विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश फकाउने तयारी थाल्नू : सर्वोच्च अदालत


हरेकपल April 16, 2020

काठमाडौ, ४ वैशाख । सर्वोच्च अदालतले विदेशमा नेपाली कामदारलाई स्वदेश फकाउने तयारी थाल्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विनाभेदभाव, विनास्वेच्छाचारी तरिकाले सर्त बन्देजसहित फिर्ता ल्याउने पहल गर्न आदेश दिएको हो । सर्वोच्चले परराष्ट्र मन्त्रालयलाई यसका लागि आवश्यक समन्वय गर्न आदेश जारी गरेको छ ।

अधिवक्ता सोमप्रसाद लुइँटेलले यसबारे सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले वैदेशिक रोजगारमा गएर जोखिमपूर्ण अवस्थामा बसेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सरकारलाई आदेश दिएको छ ।

आदेशमा कोरोना महामारी फैलिएका मुलुकमा रोजगारको सिलसिलामा रहेका र कोरोना संक्रमण भएका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गर्न र विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसारको उपचार पाएको–नपाएको बुझ्न पनि भनिको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ– वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सूक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विनाभेदभाव, विनास्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको सर्त बन्देजसहित फिर्ता– उद्धारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ ।