खुला सिमानामा सुरक्षाकर्मी परिचालन गरी आवत–जावतमा कडाइ गर्न राजपाको माग


हरेकपल April 15, 2020

काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले लकडाउनको समय–सीमासम्बन्धी निर्णयको स्वागत गरेको छ । उनले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई अझ प्रभावकारी बनाउन केही सुझाब पनि दिएका छन् । 
                              
यो महामारीबाट जोगिन सिंगो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै राजपाले लकडाउनको नियम जिम्मेवारीका साथ पालना गर्न सबैलाई अपिल गरेको छ ।  

लकडाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरी हजारौँको संख्यामा सर्वसाधारण नागरिक आ–आफ्नो जिल्लातर्फ गैरहेको र त्यसले विभिन्न ठाउँमा झडपको स्थिति सिर्जना भएको भन्दै यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्ने सुझाब दिएको छ ।

उपत्यकालगायत देशको विभिन्न भूभागमा फसेका नागरिकलाई खान बस्न गाह्रो भएको अवस्थामा सरकारले बारम्बार निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख छ । 

राजपाले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढिरहेकाले खुला सिमानामा अझ निगरानी बढाउनुपर्ने र सुरक्षाकर्मी परिचालन गरी आवत–जावतलाई कडाइका साथ रोक्न पनि माग गरेको छ ।

देशका विभिन्न भूभागमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थसामग्री पाउन नसकिरहेको अवस्थामा प्राथमिकताका साथ तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सरकारलाई सो पार्टीले सुझाब दिएको छ ।