कृसु क्षेत्रीका कवितामा कविको सेल्फ पोट्रेइट्


हरेकपल April 13, 2020

कसैको चित्र वा तस्बीर भन्नासाथ त्यो व्यक्तिको दुरुस्त आकृति उतारिएको छायाछवि मस्तिष्कमा आउँछ । तर, राम्रो चित्र हुनका लागि दुरुस्त हुनु एक मात्र विशेषता होइन अर्थात् यही विशेषता मात्र चित्र राम्रो हुनलाई पर्याप्त हुँदैन । कविता होस् वा पेन्टिङ त्यसमा व्यक्ति वा कुनै वस्तुको कलात्मक चित्रणका लागि विषयको जीवन्तता हुनु पनि आवश्यक हुन्छ । व्यक्तिका उत्कण्ठा, व्यग्रता, अनुभूति, आक्रोश वा मनस्थिति हुबहु उतार्न त सम्भव नहुन सक्ला तर तिनको सजीव आभास चित्रमा भयो भने मात्र त्यो वास्तवमा कलात्मक चित्र हुन सक्छ । पोट्रेइट् हुन सक्छ ।

सेल्फ पोट्रेइट्का लागि आवश्यक अर्को सर्वाधिक महत्त्वपूर्ण कुरा हो– इमान्दारिता । कवितामा सेल्फ पोट्रेइट्को अर्थ हो कविले आफ्नो प्रतिबिम्ब अरुसामु राख्नका लागि आफ्नो व्यक्तित्व र अनुभूतिसम्बन्धी तथ्य र सूचनाहरु इमान्दारीपूर्वक खुला गरिदिनु । चराको गीत कृसु क्षेत्रीको कविता कृति हो । यसमा ४२ ओटा फुटकर कविताहरु संकलित छन् । यी कविताहरु सरसर्ती हेर्दा कविको जीवनानुभूति र विश्वदृष्टि अभिव्यक्त भएको छ । यसमा कवि व्यक्ति कतै प्रतिनिधि भएर, कतै निमित्त भएर त कतै द्रष्टा वा भोक्ता भएर प्रस्तुत भएका छन।


कविता भनेको कुनै अनौठो वा अलौकिक विषयको कुनै महान दैवीशक्तिको सिर्जना होइन । यो यतै वरिपरि जोकोहीले भोगेको विषयमा मौलिक दृष्टि मात्र हो त्यसैले कविले भनेको कुरा पाठकलाई घत पर्छ । त्यही कुरा तर त्यस कोणबाट अरुले हत्पती सोच्दैनन् वा सोचेका हुँदैनन् कविले संकेत गरिदिने वा औँलो तेस्र्याइदिने त्यही एङ्गल मात्र हो कविता । त्यसैले साधारण विषयको असाधारण प्रस्तुति र असाधारण विषयको साधारण प्रतिबिम्बन पनि कवितामा सम्भव भएको छ । डोल्पाली सर्वसाधारण थिन्लेलाई कविले कर्मको गीतावाचक कृष्णको छवीमा स्थापित गरिदिएका छन् अर्कातिर स्ट्याचु अफ लिबर्टी र स्वतन्त्रतावादी नेतृ आङ सान सुकीलाई सरल वार्तालापमा भविष्यको उज्यालो र समभाववादी मानवतावादको अपिल गरेका छन्, यो उल्लेखनीय कुरा नहोला तर उल्लेखनीय कुरा उनका यी सबै प्रस्तुतिले पाठकलाई कभिन्स गरेका छन् र हृदयमा झन्कार पैदा गर्न सफल भएका छन् ।

चराको गीत कुनै पंक्षी विशेषको गीत होइन । यो कवि स्वयम्को हृदयको पुकार हो । मानवताका पक्षमा, समानताका पक्षमा, स्वतन्त्रताका पक्षमा र समग्रमा मान्छेका पक्षमा कविका हृदयबाट निस्केको सरगम हो चराको गीत । कवि हृदयको अपिल हो । अर्थात् चराको गीतमा गुञ्जिने अभिव्यञ्जनाको संगिनी रागगाउने चरा कवि स्वयम् हुन् । चराको गीत उन्मुक्तिको गीत हो । यथास्थितिप्रतिको असहमति र विद्रोहको पनि गीत हो ।

चरा पिजडामा रहँदा पनि मुक्तिको कामनामा गीत गाउँछ भन्ने कल्पना शायद यस कृतिको शीर्षकको सार्थकता हो । कृसु क्षेत्री केवल कवि हृदय भएका व्यक्ति मात्र होइनन् उनको व्यक्तित्वका अनेक आयाम छन् । नेपालको परराष्ट्र सेवामा रही कुटनीति सञ्चालनमा क्रियाशील राष्ट्रसेवक अधिकारी हुनुका नाता उनी शिष्टाचार, पदीय दायित्व र कर्तव्यले बाधिएका पनि होलान् तर कुनै पनि क्षेत्रमा देखिने विकृतिमाथि उनी टड्कारै विमति प्रकट गर्छन् । देशभक्ति, मानवीय मूल्य मोह, समानता र सकारात्मक परिवर्तन उनले यथार्थको धरातलमा नै खोजेका छन् त्यसैले उनका अभिव्यक्तिका हर लहरमा आदर्शवाद होइन आदर्श भरिएको पाइन्छ ।

आत्म छविको पृष्ठभूमिमा दर्शनको वैजनी रंगमा विचारको परिस्कृति पहेंलो परिपक्वतामा र जीवनको हरियाली मिश्रित सुनौलो कोलाज कतै भुंमरी जस्तो कतै प्रवाहमय नदीको बहावजस्तो अनुभूत हुन्छ । पानीमा आगो र आगोमा शीतलता देख्न सक्ने कविदृष्टिले यथार्थको पछाडि रहिरहने दार्शनिक कार्यकारणलाई प्रकट गरिरहेको जस्तो प्रतीत हुन्छ । पानी शीर्षक कवितामा उनी लेख्छन् :
पानीलाई सधैँ चिसो र तरल नठान्नू
पानीलाई सधैँ सोझो र सरल नठान्नू
भित्रसम्म छामी हेर
पानीभित्र जहिल्यै आगो बलेको हुन्छ
स्थिरताका विरुद्ध
पानीले जहिल्यै विद्रोह बोलेको हुन्छ
क्रान्तिको गीत
आगोले भन्दा पानीले बढी ओकलेको छ

पानी सभ्यताको इतिहास मात्र होइन गति र परिवर्तनको कारण र प्रतीक दुबै हो । पानी जीवनको आधार पनि हो । जीवनमा केवल शान्ति र शीतलता मात्र हुँदैन, त्यसैले पानीे रङ्हीन होइन पानीको रङ भन्नु जीवनको रङ हो जुन हरियो पनि हुन्छ र निलो पनि हुन्छ । पानी परिवर्तन र गतिको प्रतिक हुनुका नाता यसको रङ रातो पनि हुन्छ र सुनौलो पनि । यस प्रकार दार्शनिक दृष्टि र वैचारिक दृष्टिकोणसहित आएका कविताहरु कविको सेल्फ पोट्रेइटका ब्याकग्राउन्ड कलर हुन् । देशभक्ति, भ्रातृप्रेम, पितृभक्ति, मातृप्रेम, मानवता र मानवीय मूल्य कविको छवीचित्रमा प्रकट भावहरु हुन् ।

कवि र जिम्मेवारी शीर्षक कवितामा कविले मृगशावकरुपि मानवता र प्रेमलाई जतासुकैबाट घेरेर बसेका खतराहरुबाट बचाउनु आफ्नो नैसर्गिक इच्छा र आवश्यकता हो भन्ने बोधलाई कलात्मकता प्रदान गरेका छन् । मृत्यु सँगको साक्षत्कार, बुबा : एक सारथी, आङ, साङ सुकीलाई एउटा पत्र, दुबसु क्षेत्री, नीलो आँसु, धरोधर्म रक्सी लागेको छैन मलाई आदि कविताहरुमा उनका वैयक्तिक जीवनयात्राका अनेकौँ अभिरेखाहरुबाट उनको स्वछविको रुपरेखा आउटलाइन तयार गरेका छन् । यद्यपि त्यस रुपरेखामा पनि अनुभूति र जीवन संवेगहरुको भावभङ्गीहरु विस्मयकारी र रोमाञ्चकतापूर्ण किसिमले कुदिएका छन् । परिवार, घर र बाल्यकाल, मातापिताको योगदान, आफू दाजुभाइहरुको संघर्ष र सफलताका कथा, साथीभाइ, आफन्त र छिमेकी आदि वैयक्तिक जीवनका संरचक अवयवहरु उनको प्रतिबिम्बमा कतै तात्त्विक अभिव्यञ्जना बनेका छन् भने कतैकतै अलंकार र आभूषण जस्ता पनि बनेका छन् । उनको प्रेरणादायक जीवनमा सेल्फ पोट्रेइटपोयट्री त्यसकारण पनि महत्त्वपूर्ण छ, उनले हलुका रुपले चित्रण गरेको आफ्नो आन्तरिक तथा बाह्य व्यक्तित्वको चित्र इमान्दारीमा आधारित छ । पहिचानको खोजीमा शीर्षक कवितामा कवि आफैमाथि हसित व्यङ्ग्यसहित लेख्छन् :

कविता लेख्दा
राजनीति गर्दा
जागिर खाँदा

नाम हुँदा
गुमनाम हुँदा
बदनाम हुँदा

गाउँमा छँदा
सहरमा रहँदा
स्वदेशमा हुँदा
विदेशमा हुँदा

जहिले पनि दुबसुकै भाइको
उपमा लिएर बाँचेको छु
खोइ मेरो आफ्नो नाम
खोइ मेरो आफ्नो पहिचान ?

एक साथ स्वतन्त्रता पनि चाहन्छन् कवि र शान्ति पनि । मानवतावाद भनेको त्यही त हो । परस्पर सम्मान गर्न सक्यो भने मानिस मानिस बिचको हिंसा समाप्त हुन्छ । फरक मतप्रति असहमति र सम्मान एकसाथ प्रकट गर्न सक्यो भने अशान्ति नै रहँदैन । फरकमतप्रतिको असहिष्णुता मानवतावाद, स्वतन्त्रता र शान्तिको प्रमुख बाधक हो । विश्वबन्धुत्वको वकालत गर्ने, मानवीय मूल्यका पक्षमा समानता र सहसम्बन्धको पक्षपोषण गर्ने कवि हृदय आफ्नै देशमा मान्छेले मान्छेलाई मार्ने युद्ध होस् वा शासकीय पद्दति त्यसको विरुद्ध विचारको बुलन्दी गर्ने नै भए ।

काजोल खातुन, स्ट्याचु अफ लिबर्टीमा एक शरणार्थी जस्ता कविताहरुमा जात, धर्म, राजनीति, रंग वा सम्प्रदायका सीमारेखा नाघेर मान्छेका पक्षमा कवि निकै तार्किक, भावुक र वैचारिक रुपमा प्रकट भएका छन् । यस लेखमा प्रखर कवि कृसुको कविता सङ्ग्रह चराको गीतमा उल्लेखित सबै कविताको विहंगम चर्चा गर्नु आवश्यक पनि छैन र संभव पनि । सबै कविताको सप्रसंग व्याख्या गर्नु यस लेखको उद्देश्य पनि होइन । यस कविता कृतिको प्रमुख विशेषता भनेको कविको स्वत्वलाई कलात्मकताका साथ प्रकट गर्नु हो । उनका दृष्टिकोण, विचार र भावना कविको त्यही स्वछविमा भरिएका रंगहरु हुन् ।

कृसु क्षेत्रीका कविताको विशेषता भनेको सरल हुनु मात्र होइन, बरु सरल कवितामा जीवनका जटिलतम् पहलुहरु अभिव्यक्त हुनु हो । जीवन आफैँमा कहिल्यै सरल थिएन र छैन । आज सम्मको मानव सभ्यता भन्नु यही जटिल जीवनलाई सरल बनाउने प्रयत्न बाहेक केही पनि होइन । तर, जीवन सरल हुनुको साटो झन्झन् जटिल हुँदै गइरहेको छ । यस जीवनको एक हिस्सा हो विचार र दर्शन । जुन कहिल्यै अकाट्य र सर्वस्वीकार्य हुन सकेन । यथार्थको यस धरातलमा पाठकहरु कन्भिन्स हुने गरी मौलिक तर्कसहित कविता अभिव्यक्त हुन सक्नु कविको वैशिष्ट्य हुने गर्छ । प्रखर कविताकारिताका पर्याय कवि कृसुको सामथ्र्य पनि यही हो ।

चराको गीत कविको पूर्ण कद देखिने तस्बीर हो । उनको व्यक्तित्वका सबै आयामहरु यसमा प्रकट भए होलान् भन्न त नसकिएला तर जे जति यस कविता कृतिमा प्रकट भएको छ त्यो उनकै व्यक्तित्वको प्रतिबिम्ब हो । उनको व्यक्ति छवि, त्यसको पृष्ठभूमि, चिन्तनभूमि, उत्कण्ठा र दृष्टिकोणले उनको यस छवीलाई अर्थपूर्ण बनाएको छ । वैयक्तिक भएर पनि प्रतिनिधिमूलक, व्यष्टिमूलक भएर पनि समष्टिको निमित्त यस कृतिको कला पक्ष र विचार पक्ष सान्दर्भिक हुनु यसको प्राप्ति हो । यो चित्र त हो तर दुरुस्त उतारिएको सपाट चित्र मात्र होइन । कलामूल्य र जीवन मूल्यले रङ्गिएको यो पोट्रेट कविताको वाचाल नमूना पनि हो ।