कोरोनाबाट यसकारण नआत्तिनुहोस्


हरेकपल April 16, 2020

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी फर्किएको एक सातामा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीलाई सम्बोधन गर्न टेलिभिजन पर्दामा देखिए। उनले सुरुमै भने, ‘आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरूसामु उपस्थित भएको छु। यति खेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुक यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन। तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं।’

त्यस दिन अर्थात् चैत ७ गतेसम्म देशमा एक जना संक्रमित थिए। त्यो संख्या बढेर अहिले १६ पुगेको छ। प्रधानमन्त्रीले भनेजस्तो ‘जोखिमबाट ढुक्क नहुने’ संकेत देखिन थालेको छ। त्यही भएर सर्वसाधारणमा त्रास बढ्दो छ। तर, नआत्तिनुहोस्– उपचार सफलता र नियन्त्रण सुझबुझका हिसाबले हाम्रो देश संसारमै गनिने अवस्थामा छ।

संक्रमित संख्या १८ भएको जिम्बावेमा ३ र बेलिजमा २ जनाको ज्यान गएको छ। नेपालसरह १६ संक्रमित भएको मालाबीमा २ जनाको मृत्यु भएको छ। ७ संक्रमित भएको मौरितानियामा १ जना बितेका छन्। खुसीको कुरा, स्वनिर्मित व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट– पीपीई० लगाएर पनि नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीले प्रभावकारी उपचार सेवा दिइरहेका छन्। साथमा आफूलाई पनि संक्रमणबाट जोगाइरहेका छन्।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले ठीक एक महिनाअघि एउटा दैनिकमा लेख लेखेका थिए। त्यसमा भनेका थिए– ‘नेपालमा कोरोना पुष्टि भएका पहिलो संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अगाडिसम्म उनको नमुना परीक्षणको नतिजा आइसकेको थिएन। उनलाई उपचार गर्दा विशेष सुरक्षा कवच (पीपीई) पनि लगाइएको थिएन। तर पनि चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोरोना सर्न पाएन। उनका कुरुवा पनि सर्नबाट जोगिए।’

अर्थात्, कोरोना भाइरस भनेर नचिनी पहिलो उपचार पूरा भयो। तर, कसैलाई केही भएन। यसको अर्थ– हाम्रा चिकित्सक सुरक्षित उपचारमा निपुण छन्। ढुक्क हुने एउटा आधार यो पनि हो। साथमा सरकारले कोरोना नियन्त्रण÷उपचारकै लागि भौतिक पूर्वाधार थपेको वा तयार गरेको छ। जनशक्ति परिचालन बढाएको छ। सचेतना विस्तार गरेको छ। लकडाउनमा नागरिकको अन्तरमनबाट साथ–सहयोग छ।

‘मानसिक एवं भौतिक रूपमा र जनशक्तिका हिसाबले हामी तयारी अवस्थामा छौं’, नोभल कोरोना रोेग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सरकारले केही गरेको छैन भन्नु कि नबुझेको हो कि पूर्वाग्रह हो। यत्रो महामारी आयो, सरकारले के गर्नुपथ्र्यो । ’

उच्चस्तरीय समितिका सदस्य शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समुदायमा कोरोना फैलिन दिनुअघि नियन्त्रण गर्ने सरकारको मुख्य जोड रहेको बताए। ‘विपद् विश्वस्तरको बन्दै गएको छ। हामीकहाँ पनि यो छिरेको छ’, मन्त्री पोखरेलले भने, ‘यसलाई जनस्तरमा जान रोक्ने पहलमा छौं र सफल हुँदै गइरहेका छौं। यससँगै हाम्रो प्रणाली निर्माण हुँदै गएको छ।’

उनले नेपाली समाजमा नकारात्मकता हाबी भएको उल्लेख गर्दै भने, ‘बाहिर रहेका नेपालीलाई ल्याउनु भनेको भाइरस भित्र्याउनु हो। बरु जहाँ छन् त्यहींका सरकारसँगको समन्वयमा सुरक्षित बन्दोबस्त गरिनुपर्छ।’

नेकपा महासचिव विष्णु पौडेलको हेराइमा सरकारले लिएका निर्णय र चालेका कदम प्रभावकारी छन्। ‘कोभिड–१९ सिंगो विश्व र मानव जातिका लागि चुनौती बनेको छ। यस्तो विशिष्ट अवस्था, खुला सिमाना, आर्थिक अवस्थाजस्ता पक्षलाई हेर्दा प्रकोप नियन्त्रणमा जे–जति काम भएको छ, सन्तोषजनक छ’, महासचिव पौडेलले भने।

उनका अनुसार लकडाउनको प्रभावकारी निरन्तरता, सीमा र हवाई सेवा बन्द कायम राख्ने हो भने यो जोखिमबाट राहत मिल्न सक्छ। ‘जोखिम त अवश्य छ। यसमा सरकार, सबै राजनीतिक दल, नागरिक समुदाय एकताबद्ध भएर लागेको अवस्था छ। यसले कोरोनाविरुद्ध युद्धमा बल पुगेको छ’, उनले भने।

नेकपाकै एक नेताका अनुसार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण भर्खरै गरेर आरामकै चरणमा भए पनि प्रधानमन्त्री ओली कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सक्रियतापूर्वक अग्रसर भइरहेका छन्। ‘उच्चस्तरीय समितिका बैठक नियमित बस्ने, आवश्यकताअनुसार मन्त्रिपरिषद् डाँक्ने र तत्काल निर्णय लिने काम भइरहेको छ’, ती नेताले भने, ‘समयमा भएको लकडाउन र त्यसको निरन्तरता सरकारको विवेकसम्मत निर्णय हो । अन्नपूर्ण पोष्टमा खबर छ ।