कोरोना त्रासका कारण लकडाउन लम्बिएपछि मिडियामार्फत पढाउने सरकारको तयारी


हरेकपल April 16, 2020

काठमाडौं, ४ वैशाख । सरकारले मिडियामार्फत बालबालिकालाई पढाउने तयारी गरेको छ । कोरोना त्रासका कारण लकडाउन लम्बिएपछि बालबालिका विद्यायलमा उपस्थित भएर अध्ययन गर्न सक्ने अवस्था नभएपछि सरकारले यस्तो तयारी गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विभिन्न मिडिया प्रयोग गरेर कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएका छन् । कक्षा ९ र १० को पठनपाठन मिडियामर्फत भइरहेको जानकारी दिँदै उनले बन्दाबन्दीकै अवस्थामा पठनपाठनलाई अगाडि बढाउने तयारी भइरहेको बताए ।

उनले कक्षा १ देखि ८ का लागि पाठ्यक्रम विकास केन्द्रसँग साझेदारीमा सामग्री उत्पादन पनि भएको बताएका छन् । मन्त्रालयले टेलिभिजन एसोसिएसन र केबुल एसोसिएसनसँग समेत यसबारे छलफल गरेको छ । टेलिभिजनको सुविधा नभएका ठाउँमा सामुदायिक रेडियोबाट पनि पठनपाठनको काम गर्नेबारे तयारी भइरहेको उनको भनाइ छ ।

बिहीबार प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग मन्त्री पोखरेलले पठनपाठनको विषयमा भिडिओ कन्फरेन्सबाट कुराकानी गर्दा प्रदेशका मन्त्रीहरुले शिक्षालाई प्रविधिमैत्री बनाउने र अनलाइन शिक्षाको विकासमा जोड दिन सुझाब दिएका थिए ।