पीडामाथि अझै पीडा थप्ने काम नगरियोस् हजुर


हरेकपल April 18, 2020

चाइनाको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरू भएको नोवल कोरोना भाइरस (कोभिड १९) अहिले विश्वभरि नै माहामारीको रूपमा फैलिसकेको छ । उक्त भाइरसको कारण विश्वभरि २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै निको भएर घर फर्किने पनि ५ लाखभन्दा बढी छन् ।

धेरै देशहरूले कोरोनाको संक्रमणबाट बच्न लकडाउन लगाएपछि र कोरोनाबाट बच्ने सबैभन्दा उपयुक्त औषधी नै लकडाउन हुने भएकोले नेपालमा पनि गत वर्षको चैत्र ११ गतेबाट लकडाउन गरियो । लकडाउनको कारणले गर्दा कल कारखाना, उद्योग, व्यवसाय सम्पूर्ण ठप्प रहेकोले गर्दा जनजीवन कष्टकर भएको छ । मजदुरहरू सबैभन्दा बढी समस्यामा परेका छन् । तेस्रोपटक लकडाउन अवधि थप गरेर अहिले वैशाख १५ गतेसम्म पुर्याइएको छ र लकडाउन अझै कति दिनसम्म बढ्ने, नबढ्ने टुङ्गो नै छैन ।

कोरोनाको संक्रमण फेला परेको लगभग ५ महिना पुग्न लागिसकेको छ र यसको औषधी बन्ने नबन्ने अन्यौल नै रहेको छ । नेपालमा पनि कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ र अहिलेसम्म कुनै दुखद् घटना घटेको छैन । कोरोना भाइरको पीडा त एकातिर छँदै छ तर ज्यालादरी गर्ने मजदुर र विपन्न परिवारहरूको भने छुट्टै पीडा रहेको छ । नेपालमा लकडाउन भएको झण्डै १ महिना पुग्न लाग्दा, उनीहरूलाई दुई छाक खाना खान हम्मेहम्मे परेको छ । केही कमाइ गर्न भनेर सहर आएका मजदुरहरूले लकडाउनको कारण न त अहिले काम नै पाएका छन्, न त घर नै जान पाएका छन् । सहरमै बसूँन् भने पैसा छैन, ठेकेदारहरूले लकडाउनको बहाना पारेर पैसा दिएका छैनन् । उनीहरूमध्ये धेरैजसो अहिले बाध्यतावश भोकमरीले मर्नुभन्दा बरू कोरोना लागेर मर्नु ठीक भनेर सहरबाट हिँडेरै गाउँतिर लागेका छन् ।

नेपाल सरकार तथा मन्त्रीपरिषदको निर्णय अनुसार विपन्न परिवारलाई खान समस्या नहोस् भनेर राहत प्याकेज बनाएर मापदण्ड तयार पारियो । विपन्न परिवारलाई राहत बाँड्ने पूर्ण जिम्मा स्थानीय सरकारलाई दिइएको छ । मापदण्डअनुसार एक परिवारलाई राहत अनुरूप चामल–३० किलो, दाल– ३ किलो, नुन– २ प्याकेट, खाने तेल– २ लिटर, साबुन– ४ वटा, चिनी– २ किलो दिने उल्लेख छ । परिवारमा दुई जनासम्म सदस्य छन् भने मापदण्ड अनुसार आधा मात्रै राहत दिन पाइन्छ भने दुई जनाभन्दा बढी सदस्य छन् भने पूरा राहत दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
मन्त्रीपरिषदको निर्णयले तयार पारेको मापदण्डमा सो कुरा उल्लेख भए पनि विपन्न परिवारले मापदण्ड अनुसार राहत पाएका छैनन् । कतै राहतको नाममा ४ किलो चामल बाँडिएको छ त कतै एउटा साबुन मात्र । कतै केही पनि बाँडिएको छैन । घरमा भात पकाएर खान पाउनु पनि एकादेशको कथा भनेझँै भएको छ उनीहरूलाई । कोरोना रोकथाम को लागि भनेर विभिन्न राहत कोषहरूको स्थापना गरिएको छ । केन्द्रीय स्तरदेखि प्रदेश तथा स्थानीय तहसम्म राहत कोषको स्थापना गरिएको छ र कोषमा पनि निकै रकम जम्मा भैसकेको छ र हुने क्रम जारी नै छ । तर कोषमा जम्मा भएको रकम के–कति कुरामा प्रयोग भइरहेको छ भन्ने नै एउटा चासोको विषय बनेको छ । राहतको नाममा कतै कुहिएको खाद्यान्न बाँडिएको छ त कतै जनप्रतिनिधिले आफ्ना चिनेजानेको मानिसहरूलाई मात्र दिएको खबर पनि सुन्नमा आउँछ । जब केन्द्रीय सरकारले स्थानीय तहलाई राहत बाँड्ने जिम्मेवारी दिइसकेपछि कतिले मापदण्ड अनुरूप राहत पाए, पाएनन् भनेर निरीक्षण गर्नु पनि उतिनै जरूरी देखिन्छ ।

अहिले एउटा खबर पनि सुन्नमा आएको छ कि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले निर्वाचित प्रत्येक सांसदले प्राप्त गर्ने गरेको ६ करोड रकमको काम हुन बाँकी चालु आर्थिक वर्षको रकम कोरोना कोषमा राख्न समर्थन जनाएका छन् रे । कोषमा मात्र रकम जम्मा गरेर सफलता हासिल गरिँदैन । उक्त रकमलाई सही सदुपयोग गर्न सक्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) कीट किन्न मात्र कोषको रकम प्रयोग नगरियोस् । कोरोना संक्रमण सँगसँगै अर्को भोकमरी संक्रमण पनि देखिन सक्ने सम्भावना रहेको छ । विपन्न परिवारहरूको भोकमरीको समस्या सामाधान गर्नेतर्फ पनि सरकारको ध्यान जान जरूरी छ ।

कोरोनाले नै झुक्याइरहेको बेला रयापिड टेस्ट कतिको उपयुक्त हुन्छ त?
सरकारले ओम्नी समूहसंग सम्झौता गरेर ७५ हजार थान रयापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) कीट चाइनाबाट ल्यायो जुन विवादास्पद रह्यो। विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको र उक्त विधिबाट गरिएको टेस्टको नतिजा सहि नहुने हुँदा पनि नेपालमा सोहि विधिबाट परिक्षण गर्न सुरू गरिएको छ । अरू देशहरूले पनि आरडीटी प्रयोग गरेको बताउदै हहिले नेपालकोलगभग सबै जिल्लामा परिक्षण गर्न सुरू गरिएको छ । आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएर फेरी पीसीआर विधिबाट परिक्षण गर्दा नेगेटिभ आएको र आरडीटी विधिबाट परिक्षण गर्दा नेगेटिभ आएर पीसीआर विधिबाट परिक्षण गर्दा पोजेटिभ आएको घटना पनि छ । कोरोना भाईरसको उद्गम थलो चाइनामा कोरोना साम्य भैसकेको केहि सातापछि फेरि नयाँ संक्रमित फेला परेका छन् । क्वारेन्टाइन अवधि पुरा गरेर घर फर्केकामा पनि कोरोना संक्रमण देखिएको छ । कोरोनाको लक्षण कति दिनपछि देखा पर्ने भन्ने बारेमा पनि अन्यौल नै छ । यस्तो अवस्थामा आरडीटी विधिबाट परिक्षण गर्नु कतिको उपयुक्त हुन्छ र यो विधिले झन संक्रमितको संख्या बढाइरहेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।