित्रै बसेर कविता पाठ गरेको भए स्रष्टाहरू प्रतीक–विम्बकै संसारभित्र अलमलिरहने थिए कि ? तर सडकमा ओर्लनासाथ प्रतीकको लयात्मक शृङ्गारलाई विस्थापित र विखण्डित ग¥यो– महाराजका सिपाहीहरूले चलाएको गोलीको आवाज र लाठीहरूको निर्मम प्रहारले । प्रतीक–विम्ब भाँचिए र लाठीहरू काँध, खुट्टा, टाउकोमा बजारिएर दण्ड र पीडाको साम्राज्य ब्युँताउन थाले । टाउकोमा उठेको टुटुल्कोको पीडा तथा हातखुट्टामा नीलडाम परी चर्चरी दुखेको पोलाइको आफ्नै वास्तविक यथार्थ थियो । त्यो टुटुल्को, त्यो नीलडाम कुनै पीडाको प्रतीक वा विम्ब मात्र थिएन । त्यो वास्तविक पीडा नै थियो, यथार्थको पोलाइ र दुखाइ नै थियो ।
एकातिर विष्णुविभु घिमिरे काँध सुम्सुम्याउँदै पुुरानो बानेश्वर चोकतर्फबाट तल झर्दै हुनुहुन्थ्यो । अर्कातिर देशभक्त खनाल र हरिगोविन्द लुइँटेल टाउको र घुँडा समात्दै अघिपछि गर्दै हुनुहुन्थ्यो । पुलिसको आक्रमण र तितरबितर भएको उत्तेजित भीडमा डा. दुर्गाप्रसाद भण्डारी, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र केही मिनेट अघिसम्म पनि सडकमा कविता वाचन गरिरहनुभएकी वेञ्जु शर्मा खोइ कता हराउनु भयो कता ? पछि धेरैबेरसम्म पनि उहाँहरूको चिन्ता भइरह्यो ।
एकातिर नारायण वाग्ले दगुर्दै हुनुहुन्थ्यो भने अर्कातिर सङ्गीतकार आभास र सरिता मिश्र । पुलिसको एउटा हूलले श्रवण मुकारुङ र विमला तुम्खेवा इत्यादिलाई खेद्दै थियो भने अर्कोले चित्रकार किरण मानन्धर तथा निर्देशक सुनील र निशा पोखरेललाई लघार्दै थियो ।
गुरुकुलतिर लाग्नुअघि एकजना घनिष्ट मित्रले मलाई भेलामा नजाने सल्लाह दिएका थिए । ‘सडकमा उत्रने काम पार्टीका कार्यकर्ताहरूको हो’, उनले मलाई सम्झाउने प्रयत्न गरेका थिए, ‘कवि लेखकले त सडकको राजनीतिबाट पर रहेर घरमै बसी कलम चलाउनुपर्छ । फेरि अझ सुरक्षाकर्मीले हातैखुट्टा भाँचिदिए भने नि ? बूढो हुञ्जेलसम्म पनि लाठी बज्राइको पीडाले फर्कीफर्की सताइरहने छ ।’ लखेट्दै गएका सिपाहीहरूबाट तर्केर पुनः गुरुकुलतिर उकालो भाग्दै जाँदा ती मित्रले दिएको चेतावनीलाई मैले झल्झली सम्झेँ । गुरुकुलको प्राङ्गणमा निर्माण हुँदै गरेको नयाँ भवन भित्र पसी तल हामफालेर अब कता भागूँ भनेर सोच्दासोच्दै महाराजका एक सिपाहीले माथिबाट बन्दुक तेर्साइहाले । ‘भागिस् भने गोली चलाएर यहीँ ठहरै पारिदिन्छु’, उनले आफ्नो मन्तव्य प्रस्टै पारे । अहिले नै ठहरै भइहाल्ने मेरो उद्देश्य नभएकाले हात उठाएर ‘हुन्छ, भाग्दिनँ, गोली नचलाउनुस्’ भनेँ । दुई जना अरू सिपाहीहरू तल झरेर तथानाम गाली गर्दै मलाई घोक््रयाउन थाले । छेउमै एउटा भर्खरका कलिला २०–२२ वर्षजतिका देखिने भाइलाई निर्घात चुट्दै गरेको देखेँ । जतिसुकै सावधान हुने कोसिस गर्दागर्दै पनि मन थाम्न सकिनँ र भनिहालेँ, ‘किन चुट्दै हुनुहुन्छ यी भाइलाई समातिसकेपछि ? भाग्न खोजेका छैनन्, किन लाठी, बुट उनीमाथि ?’ मेरो प्रतिरोधको स्वरलाई महाराजका सिपाहीहरूले अक्षम्य अपराध भन्ठाने । ‘तँ साह्रै बढ्ता बोल्दो रैछस्, लौ फर्की भित्तातिर हात टेकेर’, एउटाले भन्यो । अरू कुनै उपाय थिएन । उनीहरूले भनेबमोजिम भित्तातिरै फर्केँ ।
मित्रको चेतावनी पुनः सम्झेँ, मनमा एक किसिमको डर पलाएर आयो । होइन, हातखुट्टा नै भाँचिदिने हुन् कि क्या हो यिनीहरूले ? सोच्दै थिएँ, एकजना सिपाहीले एउटा लामो भाटोले चार–पाँचचोटि जति कस्सिएर बजारे मेरो देब्रे खुट्टामा । खुट्टा रनरनी दुख्न थाल्यो, मलाई तुरुन्तै प्रतीक–विम्बको संसारबाट ब्युँझाएर पीडा र दण्डको यथार्थमा थचार्दै ।
खोच्याउँदै भ¥याङ चढेर म र ती भाइ (रामकुमार मुकारुङ) सम नाटकघरबाहिरको चौरमा उक्लियौँ । रामकुमार निक्कै आत्तिएका र डराएका देखिन्थे । ‘हेर्नुस् न दाइ, एक्लै बाटो हिँड्दै पुरानो बानेश्वरतिर जाँदै थिएँ, एकाएक कत्रो विपत्तिमा जाक्किन पुगेँ ।’ उनले मलाई भने । यत्तिकैमा महाराजका सिपाहीहरूले हामीलाई गलहत्याउँदै तान्न थाले र पुरानो बानेश्वर चोकमा उभिएको भ्यानभित्र लगेर कोचे ।
म हामीलाई चुट्ने सुरक्षाकर्मीको अनुहार तथा आँखामा हेरेर उनीहरूलाई ठम्याउन–बुझ्न खोजिरहेको थिएँ । के होला तिनको नाम ? राम, हरि, विजय, श्याम, कृष्ण ? बढीजसो मभन्दा उमेरमा कम आफ्नै गाउँघरमा भेटिइरहने साथीभाइजस्तै देखिन्थे । तर अनुहारमा पोतिएको आतङ्कले उनीहरूलाई विरूप पारेको थियो । आफ्नो स्वविवेक र स्वतन्त्र निर्णयको क्षमतालाई हटाएर उनीहरू फगत् राज्यआतङ्कका कठपुतली बन्न पुगेका थिए, मात्र दमनका संयन्त्रहरू । हामीलाई गाली गर्नु, चुट्नुमा यी विचरा सिपाहीहरूको कुनै दोष छैन, मनमनै सोचेँ । मेरो खुट्टामाथि बज्रिने लाठी त्यो सिपाहीको नभएर राजा ज्ञानेन्द्रकै हो । मलाई तथानाम हप्काउने स्वर पनि तिनै राजा ज्ञानेन्द्रको हो । उसका आतङ्क पोतिएका डरलाग्दा आँखा पछाडिबाट पनि मलाई राजा ज्ञानेन्द्रले नै हेर्छन् । ती सिपाहीहरू त हामी सबैजस्तै विवश नै छन्, हिंसा–हत्याको अविरल नाटकमा त्यसै होमिन पुगेका कठपुतलीझैँ । खाई–नखाई घाममा दिनदिनै टट्टिएर, प्रदर्शनकारीहरूको गाली र ढुङ्गा वर्षाको सामना गर्दै, नुनको सोझो गर्दै, आफ्नो तलब पकाउँदै उनीहरू त केवल आफ्नो मालिकको आदेश मात्र पहिल्याइरहेछन् । यस्ता कठपुतलीमय मानिससँग रिसाउनु व्यर्थ छ ।
भ्यानभित्र मलाई र रामकुमार मुकारुङलाई राखेपछि सिपाहीहरूको व्यवहारमा परिवर्तन आयो । ‘के गर्ने हेर्नोस्, हामीले पनि त आफ्नो काम त गर्नैपर्याे ।’ उनीहरू भन्नथाले, ‘बरु तपाईँहरू दुईजनामध्ये एक जनालाई भगाइदिन सक्छौँ । बरु इनिस्पेक्टरहरू आउनुअघि नै एकजना भ्यानबाट निस्केर आफ्नो बाटो लागिहाल्नुस् ।’ ‘मलाई भाग्न मन छैन’, मैले भनेँ, ‘बरु सक्नुहुन्छ भने यी भाइलाई भगाइदिनुहोस् ।’ तर आश्चर्य ! अघिसम्म गुरुकुलमा थरथर काम्दै सिपाहीहरूको बीचमा उभिएका रामकुमारले अब दृढ स्वरमा नडराईकन प्रस्ट भने, ‘मलाई पनि भाग्न मन छैन । जहाँ लैजानुपर्ने हो, लैजानुस् । जता जानुपरे पनि म तयार छु ।’ रामकुमारको कुरा सुनेपछि मलाई विश्वास भयो, दमनले विद्रोहलाई झन् सशक्त बनाउने रहेछ । दण्डले विरोधलाई झन् निम्त्याउँदो रहेछ ।
रामकुमार र म दुवैजना कुनै राजनीतिक दलका नेता वा कार्यकर्ता थिएनौँ । मृत्यु वा अङ्गभङ्गको डरबाट पूर्णतया मुक्त कुनै असाधारण नायकहरू पनि थिएनौँ । हामी दुवै सिपाहीहरूको पिटाइले हातखुट्टा भाँचिएला कि, झन् अझै ठूलो भडखालोमा परिएला कि भनेर चिन्ता गर्ने सामान्य मानिस थियौँ । तर दमनले हामीलाई सशक्त बनाएको थियो, देशभरि सरकारतन्त्र विरूद्ध भिडिरहेका अन्य हजाराँै मानिसहरूझैँ । सरकारको दमनले किचिएर दर्शनलाल यादव र भीमसेन दाहालजस्ता धेरै व्यक्ति गत केही दिनभित्र सहिद भएका छन्, मैले पुनः मनमनै सोचेँ, कैयौँ व्यक्ति टाउको फुटी रक्ताम्य भई अस्पताल र घर–डेराभित्र लम्पसार सुतेका छन् । त्यसैले जाबो चार लौरा खुट्टामा बज्रिँदैमा आत्तिइहाल्नुपर्ने केही छैन । एक–दुई दिन अलि खोच्चिँदै हिँडूला, अनि खुट्टा ठीक भएपछि पुनः आन्दोलनलाई सघाउन सडकमा निस्कूँला ।
हामीलाई बोकेर हिँडेको भ्यान गौशालाको पुलिसचौकीमा गएर रोकियो । बाहिर निस्केपछि पो देखेँ, डा. तुलसी भट्टराई, घिमिरे युवराज, मनोज न्यौपाने, आर.एम. डङ्गोल, ठाकुर बेलबासे, हरिगोविन्द लुइँटेल, देशभक्त खनाल, तथा भोलाराम सापकोटा लगायतका स्रष्टाहरू पहिले नै पुलिसबाट पक्रिएर, चुटिएर प्रहरी थानामा पु¥याइनुभएको रहेछ । मलाई र रामकुमारलाई देखेपछि उहाँहरू हर्षित भएर प्रहरीको वास्तै नगरी लोकतन्त्रको समर्थनमा नारा लगाउन थाल्नुभयो । केही बेरपछि सबै बन्दी स्रष्टाहरूलाई खुला जीपमा राखेर दशरथ रङ्गशाला पु¥याउञ्जेल पनि बेला–बेलामा नारा घन्की नै रहे । सडकका पेटीमा यत्रतत्र हिँडिरहेका धेरैले हात हल्लाएर हाम्रो हौसला बढाए । हामी सबैले हात हल्लाएर उनीहरूको प्रतिउत्तर दियौँ । पक्राउ परेकोमा कसैलाई रत्तिभर पनि चिन्ता वा ग्लानि भएन । बरु एउटा अनौठो शक्ति र सामूहिक ऊर्जाले हामी सबैको मनमस्तिष्क जुर्मुराएको थियो । मलाई अकस्मात् लाग्यो कि हामी पूर्ण स्वतन्त्रताबाट त्यति टाढा छैनौँ । नेपाली जनताले रैतीबाट नागरिक बन्ने दिन आइसकेको छ । सायद अब केही दिनभित्र नै हामी स्वतन्त्र आकाशमुनि बसेर कविता लेख्न सक्नेछौँ, उन्मुक्तिका गीतहरू गाउन सक्नेछौँ । सायद त्यतिबेला हामीले झन् घतलाग्दा प्रतीकहरूको सिर्जना गरेर जीवन र जगतका रङ तथा स्वरहरूलाई क्यानभासमा, रङ्गमञ्च, पर्दा तथा पन्नाहरूमा सजाउनेछौँ । झन् गहकिला विम्बहरूको रचना गरेर जीवनको उत्सव मनाउने छौँ । दासत्वको कारागारभित्र लेखिएका–कोरिएका कविता, चित्र, नाटक, कथाहरूभन्दा उन्मुक्त भएर आकाशमुनि कोरिएका कविता, कथा, दृृश्य विम्बहरू पक्कै पनि झन् सुन्दर, तरल र लयात्मक हुनेछन् ।
(साभार – कान्तिपुर )