लकडाउनका कारण समस्यामा परेकाहरुलाई घर पुर्याइदिन माग गर्दै सर्वोच्चमा रिट


हरेकपल April 12, 2020

काठमाडौं, ३० चैत । लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई घर पुर्याइदिने आदेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा र सञ्जय अधिकारीलगायतले अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा समस्यामा परेका मजदुर, विद्यार्थी र लकडाउनको प्रभावमा घरदेखि टाढा बस्न मुस्किल भएकाहरुको लगत संकलन गरी उनीहरुको कोरोना परीषण गरेर घर पुर्‍याइदिन आदेश माग गरिएको छ । साथै घर जान नसक्ने गरी बिरामी परेका, शारीरिक दुर्बलता भएकालाई भने सुरक्षित र स्वस्थ स्थानमा राख्न पनि माग गरिएको छ ।

रिटकर्ताहरुले कोरोनाको डरका वेला घरबाट टाढा बस्न परेकाहरूलाई मनोसामाजिक परामर्श दिने व्यवस्था गर्न पनि माग गरेका छन् । त्यसैगरी संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न माग गरिएको छ ।