जिप्रका काठमाडौंले मृत्यु संस्कारबाहेकमा पास नदिने


हरेकपल April 15, 2020

काठमाडौं, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास नदिने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार लकडाउन प्रभावकारी पार्न बुधबारदेखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको हो ।

अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

यसअघि प्रशासनले मंगलबारबाट लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यसअघि पहेँलो रङको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था मिलाएको छ ।