कोरोना संक्रमणका कारण विदेशमा १४ नेपालीले ज्यान गुमाए, ६६५ गैरआवासीय नेपालीमा कोरोना पुष्टि


हरेकपल April 12, 2020

काठमाडौं, ३० चैत्र । कोरोना भाइरस संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १४ पुगेको छ । जसअनुसार हालसम्म बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एकजना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यसबारे जानकारी दिएको हो । संघको स्वास्थ्य समितिका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

जसअनुसार अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अस्ट्रेलियायामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक–एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समितिले विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्यांक संकलन गरेको हो ।