पिपिई जोगाउन टेकुका डाक्टर र नर्स २४सै घन्टा ड्युटीमा


हरेकपल April 16, 2020

काठमाडौं । देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरूलाई आठ–आठ घन्टामा फेर्ने पिपिई छैन ।

अहिले देशमा सबैभन्दा बढी सुनिएको शब्द हो पिपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण । तर, यो देशमा सबैभन्दा बढी अभाव पनि त्यसैको छ । त्यसैले कोरोना उपचारका लागि समर्पित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स्वास्थ्यकर्मी २४ घन्टा ड्युटीमा खटिएका छन् ।

टिम नयाँ पत्रिका टेकु अस्पताल पुग्दा डा। श्रवणकुमार मण्डल स्वास्थ्यकर्मी र कर्मचारीका लागि दिउँसोको खाजा व्यवस्थापन गर्न तल्लीन थिए । उनीहरूको खाना, खाजा अस्पतालमै हुन्छ, दिनरात अस्पतालमै बित्छ ।

नेपालमा कोरोना संक्रमण देखिनुअघि अस्पतालका स्वास्थ्यकर्मी बिहान, बेलुका र राति गरेर तीन सिफ्टमा काम गर्थे । ‘तर, अहिले हामी २४सै घन्टा ड्युटी गरिरहेका छौँ । २४ घन्टे ड्युटीले पिपिई जोगाएको छ,’ डा। मण्डलले भने, ‘सिफ्ट फेर्‍यो भने हरेक सिफ्टका स्वास्थ्यकर्मीलाई नयाँ पिपिई चाहिन्छ । तर, २४ घन्टा एकजनाले ड्युटी गर्‍यो भने एउटा मात्र पिपिईले पुग्छ, किनकि हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनुपर्ने चुनौती छ ।’

अस्पतालमा अहिले ३९ जना डाक्टर खटिएका छन् । आकस्मिक कक्ष, फिभर क्लिनिक, क्वारेन्टाइन, आइसोलेसन र आइसियूजस्तो व्यस्त सेवामा उनीहरू अथक रूपमा खटिरहेका छन् । पिपिई मात्र होइन, मास्क पनि जोगाउनुपर्ने आवश्यकता भएको बताउँछिन् डा। सृष्टि नेपाल । आकस्मिक कक्षमा खटिएकी डा। नेपाल भन्छिन्, ‘हामीसँग पिपिई मात्र होइन, मास्क पनि पर्याप्त छैनन्, त्यसैले एकैजनाले लामो ड्युटी गरेर पिपिई र मास्क जोगाउने निर्णय गरेका हौँ ।’

२४ घन्टाको ड्युटीपछि स्वास्थ्यकर्मीले एक दिन आराम गर्न छुट्टी पाउँछन् । तर, जाने कहाँ रु घरमा जान, परिवारसँग घुलमिल गर्न उनीहरू डराउँछन् । त्यसमाथि घरभाडामा बस्ने डाक्टर र नर्सलाई घरबेटीले निषेधको मनोविज्ञान सिर्जना गरिसकेका छन् । त्यसैले कतिपय स्वास्थ्यकर्मी घर नगई अस्पतालमै बसिरहेका छन् ।

डा। मण्डल घर नगएको २७ दिन भयो । मैतिदेवीमा भाडामा बस्ने डा। मण्डल भन्छन्, ‘स्टोनले आमाको पिसाबनली ब्लक भएकाले पाइप हालिएको छ । अप्रेसन गर्नुपर्ने थियो । भाउजू पनि गर्भवती हुनुुहुन्छ । परिवारको हेरविचार गर्नुपर्ने यो वेलामा घर जानै सकेको छैन ।’ उनी धेरैजसो अस्पतालमै बस्छन्, कहिलेकाहीँ भाइको डेरामा जान्छन् ।

‘यहाँ काम गर्ने सबैजसो स्वास्थ्यकर्मीलाई यस्तै समस्या छ । कतिपय घरबेटी सीधै बोल्छन्, कतिपयले मनोवैज्ञानिक दबाब दिन्छन्, त्यसैले साथीहरू घर जान मन गर्दैनन्,’ उनी भन्छन् ।

त्यसो त कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू आफूलाई र आफूबाट अरूलाई संक्रमण नफैलियोस् भनेर सचेत पनि छन् । आइसोलेसन डिर्पाटमेन्ट इन्चार्ज नर्स बेली पौडेल भन्छिन्, ‘म घरमा पनि छुट्टै कोठामा बस्छु । घर जाने समयमा अस्पतालमै नुहाएर जान्छु, फेरि घर पुग्नेबित्तिकै पनि नुहाउँछु । परिवारसँग घुलमिल गर्दिनँ ।’

संक्रमणबाट जोगिन अस्पतालको गेटैमा ‘डिसइन्फेक्सन’ छर्किने व्यवस्था छ । तैपनि घर जाने स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । नर्स पौडेल भन्छिन्, ‘घरमा रोगी मान्छे । बुढा र बच्चा भएका साथीहरू त यतै बसिरहनुभएको छ । घर जाने स्वास्थ्यकर्मी पनि छुट्टै कोठामा बस्नुभएको छ ।’

आकस्मिक कक्षकी डा। नेपाल पनि घर जान्छिन्, तर परिवारसँग अलग्गै बस्छिन् । भन्छिन्, ‘छुट्टै कोठामा बस्छु, खान्छु । परिवारका सदस्य र छिमेकीसँग भेट्दिनँ, आफ्ना सरसामानहरू छुट्टै राखेकी छु ।’

संक्रमणको डरले मात्र होइन, आपत्कालीन अवस्थामा सहज होस् भनेर अधिकांश स्वास्थ्यकर्मीलाई टेकुपरिसरमै बस्न आग्रह गरिएको बताउँछन् अस्पतालका निर्देशक डाक्टर सागरकुमार राजभण्डारी । उनी भन्छन्, ‘उहाँहरूलाई घर जान अप्ठ्यारो पनि छ, फेरि आवश्यकता परे तत्कालै काममा खटाउन सकियोस् भनेर हामीले डाक्टर तथा नर्सलाई सकेसम्म यही परिसरभित्र बस्न भनेका छौँ ।’

त्यसो त स्वास्थ्यकर्मीलाई पनि उमेर, स्वास्थ्यअवस्था र परिस्थितिअनुसार वर्गीकरण गरेर उपचारमा खटाइएको डा। राजभण्डारी बताउँछन् । ‘आफैं पनि कुनै रोग नभएका र तुलनात्मक रूपमा युवा स्वास्थ्यकर्मीलाई हामीले फर्स्ट लाइनमा खटाएका छौँ । कुनै रोग भएका, अलिक वृद्ध र परिवारमा दीर्घरोगी भएका स्वास्थ्यकर्मीलाई हामीले सेकेन्ड लाइनमा खटाएका छौँ,’ उनले भने । नयाँपत्रिका दैनिकमा खबर छ ।