संसारका महामारीका रुपमा देखापरेका सरुवा रोगहरु विभिन्न किसिमले सर्ने गरेका पाइएको छ । अहिले महामारीको रुपमा देखा परेको कोरोना सर्ने प्रक्रियामा पनि फरकपना आउन थालेकोमा विश्व समूदाय त्रासदीपूर्ण बनेको छ । सुरुका दिनमा प्रतक्ष्य किसिमले सर्ने गरेको कोरोना अहिले विभिन्न किसिमका अप्रत्यक्ष रुपबाट पनि सर्ने गरेको पाइएको छ ।
कोरोना संक्रमण हुने चरणलाई सिम्प्टोमेटिक, प्रि-सिम्प्टोमेटिक, पोस्ट-सिम्प्टोमेटिक र एसिम्प्टोमेटिक गरी चार भागमा बिभाजन गर्न सकिन्छ । जसमध्य पहिलो प्रत्यक्ष हो भने अरु ३ वटा अप्रत्क्ष हुन् । कोरोना संक्रमित व्यक्तिमा संक्रमणका लक्षणहरू देखा परेपछि अन्य व्यक्तिमा संक्रमण हुन्छ भने त्यस्तो प्रक्रियालाई ‘सिम्टोमेटिक ट्रान्समिसन’ भनिन्छ । धेरै जसो कोरोना प्रसारण हालसम्म यसरी नै हुने गरेको छ । तर अहिले अन्य किसिमले पनि संक्रमित हुन थालेका छन् । कुनै पनि व्यक्तिमा कोरोना संक्रमण भएको तर लक्षण देखा पर्नुभन्दा अगाडी नै अन्य व्यक्तिमा संक्रमण हुन्छ भने त्यस्तो प्रक्रियालाई ‘प्री-सिम्प्टोमेटिक ट्रान्समिसन’ भनिन्छ । यस्तो व्यक्तिमा संक्रमण शुरु भएको हुन्छ तर लक्षण केही दिनपछि मात्र देखिन्छ । यो अवस्थालाई इन्कुवेशन पिरियड भनिन्छ । यसरी इन्कुवेशन पिरियडमा रहेको व्यक्तिबाट हुने संक्रमण नै ‘प्री-सिम्प्टोमेटिक ट्रान्समिसन’ हो । त्यस्तै एकचोटी कोरोना संक्रमित भएको व्यक्ति संक्रमणबाट निको भएपछि पनि संक्रमण फैलाइरहेको हुन्छ भने त्यसलाई ‘पोस्ट-सिम्प्टोमेटिक ट्रान्समिसन’ भनिन्छ ।
यसैगरी कोरोना संक्रमित व्यक्तिमा संक्रमणको लक्षण कहिल्यै नदेखिए पनि अर्को व्यक्ति संक्रमित हुने प्रक्रियालाई ‘एसिम्प्टोमेटिक ट्रान्समिसन’ भनिन्छ । यस्तो मानिस हेर्दा स्वस्थ हुन्छ, तर अरुलाई संक्रमण फैल्याइरहेको हुन्छ । यस्तो व्यक्तिलाई “कोरोना बाहक” पनि भनिन्छ . यो अरुभन्दा अझ जटिल र त्रासदीपूर्ण प्रकृतिको हुन्छ ।
तसर्थ माथिका पछिल्ला ३ प्रक्रियाहरुमा कुनै लक्षण नदेखिए पनि संक्रमण फैल्याइरहने हुनाले यिनलाई कोरोना प्रसारणका ठुलो समस्याका रुपमा लिन सकिन्छ जसले थाहा नपाइ अन्य स्वस्थ व्यक्तिलाई संक्रमित गर्छन् ।
अब हामी एसिम्प्टोमेटिक संक्रमितबाट कसरी रोग सर्छ भन्ने ‘टाइफाइड मेरी’ को नामबाट चिनिएको वास्तविक घटनातर्फ लागौ । आयरल्याण्डमा सन् १८६९ मा जन्मेकी टाइफाइड मेरीको नामले चिनिएकी मेरी मेलन सन् १८८४ मा संयुक्त राज्य अमेरिका बसाइ सरिन् । सन् १९०० देखि १९०७ सम्म उनले न्यु-योर्क शहरमा विभिन्न स्थानमा कुकको काम गरिन्, उनी जहाँ-जहाँ काम गर्थिन्, त्यहाँ-त्यहाँ टाइफाइडको संक्रमण फैल्याउदै गइन् । त्यसरी संक्रमण फैलिएपछि उनी त्यहाँबाट गायव हुन्थिन् ।
सन् १९०६ मा वेस्टर बे भन्ने स्थानका धनी बैंकर चार्ल्स हेनरी वारेनको घरमा मेरीले काम गर्दा दुई हप्ताभित्र परिवारका ११ सदस्य मध्ये ६ जना सदस्यहरुमा टाइफाइड संक्रमण भई अस्पताल भर्ना भए । तर मेरीले यसैबीच फेरि त्यो घर छोडी अन्यत्र काम गर्न थालिन् । सन् १९०६ को अन्त्यतिर वारेनको परिवारले डा. जर्ज सोपर नामका स्यानिटेशन इन्जिनियरलाई टाइफाइड संक्रमणको बारेमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लाउने काम दियो । सन् १९०७ मा सोपरले जर्नल अफ अमेरिकन मेडिकल एसोसिएशनमा मेरी यसको स्रोत भएको तथ्य प्रकाशित गरे । त्यसपछि मेरी सो स्थान छोडी पार्क एभिन्यूमा एउटा पेन्ट हाउसमा कुकको काम गर्न थालिन् । त्यो घरका सदस्य पनि संक्रमित भए र सो परिवारकी छोरीको टाइफाइडको कारण मृत्यु भयो । सो कुरा सोपरले पुन पत्ता लगाएपछि न्यू-योर्क शहरको स्वास्थ्य निरीक्षकले मेरीलाई टाइफ़ाइड वाहक भएकोले नर्थ ब्रदर आइल्याण्डमा तीन वर्षसम्म क्वारेन्टाइनमा राखे । उनको दिशा, पिशाव तथा रगत परीक्षण गरेपछि टाइफाइडका ब्याक्टेरियाहरू भएको पुष्टि भयो । मेरीलाई पित्ताशय हटाउन सल्लाह दिदा पनि उनले त्यस्लाई अस्वीकार गर्दै कुकको काम पनि नियमित गर्ने बताइन् । मेरीलाई सन् १९०८ को जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनको अंकमा साल्मोनेला नामक टाइफ़ाइडको ब्याक्टेरियाले संक्रमण गरेकोले “टाइफाइड मेरी” को उपमा दिइयो जुन नाम अहिले पनि स्वास्थ्य क्षेत्रमा आउँछ । कुकको काम छोडेर अरुलाई टाइफ़ाइड नसार्ने सर्तमा उनलाई क्वारेन्टाइनमा नराखी स्वतन्त्रता दिने निर्णय गरियो ।
पेशा फेर्ने शर्तमा सन् २०१० मा मेरी क्वारेन्टाइनबाट मुक्त भए पश्चात न्यू-योर्क फर्किइन् । त्यसपछि उनले आफ्नो नाम परिवर्तन गरी मेरी ब्राउन राख्दै धेरै वर्ष धोबीको काम गरिन् । तर यसमा कुकको भन्दा कम तलब भएकोले उनी पुन कुकको काम गर्न थालिन् । करीब पाँच बर्षको दौरानमा उनले स्लोआन मेटर्निटी हस्पिटलमा काम गर्दा सन् १९१५ मा पच्चीस व्यक्ति संक्रमित भए र दुई जना मरे । उनी फेरि त्यहाँबाट भागेपनि पुलिसले उनलाई गिरफ्तार गर्यो । मेरीले बाँकी २३ वर्ष नर्थ ब्रदर आइल्याण्डमा क्वारेन्टाइनमा बिताइन् । ६९ वर्षको उमेरमा सन् १९३८ मा उनको निमोनियाको कारण मृत्यु भयो . पोस्टमार्टममा उनको पित्ताशयमा प्रत्यक्ष टाइफाइडका ब्याक्टेरियाहरु भएको प्रमाण फेला पर्यो ।
यसरी उनलाई संयुक्त राज्य अमेरिकामा पहिलो स्वास्थ बाहक ‘एसिम्पटोमेटिक क्यारिएर’ को रूपमा चिनिन्छ, उनी स्वस्थ्य थिइन्, तर उनीसंग टाइफाइडका जीवाणु थिए । यसरी उनीबाट कुल १२२ जना व्यक्तिहरू टाइफाइड संक्रमित भएका थिए, जसमध्ये ५ जना मरेका थिए । तर थाहा नभएका अन्य धेरै संक्रमित र मृत्यु भएको हुन सक्ने बताइन्छ । उनलाई नर्थ ब्रदर आइल्याण्डमा २ पटक गरी २६ वर्ष क्वारेन्टाइनमा राखियो ।
जसरी ‘टाइफ़ाइड मेरी’ले आफू स्वस्थ रहेर धेरैलाई टाइफ़ाइड सारिन् त्यसरीनै कोरोना संक्रमणमा स्वस्थ बाहकहरुले धेरैलाई संक्रमण फैल्याइरहेका हुन्छन् । टाइफाइड भन्दा कयौं गुणा संक्रमित, सजिलै तिब्र गतिमा फैलने कोरोना महामारीमा पनि हेर्दा स्वस्थ देखिने संक्रमण नभएका भनेर ढुक्क भएका ‘एसिम्प्टोमेटिक’ बाट हामी संक्रमित हुने सम्भावना धेरै रहन्छ । चीनको हुबेइ प्रान्तमा यस् किसिमका संक्रमितहरु ठुलो संख्यामा देखा परेको समाचार आइरहेका छन् । यसले कोरोना संक्रमण झनै बढ्न सक्ने भएको छ । एसिम्टोमेटिक कोरोनाका पहिचान गर्न कठिन भएको कारण भोलि संसारका सबै देशमा ठूलो क्षती व्यहोर्नु पर्ने हुनसक्छ । एउटा मात्र ‘एसिम्प्टोमेटिक’ले हजारौ स्वस्थ मानिसलाई संक्रमित गर्ने भएकोले कोरोनाको एसिम्प्टोमेटिक ट्रांस्मिशन रोक्न अति आवश्यक छ ।
त्यसैगरी पोस्ट-सिम्प्टोमेटिकले पनि हामीलाई असर गर्न सक्छ । दक्षिण कोरियामा पहिले कोरोनाभाइरस संक्रमित भएर उपचार गराएपछि निको भइसकेका भनिएका धेरैले अन्यलाई कोरोना भाइरसबाट संक्रमित गरिरहेका छन् । त्यहाँको स्वास्थ्य अधिकारीहरुले भाइरस लुक्ने शरीरको ठाउँ पत्ता लगाउन कठिन भएको बताएका छन् । त्यसैगरी धेरै प्रि-सिम्प्टोमेटिक व्यक्तिबाट अन्य व्यक्तिहरु संक्रमित भएका घटना पनि आइरहेका छन् । अमेरिका, बेलायत र इटाली जस्ता मुलुकमा २५-३० प्रतिशतसम्म कोरोना संक्रमित व्यक्तिहरू ‘प्रि-सिम्प्टोमेटिक ट्रान्समिसन’ बाट भएको पाइएको छ । यसैगरी दक्षिण कोरियामा एकजना सिम्प्टोमेटिक महिलाले ५००० जना मानिसलाई कोरोना संक्रमण गरेका समाचार पनि आएका छन् ।
त्यस्तै परम्परागत रुपमा गरिने कोरोनाभाइरसको टेस्टमा २०-३० प्रतिशत गलत परिणाम आउने सम्भावना रहेको पनि बताइएको छ । क्वारेन्टाइनबाट छाड्ने बेला संक्रमित भएको व्यक्तिको रिपोर्ट गल्तीवश नेगेटिभ आएमा पनि त्यसबाट संक्रमण फैलिन सक्छ । राज्यले कोरोना टेस्ट गर्ने प्रभावकारी किटहरु प्रयोग गरेर वास्तविक संक्रमित पहिचान गर्न नसके त्यसबाट पनि ठुलो दुर्घटना हुन सक्छ । यसतर्फ पनि राज्य सचेत हुनुपर्छ ।
मेरीले अटेर गरी जानीजानी वा रोजगारको लोभमा कयौ मानिसलाई संक्रमित गरेर आखिर २६ वर्ष सम्म क्वारेन्टाइनमा बस्नु-पर्यो । हामी पनि उनले गरे जस्तो जबर्र्जस्ती नगरी आफ्नो साथै आम नेपालीहरुको स्वास्थ्यलाई ध्यान दिदै आफू पनि संक्रमण मुक्त रहौँ र अरुलाइन संक्रमण मुक्त राखौं । घर बाहिर ननिस्कौं । अत्यावश्यक बाहेक सामान खरिद नगरौं । नेपाल सरकार पनि क्वारेन्टाइनमा बसेका सबैलाई परीक्षण गरी वास्तविक संक्रमितको छिटो भन्दा छिटो पहिचान गरोस् । जसरी एउटा सलाईको काटीले हजारौ घरहरु जलाएर ध्वस्त गर्न सक्छ, त्यसैगरी एकजना मात्र कोरोना संक्रमितले हजारौ मानिसमा संक्रमण फैल्याउन सक्छ । तसर्थ जनता तथा राज्य दुवै पक्ष कोरोना संक्रमणबाट बच्न हरेक दृष्टिकोणबाट सतर्क र साबधान हुनुपर्छ ।
(लेखक: ढकाल, सहप्राध्यापक, पू.वि., विराटनगर, हाल जे.एन.यु. मा जनस्वास्थ्य विधामा सोध कार्यमा संलग्न हुनुहुन्छ ।)