वीरगन्जमा चौतर्फी सतकर्ता, ‘ट्रयाक रेकर्ड’ केलाउँदै प्रहरी


हरेकपल April 14, 2020

वीरगन्ज । वीरगञ्जको छपकैयास्थित यातिमखाना (अनाथालय) दारुल यतामा ईस्लामिया मस्जिदमाबस्दै आएका भारतका ३ जना मुस्लिम धर्मप्रचारकमा ‘कोभिड–१९’ संक्रमणको पुष्टि भएसँगै वीरगन्जमा चौतर्फी सतर्कता अपनाइएको छ। संक्रमित भेटिएको क्षेत्रलाई सिल गरेर आवत जावत निषेध गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सिल एरियाको चोक तथा गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। ‘सर्वसाधरणको आवागमनमा र औषधि पसल बाहेक पसल संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ,’ पर्सा कि प्रहरी उपरीक्षक गंगा पन्तले भनिन, ‘संगसंगै हामीले संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजतलास गरेर क्वारेन्टाइनमा पुर्याइरहेको छौं।’

उनले भनेजस्तै छप्कैयाका बिभिन्न टोलहरुमा अहिले सूरक्षाकर्मी परिचालन बढाएर सिल गरिएको छ। यता बजारमा पनि लकडाउनकै अरु दिनहरुको तुलनामा थप कडाइ पारिएको छ। औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ। अत्यन्त जरुरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ। ‘लकडाउन उलंघन गरेर हिडेका सवारी साधनहरुलाई हामीले नियन्त्रणमा लिरहेका छौं, गस्ती बढाइएको छ,’ प्रहरी उपरीक्षक पन्तले भनिन, ‘संक्रमित देखिएका ब्यक्तिहरुको सम्पपर्कमा आएका ६ जनालाई सोमवार हामीले बिभिन्न ठाउँबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा पुर्याएका छौं।’

त्यसैगरी कट्याक्ट ट्रेसिङ र र्‍यापिड टेस्टलाई सँगसँगै अगाडि बढाइएको छ यहाँ। र्‍यापिड टेस्टमा संक्रमितको सम्पर्कमा आएका ५९ जनाको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ। नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमितसंग बढी सम्पर्कमा रहेका ९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदैछ।

कसरी आए भारतीय ?

नेपालमा सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित मुस्लिम समुदायको धार्मिक सम्मेलन सकिएको करिब २ महिनापछि प्रदेश २ का जिल्लाहरुबाट भारतीय नागरिकहरु धमाधाम फेला परेका छन्। पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन्। कसरी आआइपुगे भन्नेतिर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

२ महिना अगाडि नै सप्तरीको सम्मेलनमा आएको ब्यक्ति भएको भए उतिबेलाको संक्रमण २ महिनापछि होइन फागुनकै ३ सातामा देखा परेको हुन्थ्यो भनी चिकित्सकहरु बताउँछन्। ‘नेपालमा आएर उनीहरु संक्रमित भएको हुन सक्दैनन’ एक चिकित्सकले भने। यसी उनीहरु लकडाउनकै समयमा नै नेपाल पसेको आँकलन गरिएको छ। वीरगन्जका नगरप्रमुख विजय कुमार सरावगीले आइतवार बताए अनुसार ति ब्यक्तिहरु १७ दिन अगाडि अर्थात चैत १३ तिर वीरगन्ज आइपुगेको उनीसंग जानकारी आएको छ।

उनीहरु छप्कैयाका र अरु ठाउँका मस्जिदमा समेत पुगेको बताइएको छ। स्थानीय केही धर्मगुरुले उनीहरुको आवास र अरु बन्दोबस्तहरु मिलाएका थिए। धार्मिक अगुवाहरु यि प्रकरणको ढाकछोपमा रहेका छन भने उक्त क्षेत्रका आम मुस्लिम समुदाय संक्रमणको भयले त्रसित छन्। संक्रमित तीन जनालाई नारायणी अस्पतालको आइसोलेसनमा र बाँकी २ दर्जन बढीलाई चिनी कारखानासंगै रहेको सिद्धार्थ उमाविस्थित क्वारेन्टाइनमा राखिएको छ।

चिकित्सक घर नजाने होटेलमै बास

वीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण पुष्टि भएसँगै उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुको लागि छुट्टै बासको ब्यवस्था गरिएको छ। उनीहरु अब घरमा होइन अस्पताल प्रसाशन तथा वीरगन्ज महानगरपालिकाको संयुक्त पहलमा ब्यवस्था गरिएको एउटा होटेलमा बस्ने भएका छन्।

उनीहरुको स्वास्थ्यको दृष्टिकोणले र उपचारमा खट्नेका परिवारका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै छुट्टै बास बस्ने ब्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन कुमार उपाध्यायले बताएका छन्। महानगरपालिका कार्यालयले उपलब्ध गराएको आदर्शनगरस्थित कन्ट्री इन होटलमा चिकित्सक तथा स्वास्थ्यकर्मीको बस्ने र खाने ब्यवस्था मिलाइए छ। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीकले स्वस्थ्यकर्मी डाक्टर, नर्स, पारामेडिकल स्टाफहरुको लागी सुरक्षीत क्वारेन्टिनको व्यवस्था गर्न घर वा होटल भाडामा उपलव्ध गराउन सार्वजनिक अह्वान गरेका थिए। कन्ट्री इन होटलका संचालक हरी पन्तले होटेल उक्त प्रयोजनका लागि दिएका छन्। होटेल तथा पर्यटन ब्यवसायि संघ पर्साका अध्यक्ष समेत रहेका पन्तले एक महिना अगाडि नै कोरोना संक्रमणको बिशेष समयमा आफु आफ्नो अर्को होटेल क्लासिक क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए। उक्त होटेल सानो भएपछि कन्ट्री इन रोजिएको हो । नागरिक दैनिकमा खबर छ ।