‘बिरामीको उपचार गरेर घर फर्किंदा मानसिक तनाव हुन्छ’


हरेकपल April 17, 2020

विश्वलाई नै आक्रान्त पारिरहेको यो कोरोना ओरालो नलागेको देख्दा जति संसारभरका मानिस चिन्तित देखिन्छन्, त्योभन्दा कैयौँ गुना बढी संसारभरि कोरोनाको मैदानमा होमिएका स्वास्थ्यकर्मीहरूको लागि चिन्ता र त्रासको विषय बनेको छ ।

हरेक दिन सुनिन्छ र हेरिन्छ– संक्रमितको सङ्ख्या बढेको तथ्य, यसैका कारण डाक्टर र नर्सहरूको मृत्यु भएको समाचार र मृत्यु हुनेको सङ्ख्या बढेको बढेकै गरेको खबर । यस्तो अवस्थामा नेपालमा भने कोरोनाका कारण कसैको मृत्यु भएको छैन । संक्रमितको सङ्ख्या पनि कम छ र तिनमा त्यस्तो जटिलता पनि देखिएको छैन । तसर्थ अत्तालिई हाल्नुपर्ने स्थिति देखिँदैन । यसरी सोच्दा मन अलि हलुका हुन्छ । तर विश्वमा यसको विस्तार र छिमेकी देश भारतकै अवस्थालाई हेर्ने हो भने पनि ढुक्क भइहाल्नुपर्ने अवस्था भने पक्कै छैन ।

एक चिकित्सकका नाताले मेरो जिम्मेवारी बिरामीको ज्यान जोगाउनु जति हुन्छ, त्यति नै परिवारप्रतिको जिम्मेवारी पनि हुन्छ । आफ्नो ज्यान जोगाउने पनि त मेरै दायित्व हो । जब एक चिकित्सकका नाताले बिरामीको ज्यान जोगाउँदा जोगाउँदै आफैले मृत्युवरण गरेका थुप्रै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका बारेमा सोच्न थाल्छु, मेरो मुटुको ढुकढुकी बढ्न थाल्छ । मलाई थाहा छ, बिरामीको ज्यान जोगाउने मेरो जिम्मेवारी हो । यसबाट मैले भाग्न हुँदैन तर विना कुनै कसुर कमजोर प्रणालीका कारण स्वास्थ्यकर्मीले ज्यान गुमाउनु पर्ने वातावरण भने आत्महत्याजस्तै नै होजस्तो लाग्दो रहेछ ।

सरकारले लकडाउन गरेको छ । यसलाई प्रभावकारी बनाउन सक्दो प्रयास गरिरहेको छ । यसको विकल्प पनि छैन । माइकिङ गरेर टोलटोलमा कोरोनाको बारेमा सचेत हुने उपायको बारेमा बताइरहेको छ । सकेसम्मका माध्यमबाट जनतालाई जानकारी दिइरहेको छ । यसलाई सराहनीय मान्नुपर्छ ।

यतिले मात्र भने पुग्दैन । लक्षणविना नै संक्रमित भेटिनुले स्थिति हामीले सोचेभन्दा जटिल हुनसक्ने डर कायमै छ । यसकारण नेपाल सरकारको तयारीले संक्रमितको सङ्ख्या कम राख्न मद्दत त गर्ला तर ह्वात्तै संक्रमितको सङ्ख्या बढेको खण्डमा सबैको उपचार गर्न कठिन हुने देखिन्छ । तसर्थ स्थिति योभन्दा नराम्रो नहोस् भन्ने कामना गर्दागर्दै पनि जटिल अवस्थाका लागि अझ पनि कडा तयारी गर्नुपर्ने हुन्छ ।

त्यसैले पनि हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अचेल सधैँ मानसिक तनावमा रहन्छौँ । हाम्रो देशमा संक्रमित बढ्दै जाने हो भने कसरी सामना गर्ने भन्ने सोच्दछौैँ । स्वास्थ्यकर्मीलाई संक्रमणको अति जोखिम हुन्छ । तिनमा संक्रमण भएको अवस्थामा परिवार र समाजमा मात्र संक्रमणको जोखिम रहने होइन, तिनबाट बिरामीलाई पनि संक्रमण सर्ने अवस्था रहन्छ । स्वास्थ्यकर्मीबाटै संक्रमण फैलन थाल्यो भने स्थिति कति जटिल होला ? यो कुरा पनि अहिले सोच्नु जरुरी छ । किनकि पीपीई बिनाको स्वास्थ्यकर्मीलाई अति संक्रमणको जोखिम बढी हुन्छ । तसर्थ अहिलेको आवश्यकता भनेको सबै स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा पीपीई उपलब्ध गराउनु हो । मौकाको फाइदा उठाउने व्यापारीले गुणस्तरहीन पीपीई बजारमा ल्याएको हल्ला पनि सुनिन्छ । पीपीई गुणस्तरीय भएन भने त्यसले उल्टो नतिजा दिने हुँदा यसप्रति सरकारको ध्यान जानु जरुरी छ ।

कतै एम्बुलेन्सले बिरामी नबोकेको त कतै अस्पतालहरूले बिरामी नजाँचेको खबर पत्रपत्रिकामा आएका छन् । यसो हुनुमा पीपीईको अभाव पनि हुनसक्छ । आफू सुरक्षित छैन भन्ने लागेपछि पनि यस्तो स्थिति उत्पन्न हुनपुग्छ । अहिलेको अवस्थामा स्वास्थ्यकर्मीले पूर्ण आत्मविश्वासका साथ सेवा प्रदान गर्ने वातावरणका लागि सबैको सहयोग आवश्यक छ । त्यसैगरी अस्पतालहरूमा सधैँ प्राप्त गरिआएका नियमित सेवामा दखल नपुग्ने गरी वातावरण तयार गर्न जरुरी छ । यसका लागि भर्खर बन्दै गरेका अस्पताल भवन या सरकारी भवनलाई आवश्यक उपकरणसहित कोरोना बिरामी विशेषका लागिमात्र उपचार गर्ने अस्पताल छिटोभन्दा छिटो अद्यावधिक गर्न पर्दछ । यसो गर्न सकेका खण्डमा अझ उत्कृष्ट सेवा प्रदान गर्न सकिन्छ । अन्यथा अन्य सेवाग्राहीमा समेत संक्रमणमा पर्ने डर रहन्छ ।

अहिले सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने बेला हो । तर हालको अवस्थाका जटिलता तथा समस्याको गहिराइ नबुझी कसैकसैले एकोहोरो रूपले स्वास्थ्यकर्मीहरूलाई हतोत्साही पार्ने ढङ्गका समाचार सम्प्रेषण गरेको देख्छु म । त्यसो त पत्रकारहरूले पनि जोखिममा घर नबसी हामीजस्तै खटेर काम गरिरहनु भएको छ । तर यो समय बिक्ने समाचार खोज्ने होइन भन्ने कुरा बुझिदिनु हुन मेरो सानो अनुरोध छ । अहिले संक्रमणकालीन अवस्थामा भएका जनतामा कृपया आशा जगाउने खालका समाचार सम्प्रेषण गर्नुहोस् । तपाईँको समाचारले काम गरिरहेका स्वास्थ्यकर्मीहरू हतोत्साही नहून् ।

त्यस्तै आम नेपाली जनतासँग अनुरोध छ, विकसित देशले त कोरोनासँग लड्न गाह्रो परेको अवस्था देख्दादेख्दै साधन र स्रोतको अभाव भएको हाम्रो देशमा यो फैलियो भने के होला भनेर सोच्नुस् र लकडाउनको पूर्णरूपले पालन गर्नुहोस् । नियमित साबुन पानीले हात धुनुहोस् । आकस्मिक परीक्षणको अवस्थाबाहेक अस्पताल नआउनुस् । सामाजिक दूरी बनाई राख्नुस् । नियमित व्यायाम गर्नुहोस् । अनावश्यक तनाव नलिनुस् र खुसी रहनुहोस् । सबैको सहकार्यले मात्र यो कोरोना विरुद्धको युद्धमा विजय हासिल गर्न सकिन्छ ।