स्वास्थ्यकर्मीसहितका योद्धाहरुको उच्च सम्मानमा १ मिनेट ताली बजाउन पत्रकार महासंघलगायत संस्थाको आह्वान


हरेकपल April 12, 2020

काठमाडौं, ३० चैत । नेपाल पत्रकार महासंघलगायत विभिन्न महासंघ–सञ्जाल र नागरिक संघ–संस्थाहरुले नयाँ वर्षको उपलक्ष्यमा स्वास्थ्यकर्मीसहितका योद्धाहरुको उच्च सम्मानमा १ मिनेट ताली बजाउन सामूहिक आह्वान गरेका छन् ।

उनीहरुले नयाँ वर्षको शुभारम्भसँगै २०७७ वैशाख १ गते बिहान ६ बजे कोरोना संक्रमणविरुद्ध अग्रमोर्चामा लडिरहेकाका स्वास्थ्यकर्मीसहितका योद्धा, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समुदाय स्तरमा खटिएका स्वयंसेवक र लकडाउनको पालना गरिरहेका आमजनसमुदायप्रति उच्चसम्मान व्यक्त गर्न आ–आफ्नो स्थानबाट १ मिनेट ताली बजाउन आग्रह गरेका छन् ।

यसरी आह्वान गर्नेमा पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ नेपाललगायत विभिन्न संघ–संस्था छन् । विभिन्न महासंघ–सञ्जाल र नागरिक संस्थाका प्रतिनिधिबीच ५ मिनेटसम्म नेटवर्क बैठकमार्फत त्यसलाई प्रवाह गर्न पनि आह्वान गरिएको छ ।