अर्थमन्त्री खतिवडा छोरालाई भेट्न सनसिटी अपार्टमेन्ट नगएको सचिवालयको भनाइ


हरेकपल April 15, 2020

काठमाडौं, ३ चैत । सनसिटी अपार्टमेन्टमा चैत ८ गते आन्तरिक समिति गठनका लागि निर्वाचन भएको र त्यसमा निर्वाचित छोरा तिलक खतिवडालाई बधाई दिन अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा त्यहाँ पुगेको भन्दै सञ्चारमाध्यममा छापिएका खबरको उनको सचिवालयले खण्डन गरेको छ ।

उक्त समाचारलाई खण्डन गर्दै अर्थमन्त्रीको सचिवालयले भनेको छ, ‘पछिल्ला समयमा उहाँले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन, उहाँ निवास, सिंहदरबार र बालुवाटारमा मात्र काममा व्यस्त हुनुभएको छ ।’

मन्त्री खतिवडा मुटुको बिरामी भएको र स्वास्थ्यका विषयमा निकै सजग रहेको भन्दै मन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले निर्वाचित समितिलाई बधाई दिन गएको विषयमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

खतिवडाका छोरा तिलक सनसिटीका आन्तरिक व्यवस्थापन समितिको सचिवमा निर्वाचित भएका थिए । सो पदमा निर्वाचित भएपछि बाबु–छोराबीच भेटघाट भए–नभएको बारे भने सचिवालयले केही बताएको छैन ।