लकडाउन वर्ष


हरेकपल April 18, 2020

२०७७ वैशाख १ गते ।
एका बिहानै जीवनपानीको फोन आयो । उहाँले सुरूमा नयाँवर्षको शुभकामना व्यक्त गर्नुभयो । त्यसपछि भन्नुभयो, ‘मनोजजी, यसपालि त तपाईँको चैत ३० नआई नै नयाँ वर्ष लाग्यो त ।’

हो, मेरो निम्ति २०६३ सालदेखि यता ‘स्रष्टा चैत्र ३०’ को कार्यक्रम सकिएको भोलिपल्ट मात्र नयाँवर्ष सोच्ने फुर्सद हुन्थ्यो । ‘चैत ३०’ जनआन्दोन २ मा स्रष्टाहरूमाथि गोली चलेको दिन हो । यस दिनको सम्झनामा स्थापित ‘स्रष्टा, चैत्र ३०’ संस्थाले स्रष्टाहरूको सम्पूर्ण आन्दोलनको स्मरण गर्दछ र आन्दोलनमा योगदान दिने दुई स्रष्टालाई सम्मान गर्दछ । यस्तै कुनै ‘चैत ३०’ मा कार्यक्रममा एक सहभागी मित्रले मलाई प्रश्न गरेथे, ‘यो स्रष्टा आन्दोलनको सम्झनाले के उपलब्धि भएको देख्नुभएको छ ?’ मैले जवाफमा भनेथेँ, ‘मित्र, यो कार्यक्रम भएन भने मेरो लागि नयाँ वर्ष नै आउँदैन ।’ जीवनजी यो जवाफ सुन्ने एक साक्षी हुनुहुन्थ्यो । आज उहाँले मलाई एकछिन त्यसै समयमा पु¥याइदिनुभयो ।

म वर्षको अन्तिम रात थकाइ मार्दै मस्त निधाउँथे । क्यालेन्डरले देखाएको नयाँ वर्षको बिहान कुन–कुन पत्रिकामा हिजोको कार्यक्रमको समाचार आयो भन्ने खुल्दुली हुन्थ्यो । त्यसैले हत्तपत्त उठेर जान्थेँ पत्रिका पसल र त्यहाँ हेर्थेँ पत्रिकाहरू । जुन–जुन पत्रिकामा ‘स्रष्टा, चैत्र ३०’ को समाचार आएको छ, त्यो खबर हिजोका दिन सम्मान ग्रहण गर्ने स्रष्टाहरूलाई सञ्चार गर्थेँ । अचेल पत्रिकाहरूले पनि बासस्थानबाट बाहिर ननिस्कने लकडाउन नियम पालन गरेझैँ लाग्छ । बन्द छन् सबै ।

यत्तिकैमा मेरा आँखा भित्ताको क्यालेन्डरमा पुगे । क्यालेन्डरले २०७६ साल नै देखाइरहेको छ । पहिला–पहिला चैत्र महिनामै आउँदो सालकोे क्यालेन्डर मेरो कोठाको भित्तोमा झुण्डिएको हुन्थ्यो । यसपालि कतैबाट क्यालेन्डर हात पर्नै नपाई लकडाउन भैहाल्यो । त्यसैले यो भित्तामा केही घण्टाअघि मिति सकिएको वर्ष देखाउने क्यालेन्डरमात्र छ ।

मैले त्यस क्यालेन्डरसँग कुरा गरेँ– ‘यसपालि तेरा दिन धेरै छैनन् भन्ने अर्को मितिपात्रो आएनछ हगि ।’
‘मलाई के जिस्क्याउँछस् मनोज, तेरो पनि त नयाँवर्ष आएन नि ।’ क्यालेन्डर बनेर मेरो मन बोल्यो ।

मलाई कुरा ठीक लाग्यो । मोबाइलले देखाउँदैमा म किन यो वैशाखलाई नयाँ वर्ष भनूँ ! मेरो नयाँवर्ष आएकै छैन । मैले ठहर गरेँ । न कुनै उत्साह छ, न कुनै खुसी, न कुनै उमङ्ग छ, न कुनै तरङ्ग – अनि केको नयाँ वर्ष !

मोेबाइलमा शुभकामना म्यासेज आएको आएकै छन् । शुभकामनामा पनि कोरोनाको उल्लेख छुटेको देख्दिनँ । एकादुईमा नहोला । नत्र यसलाई सम्बोधन गरेकै छन् शुभकामना व्यक्त गर्नेहरूले । यति हो, कोरोनाको त्रास बिर्सिएका छन् । मानौँ शुभकामना मार्फत भन्न चाहन्छन् ‘कोरोना से डरो ना ।’ फेसबुक हेर्छु, नयाँ वर्षका कविता सँगसँगै कोरोनाका कविता पनि प्रतिस्पर्धामा देखिन्छन् । सिर्जनामा पनि कोरोना नयाँवर्षको सन्दर्भ सँगसँगै ट्रेन्डिङमा छ । विद्युतीय पत्रिका हेर्छु, मानिसका नयाँ योजनाका कुरा खासै देख्दिनँ । बरु यो वर्ष यसो–यसो गर्ने योजना थियो तर लकडाउनले सबै रद्द भयो भनेर लेखेको देख्छु । कसैले च्याटमा सोध्दैन, नयाँ वर्षमा तपाईँका नयाँ योजना के छन् भनेर ।

लागू गर्न सक्ने नसक्ने दुवैथरी योजना बनाउँथे पहिला नयाँवर्षको बहानामा । जस्तो कि – रक्सी छोड्ने, चुरोट छोड्ने, शरीरको तौल घटाउने, बिहान सबेरै उठ्ने आदि इत्यादि । केही दिन या हप्तापछि यस्ता कति योजना कथा बन्थे । धेरै थोरैले यस्ता योजना पूरा गर्न सक्थे । कतिले भने पूरा गर्न सक्ने नै योजना बनाउँथे । जस्तो कि –सवारी साधन किन्ने, नयाँ ठाउँ घुम्न जाने, नयाँ पेसा खोज्ने । लिस्ट लामो हुन्छ । जे होस्, योजना बनाउने सुन्दर बहाना पनि हुन्थ्यो नयाँवर्ष ।

वैशाख १ गतेका दिन भगवानलाई सम्झन चुक्दैनथे धेरै भक्तजन । पवित्र बनेर अर्थात् सफा बनेर, सफा लुगा लगाएर मन्दिर जान्थे । सायद आफ्ना योजना भगवानलाई सुनाउँथे र पूरा गर्नका लागि सहारा माग्थेँ । अहिले अवस्था यस्तो छ, मन्दिरमा भक्तजन आउलान् भनेर कति ठाउँमा ताला लगाइएको छ । त्यसैले मन्दिरका परेवाहरू चारो ल्याउने भक्तजनहरूलाई नदेखेर विरक्त भएका छन् ।

नयाँ वर्षमा नयाँ लुगा लाउनुपर्छ । चिटिक्क पर्नुपर्छ । कपाल काट्नुपर्छ । फेसियल गर्नुपर्छ । ब्युटीपार्लर गएर सौन्दर्य निखार्नुपर्छ भन्ने अलिखित नियमजस्तै थियो । यसो हुनुका कारण नयाँ वर्ष मनाउनेले विभिन्न पार्टीमा सहभागी हुनुपर्ने स्थिति पनि हुन्थ्यो । रमाइलो गर्ने योजनाहरू हुन्थे । पुरुषहरू कपाल र दाह्री काटेर सफाचट अनुहारमा देखिन्थे । अहिले कपाल काट्ने सैलुन बन्द छन् । दाह्री त आफैँ पनि काट्न सकिन्छ तर कपाल त काट्ने कला नै भएको मान्छे चाहिन्छ । नजान्नेले झन विरूप पारिदिन्छ । ब्युटीपार्लर पनि बन्द छन् । त्यसो त पार्टी मनाउन कतै जानु पनि त छैन । आफन्तले कतै खान बोलाउने पनि होइनन् । साथीभाइले पिउने रेस्टुराँ पनि बन्द छन् । मदिराप्रेमीहरू बिरामीजस्ता भएका छन् मदिरा किन्न नपाएर ।

कतिले नयाँ वर्षमा नयाँ लुगा आङमा हाल्थे । केही न केही नयाँ वस्तु किन्ने योजना बनाएका हुन्थे । जस्तो कि – कतिले मोबाइल किन्ने त कतिले बाइक किन्ने । कतिले के किन्ने त कतिले के ! यतिबेला मेरा एक छिमेकीको मोबाइलको चार्जर बिग्रेर उनलाई निकै समस्या परेको छ । अरू नयाँ कुरा किन्ने त कुरै छाडौँ । खाद्यान्न किन्ने योजना सायदै कसैको लिस्टमा हुन्थ्यो, जो अहिले पनि किन्न पाइन्छ ।

एकथरीको नयाँवर्षको बहानामा घुम्ने योजना हुन्थ्यो । कोही देशभित्रका ठाउँ त कोही सीमा जोडिएको छिमेकी मुलुक घुम्ने योजना बनाउँथे । पैसा हुनेहरूको युरोप, अमेरिका, अष्ट्रेलिया पनि घुम्ने गन्तव्य हुन्थ्यो । कतिलाई विदेशमा बसेका सन्तानले बोलाउँथे । यसपालि यस्तो योजना बनाएको पनि सुनिँदैन । बनेको योजना थियो भने पनि त्यो तुहेको सुनिन्छ । कतिका बनभोजका योजना बन्थे । अहिले व्यवसायीहरू नै व्यवसाय बन्द गरेर घरमा बसेका छन् । यस वर्ष नयाँ वर्षका अवसरमा एक साताअघि नै बुक हुने होटेल, रिसोर्ट, गेस्ट हाउस, होमस्टे सबै सुनसान छन् । यस वरिपरिका चरा मुसाहरू नयाँ मानिसको अनुहार देख्न नपाएर अचम्म मानिरहेका छन् । व्यवसायीहरूलाई भने कसरी बैंकको रिन तिर्ने र कसरी कर बुझाउने भन्ने चिन्ताले सताएको देखिन्छ । उत्सवको वातावरण कतै छैन ।

पोहोर सालका कार्यक्रमका फोटा पनि देखायो फेसबुकले । निमन्त्रणा पत्र पनि देखायो । हुन पनि पोहोर, परार १ गते कुन कार्यक्रममा जाऊँ र कुनमा नजाऊँ भनेर हिसाब गर्नुपथ्र्यो । कतै कविता सुनाउन त कतै कविता सुन्न निम्तो आएको हुन्थ्यो । यसदेखि बाहेक विमोचन, अन्तरक्रियाका कार्यक्रमहरू आइपरिरहेका हुन्थे । यसपल्ट सबै कार्यक्रम र निमन्त्रणा लकडाउनमा परे ।

कसैका लागि पनि खुसी हुने कुनै त्यस्तो चीज देख्दिनँ यो बेला । किसानले दूध खोलामा फालेको भिडियो भाइरल भइरहेको छ । कुखुरा व्यवसायीले कुखुराका चल्लालाई खाल्डो खनेर पुरेको खबर छ । तरकारी बारीमै कुहिने भएको छ । बिहान बेलुकाको छाक टार्न दैनिक ज्याला मजदुरी गरेर बाँँच्नेहरूको भएको खर्च सकिँदै गएको छ । कमाउने बाटो छैन । विद्यार्थीको पढाइ ठप्प भएको छ । परीक्षाहरू स्थगित हुँदै छन् । लकडाउनको समय बढेर अफ्ठेरोमा परेकाहरूले गाडी नपाए पनि पैदले घर जान खोज्दा उनीहरूलाई बाटाबाटामा रोकिएको छ । मूलबाटोबाट हिँड्दा पुलिसले चुट्ला, समात्ला र थुन्ला भनेर भोकै–प्यासै जङ्गल र चोरबाटो हुँदै घर जान खोजिरहेका छन् । न कतै बास पाउँछन् तिनले, न गाँस नै पाएका छन् । लामो बाटो हिँड्दा पैताला कति पोल्दो हो ! साना नानीहरूलाई कति गाह्रो हुँदो हो ! चिउरा, नुन, चाउचाउ र दालमोठको फाँकोको भरमा कसरी पुग्लान् तिनीहरू घर ! किन कोही सोच्दैनन् यसबारे ? के यिनको गणना मतगणना सकिएकै दिन सकिने हो ?

मान्छेले खान पनि नपाउने र आफ्नो घर जान पनि नपाउने यो समयलाई म कसरी भनूँ नयाँवर्ष ! सम्झनामा ब्युँझिन्छ, २०६७ सालको वैशाख । माधव नेपाल प्रधानमन्त्री थिए त्यसबेला । उनको राजिनामा माग्न तत्कालीन नेकपा माओवादीले गाउँगाउँबाट जनता काठमाडौँ ल्याएको थियो । आफैँ पनि आउनेहरू थिए । गाडीको व्यवस्था पार्टीले गरेको थियो । खुला ठाउँमा खड्कुलाका खड्कुला भात दाल पकाइएको थियो । तिनीहरूले राम्ररी खान नपाए पनि सास अड्याउन पाएका थिए । सबैले बस्ने बास नपाए पनि धेरैले पाएका थिए । मर्ने अवस्था आउन नदिन कार्यकर्ता युद्धस्तरमा खटिएका थिए । तर आज सडकमा यसरी जुत्ता हातमा बोेकेर विजोग सँग हिँडेको देखेर पनि किन चुप छन् !

मलाई यतिबेला मजदुर युनियन, विद्यार्थी युनियन, किसान संगठन, राजनीतिक पार्टीका मानिसहरू नागरिकप्रति बेखबर भएको देख्दा अर्को आन्दोलनको आवश्यक्ता बोध भइरहेको छ । आफू स्रष्टा भएका नाताले मसँग समयले स्रष्टाको भूमिका खोजेजस्तो लागेको छ ।

तसर्थ मेरो लागि यो नयाँवर्ष नभएर लकडाउन वर्ष हो । माफ गर्नुहोला, म कसैलाई पनि यो समयमा शुभकामना दिन सक्तिनँ ।