यसरी घरमै पढाइ


हरेकपल April 14, 2020

काठमाडौं । घेराहरूको योग हो, चक्रव्यूह हो, रणनीति हो– सिपाहीको प्रतिरक्षात्मक तरिका । महाभारतको कथाले त्यही भन्छ । अभिमन्यु तोड्न जान्छन् । कथा त्यसरी बढ्छ । तोड्छन् पनि । फर्कन जान्दैनन् । त्यहीं मारिन्छन् । कथा त्यत्ति हो ।

सञ्चारको भाषामा हामी त्यस्तै चक्रव्यूहमा छौं । पहिलो घेरामा विपन्न बालबालिका छौं । तिनका अभिभावक छौं । तिनका घरमा रेडियो छैन । टीभी छैन । कम्प्युटर छैन । फोन छैन । अनलाइन सुविधा छैन । दोस्रो घेरामा रेडियोवाला छौं । तेस्रो घेरामा टीभीवाला छौं । चौथो घेरामा फोनवाला छौं– ल्यान्डलाइनवाला, मोबाइलवाला । पाँचौं घेरामा नेटवर्किङ नभएका कम्प्युटरवाला छौं । छैटौं घेरामा अनलाइनवाला छौं– डाटा चलाउने, निश्चित घण्टाका लागि अनलाइन सुविधा लिने, चौबिसै घण्टा अनलाइन सुविधा पाउने । सातौं घेरामा सबै सुविधा पाउनेहरू छौं । हर घेरामा शिक्षा पुर्‍याउने कसरी रु परीक्षा लिने कसरी ? शिक्षकरप्राध्यापक, कर्मचारी, नेतृत्व, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति आदिको तयारी गर्ने कसरी? आधुनिक सञ्चारका साधनले कक्षाकोठाको काम गर्ने कसरी ? गराउने कसरी रु यो लेखले यही कुरा गरेको छ ।

घेरैपिच्छे पढाउने तरिका

पहिलो घेराका विद्यार्थीले पढ्ने प्याकेज खोज्छन् । आजको गणितको पाठ । भाषाको पाठ । यसको अर्थ हो, अहिलेको पुस्तकलाई दैनिक पाठ योजनाका रूपमा तयार पार्नुपर्छ । भातको गाँसजस्तो । विद्यार्थीलाई रुटिन दिनुपर्छ । त्यही रुटिनअनुसार विद्यार्थीले घरमै पढ्छन् । घरमा पढ्न नसक्ने वा नपाउने बालबालिकालाई छिमेकमा आलोपालो भेला गरी पढाउनुपर्छ– विपन्नको हकमा, बाल कामदारको हकमा र सहाराहीनको हकमा । त्यसो गर्दा शिक्षक तथा विद्यार्थी बसाइको कोरोना दूरी कायम गर्नुपर्छ । यो शिक्षकको काम हो । उसैले गर्नैपर्छ । शिक्षक चाहिने समूह पनि त्यही नै हो । स्थानीय बस्तीमा शिक्षक छैन भने सम्भाव्य शिक्षक खोज्नुपर्छ । नेपाली अर्थको स्वयंसेवी । भृत्यज स्वयंसेवी । पुर्खाको शब्दमा पैसा लिएर पढाउने ‘स्वयंसेवी’ ।

यस्ता शिक्षकले चार तरिका अपनाउन सक्छन् । पहिलो कोरोना दूरी कायम गरेर नियमित तरिकाले पाठ पढाउने । दोस्रो विशेष प्याकेज पढाउने । तेस्रो पढाइसँग सम्बन्धित हुने गरी दैनन्दिनसँग जोडिएका कुरा पढाउने । चौथो जिम्मा लिएका विद्यार्थीलाई घरायसी शोध गरी पाठमा जोड्ने । कुन तरिका अपनाउने भन्ने कुरा शिक्षकको तागतमा भर पर्छ । प्राध्यापकको तागतमा भर पर्छ । प्याकेज भने सम्बन्धित शिक्षक तथा प्राध्यापकले नै बनाउनुपर्छ ।

दोस्रो घेराका विद्यार्थीलाई रेडियोले पढाउनुपर्छ । रेडियोका पाठहरू पहिलो घेराकै हुन सक्छन् । शिक्षकको कामचाहिँ रेडियोले गर्छ । गर्नुपर्छ । एकोहोरो रेडियो हुन सक्छ । दोहोरो रेडियो हुन सक्छ । एकोहोरो रेडियोले विद्यार्थीको प्रश्न जम्मा गरेर पछि उत्तर दिन्छ । दोहोरो रेडियोले तत्कालै उत्तर दिन्छ । यसका निम्ति शिक्षक महासंघ तथा प्राध्यापक महासंघ जिम्मेवार हुनुपर्छ । पहल उनीहरूकै हुनुपर्छ । रेडियो नेटवर्कवालाहरूसँग सहकार्य गर्न । लगानी आवश्यक भए सरकार गुहार्नुपर्छ– स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार । यो घेराको शिक्षक सहजकर्ता हो, परिचालक हो । यो नयाँ भूमिकामा शिक्षक तयार पार्ने काम शिक्षक महासंघकै हो । प्राध्यापक महासंघकै हो । स्थानीय सरकारको तहमा स्थानीय शिक्षक महासंघको हो । क्याम्पस तहमा प्राध्यापक संघको हो । प्रदेश सरकारको तहमा प्रदेश शिक्षक महासंघको हो । संघीय सरकारको तहमा संघीय महासंघको हो । शिक्षकको हो र प्राध्यापकको हो ।

तेस्रो घेराका विद्यार्थीलाई टेलिभिजनले पढाउनुपर्छ । यसका सामग्री मिदासमा छन् । कुल्यावमा छन् । शिक्षा मन्त्रालयकै पाठ्यक्रम विकास केन्द्रमा छन् । गैसस तथा अगैससमा छन । ती सामग्री बटुल्ने काम शिक्षक महासंघको हो । प्याब्सन तथा एनप्याब्सनको हो । टेलिभिजनको नेटवर्कसँग सहकार्य गर्ने काम पनि तिनैको हो । लाग्ने खर्चचाहिँ सरकारसँग माग्नुपर्छ । तीनै तहको सरकारसँग । यो घेराका विद्यार्थीलाई बेलाबखत संवाद गर्ने केही शिक्षक भए हुन्छ । यसका लागि टेलिभिजन नेटवर्कले कम्युनिटी टेलिभिजनको पहल गर्नुपर्छ । आलोपालो गरी हेर्न पाउने टेलिभिजन । कोराना दूरी कायम गर्ने टेलिभिजन । पाठ्यसामग्री उत्पादन गर्न बजारलाई लगाउनुपर्छ । पेसेवार तथा स्वेच्छाले काम गर्ने सिकारु (अमेचर) युवालाई यो काममा लगाउनुपर्छ । अहिले पनि टेलिभिजनहरूले यो काम गरेकै छन् । गराइरहेकै छन् । केवल विषयान्तर गर्नुपर्छ । लगानी स्थानीय, प्रदेश तथा संघीय सरकारसँग लिनुपर्ने हुन्छ ।

चौथो घेराका विद्यार्थीलाई टेलिफोनले पढाउनुपर्छ । अहिले एकोहोरो कोरोना पढाइरहेछ, अब पाठ पढाउनुपर्छ । पढाउने पाठ सहज छ । फलानो सिनेमा हलमा यो सिनेमा छ भनेजस्तो । फलानो कक्षाको फलानो विषयको फलानो पाठ भने हुन्छ । पाठ बनाउने काम विद्यालयको हकमा शिक्षक महासंघको हो । क्याम्पसको हकमा प्राध्यापक महासंघको । निजी विद्यालय तथा क्याम्पसको हकमा तिनकै व्यवस्थापन समितिको र लगानीकर्ताको । उनीहरूले नै शिक्षक तथा प्राध्यापकलाई परिचालन गर्नुपर्छ । किनकि विषयगत विज्ञ तिनै हुन् । हुनु पनि पर्छ । फेसबुक चलाउने शिक्षक तथा प्राध्यापकले अर्को तरिका गर्नुपर्छ । अहिले पनि उनीहरूले फेसबुक चलाएकै छन् । कसैले डाटाबाट । कसैले नेटवर्कबाट । त्यस्ता शिक्षक तथा प्राध्यापकले विद्यार्थीको फेसबुक समूह बनाउनुपर्छ । अहिले पनि केही शिक्षक तथा प्राध्यापकले त्यो काम गरिरहेका छन् । विद्यार्थीले पनि त्यस्तो पढाइमा मज्जा मान्न थालेका छन् । स्कुल, कलेज जानेभन्दा यस्तो पढाइ पो रमाइलो रहेछ भन्ने महसुस गर्न थालेका छन् । यसैले अब शिक्षक तथा प्राध्यापकले यो कामलाई संस्थागत गर्नुपर्छ । त्यो उनैको जिम्मेवारी हो । बरु टेलिफोन प्रयोग गरेबापत लाग्ने रकम पालिकाहरूसँग मागे हुन्छ । प्रदेश तथा संघीय सरकारसँग मागे हुन्छ ।

पाँचौं घेराका विद्यार्थीलाई अफलाइन सामग्रीमार्फत पढाउनुपर्छ । त्यसको सीडी÷डीभीडी वा पेनड्राइभ चाहिन्छ । अहिले उपलब्ध सामग्रीबाटै यो काम थाल्नुपर्छ । यो कामको जिम्मा विषय शिक्षकको हो । उसलाई परिचालन गर्ने काम शिक्षक महासंघको हो । प्राध्यापक महासंघको हो । प्याब्सन, एनप्याब्सनको हो । लगानीकर्ता भने फरक–फरक हुन सक्छन्– स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकार, विद्यार्थी शुल्क, अभिभावकको सहयोग ।

छैटौं घेराका विद्यार्थीलाई अनलाइनमा पढाउनुपर्छ । ती सुविधाभोगी हुन् । एक त सहरका, नभए पनि सहरकै रसास्वादन गर्न पाएकाहरू । तिनलाई नियमित कक्षा चलाउनुपर्छ । तिनका लागि अहिलेकै पाठ्यसामग्री भए हुन्छ । कक्षा मात्रै भर्चुअल हो– भाइबरमा हो, म्यासेन्जरमा हो, स्काइपमा हो । बजारमा अनेकौं सफटवेयर छन् । निस्शुल्क पाइने, थोरै पैसाले पाइने– तिनलाई उपयोग गर्नुपर्छ । तिनका निम्ति स्कुल, कलेज धाउनै पर्दैन । स्कुल, कलेज तिनकै घरमा छन् । आउँछन् । त्यस्ता स्कुल, कलेजमा रेकर्ड गरेर पछि पढे पनि हुन्छ । तत्काल पढे पनि हुन्छ ।

सातौं घेराका विद्यार्थीलाई जुनसुकै माध्यमबाट पनि पढ्न पाउने प्रबन्ध गर्नुपर्छ । रुचि विद्यार्थीको । उसका निम्ति माथिका कुनै पनि माध्यमका सामग्रीहरू उपयोगी हुन्छन् । विधि उपयोगी हुन्छन् । खालि ऊ जानकार भए हुन्छ । सुविधा तथा रहरअनुसार विद्यार्थीले ती सामग्री प्रयोग गर्न पाउँछन् । शिक्षक र प्रविधिको प्रयोग गर्न पाउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।