कोरोनाबारे अफवाह नफैलाउन आयोनको आग्रह


हरेकपल April 17, 2020

काठमाडौं, ५ वैशाख । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९(कोरोना भाईरस) बारे अफवाह नफैलाउन आग्रह गरेको छ । आयोनका अध्यक्ष जगदिश कुमार ऐरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट सजग रहन आह्वान गरे ।

‘कोरोनाको विषयलाई लिएर व्यापक रुपमा सामाजिक सञ्जाल र अन्य माध्यमबाट अफवाह फैलाउने र आममानिसहरुलाई त्रसित पार्ने खालका कार्य कोहि कसैबाट नगर्न/नगराउन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रमपूर्ण सूचना प्रवाहलाई रोक्न र त्यस्ता सूचनाको सकारात्मक रुपबाट प्रतिकार गर्नसमेत हामी सबैमा हार्दिक अपिल गर्दछौं ।’

आयोनले कोरोनाको महामारीबाट बच्न सबै सदस्य संस्थाहरु, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय, संचारजगत र सरकारसंग सचेतनामुलक साझेदारी गर्न तत्पर रहेको जनाएको छ । आयोन अध्यक्ष ऐरले सामाजिक सञ्जाल र आफ्नो अनलाइन प्रोर्टल मार्फत कोरोना भाइरस विरुद्धको सचेतना अभियान सुरु गरेको जनाएका छन् । उनले सचेतना अभियानमा सहभागी तथा साझेदारीका लागि अन्य सामाजिक संस्थाहरुलाई समेत अपील गरेका छन् ।

कोरोनाको फैलिदो महामारीलाई मध्यनजर गर्दै आयोनले एक महिनाका लागि कुनै पनि सार्वजनिक भेला, सम्मेलन नगर्ने निर्णय गरेको छ । ‘महामारीसंग लड्न विश्वका हामी सबै मानव जगतबीच सामुहिक सहकार्य सहयोग, संवेगात्मक र मनोवैज्ञानिक ऐक्यवद्धता जरुरी भएको र यसका लागि सबैसंग सकारात्मक सूचना प्रवाहको अपेक्षा राख्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।