सीमाबाट जोखिम, कहाँ छन् ५२ हजार ?


हरेकपल April 15, 2020

जनकपुरधाम । कोराना भाइरस (कोभिड—१९) का चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक) कोरोना संक्रमित भेटिए। त्यसको भोलिपल्ट नै रौतहटको इशनाथ नगरपालिका—५ मोतीपुरका १९ वर्षीय किशोरमा पनि यो भाइरस रहेको पुष्टी भयो।

१६ दिनअघि दिल्लीबाट फर्किएका ती युवक एक दिन घरमै बसेका थिए। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएपछि उनी औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसे।

उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। संक्रमित युवाको घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्। उनी अन्य कतिजनाको सम्पर्कमा आए भन्ने यकिन हुन सकेको छैन।

प्रदेश २ मा कोरोना संक्रमणका यी घटनाले सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ। दिल्लीको नजामुद्दिन मरकजमा तबलिगी जमातमा सहभागी भएका जमातीहरू सीमा नाकामा लगाइएको प्रतिबन्द्वलाई छिचोलेक कसरी नेपाल छिरे भन्ने प्रश्न उठेको छ।

पर्सामा भेटिएका तीनजना जमाती नेपालमा आएर पछिल्लो ९-१० दिनसम्म मस्जिदमा बसेका थिए। उनीहरूसँगै मस्जिदमा २४ जना भारतीय मुस्लिम जमाती बस्दै आएका थिए। घटनापछि छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट २६ जनालाई नियन्त्रणमा लिइए पनि यिनीहरू नेपालको मस्जिदमा लकडाउनको सबै नियम तोडेर बस्नु नै चुनौतिपूर्ण बनेको छ।

४३१ किलोमिटर भन्दा बढी खुल्ला सीमा क्षेत्र रहेको यो प्रदेशमा कहीँकतैबाट प्रहरीलाई झुक्याएर सर्वसाधारणले पस्न पाउने सम्भावना प्रबल छ। पर्सा जिल्लामा १०७ किलोमिटर खुल्ला सीमा क्षेत्र छ। वीरगन्ज, भिस्वा, ठोरी नाकाबाट नेपाल छिर्ने क्रम लकडाउनको बेला पनि रुकेको थिएन्। चैत्र महिना भित्र मात्रै भारतबाट ३३९ जना नेपाली र २९ जना भारतीय जिल्ला छिरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यी २९ जना भारतीयमध्ये नै ३ जना संक्रमित हुन्।

त्यसैगरी रौतहट जिल्लामा लकडाउन सुरु भएदेखि हालसम्ममा ५१ हजार २ सय जना भारत हुँदै नेपाल छिरेका छन्। धनुषामा भने यो संख्या ७३९ रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्तबहादुर राई बताउँछन्।

महोत्तरीको नाका भइ ९६ जना मात्रै नेपाल छिरेको तथ्यांक जिल्ला प्रशासन कार्यालयको छ।नेपाल छिरेका सबैलाई हाल क्वारेन्टाइनमा राखिएको सीडीओ सूर्यबहादुर खत्रीले बताए।

बारामा १२५ जना भारतीय नाका हुँदै जिल्ला छिरेका छन् भने सर्लाहीमा यो संख्या ६१ छ। सिरहामा भने लकडाउन अवधिभर कसैलाई पनि नाकाबाट छिर्न नदिइएको र चोरबाटो भएर नेपाल प्रवेश गर्नेको पनि जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म सिरहामा ३ जना मात्रै यो अवधिमा भारतबाट नेपाल प्रवेश गरेको जनाइएको छ। सप्तरीमा भने नाकाबाट छिर्नेको कुनै रेकर्ड नरहेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताएका छन््। पालिकाहरूबाट रेकर्ड माग्दा नदिएपछि आफूहरूसँग कुनै तथ्यांक नरहेको खनालले बताए।

५२ हजार भन्दा बढीको संख्यामा भारत र अन्य मुलुकबाट लकडाउन अवधिमा प्रदेश २ छिरे पनि हाल १ हजार २० जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। प्रदेशभर १६० क्वारेन्टाइनमा ३२८५ बेड क्षमता छ। तर, यसको एक चौथाई पनि क्वारेन्टाइनमा बसेका छैनन्। अन्नपूर्ण पोष्टमा खबर छ ।