विदेशमा रहेका ७७ प्रतिशत नेपाली नेपाल फर्किन आतुर : गैरआवासीय नेपाली संघ


हरेकपल April 14, 2020

काठमाडौं, २ वैशाख । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)मार्फत उनीहरुले घर फर्किन इच्छा जाहेर गरेका हुन् ।

एनआरएनएले आइतबारदेखि हेल्पलाइन सुरु गरेको छ । सो हेल्पलाइनमा फोन गर्नेमध्ये ७७ प्रतिशतले नेपाल फर्किनका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले जनाएको छ । सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको र कतिपयले कम्पनीबाट राजीनामा दिएर नेपाल जान तयारी अवस्थामा रहेको देखिएको छ । विदेशमा रहेका नेपालीका अभिभावकले पनि आफ्ना छोराछोरीलाई तत्काल नेपाल फर्काउन सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ ।

संघका अनुसार भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाणा, नयाँ दिल्लीलगायत स्थानमा रहेका नेपालीहरु खान–बस्नसमेत नपाएर अलपत्र परेका छन् । त्यसैगरी यूएई, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युकेलगायत देशबाट पनि संघसमक्ष नेपालीहरुले आ–आफ्ना समस्या राखेका छन् ।