महानदीको किनारबाट


हरेकपल April 18, 2020

देशको मानचित्रमा
सुदूर र सीमान्तकृत
पश्चिम भूगोलको बासिन्दा म
जागिर खान खोज्दा पहुँचवालाको आशीर्वाद नपाएपछि
इलम गर्न धितो जमानतमा कसैले नपत्याएपछि
खेती किसानीका लागि पुख्र्यौँली जेथा पर्याप्त नभएपछि
कुनै राजनैतिक दलको झोले कार्यकर्ता बन्नसमेत
मनले नमानेपछि
ओ, महानदी !
तिम्रै जलासयमा खुट्टा चिस्याउँदै
म भारत पसेँ ।

मलाई त्यताले जन्मायो र
जिउमा पखेटा लगाइदियो
त्यही पखेटाको सहारामा
तिमीलाई नाघ्दै म
मुग्लान पसेँ
देश छाड्दै गर्दा
भक्कानिएर बगेका केही थोपा आँसु
त्यतिखेर यही बगरको बालुवामा पोखेँ ।

यताले मलाई काम दियो
मैले यता खर्चेको श्रमको त्यही मूल्यले
त्यता,
बूढीआमाको औषधी खर्च टार्दै थिएँ
भाइलाई विदेश पठाउन बाले लिनुभएको
महँगो ऋणको किस्ता तिर्दै थिएँ
बैंकमा बन्धक रहेको
पत्नीको मङ्गलसूत्र उकास्ने सपना बुन्दै थिएँ

महामारीको डढेलो फैलँदै गर्दा
काम दिनेको घट्ट नै घुम्न छाडेपछि
विनातलब बिदा गर्यो कम्पनीले
उधारो खाने पसलका दैलाहरू बन्द भए
भर–अभरमा काम लाग्ने मित्रजनहरू
आफैँ बेखर्ची र बेसहारा भए
सामाजिक दूरी कायम राख्ने दिव्य आदेशसँगै
दुःखसुखका साथीजस्ता
घरबेटी पनि एकाएक
सम्बन्धको सीमाबाट टाढा टाढा हुँदै गए

छोराछोरीकोे दुखेसो र
बाआमाको दम खोकीले
घर सम्झाएपछि
लकडाउनले सिनित्त पारेको
सवारीविहीन राजमार्गका चौडाइ नाप्दै
म तिम्रो शरणमा आएँ
खान नपाए पनि
आफ्नै माटोको ओत पाउने आशामा
बाटाभरि मन अघाउँदै आए
यो संक्रमणको आँधीबेहरीमा अत्तालिएर
मैले मेरो भूभाग टेक्दा
तिम्रो संविधानको परिभाषामा
अपराध ठहरिन्छ भने
त्यो आरोप पनि स्वीकार्य छ मलाई
पाप–पुण्य जे ठानियोस्
यतिबेला म
तिम्रो न्यानो काख पच्छ्याउँदै आएंँ ।

गजबार लगाएर
मेरा पाइलालाई निषेधित गरिएको
यो सिमानामा
खुला आकाशमुनि लम्पसार
रित्तो पेटभित्र
महामारीको भन्दा भोकमरीको संक्रमण
धेरै फैलिएपछि
अब म अपराधमाथि अर्काे यौटा अपराध थप्दैछु
जीवनलाई नै तरबारको धारमा उभ्याउँदै
तिम्रो विशाल छातीमा हामफाल्दैछु ।

निकै मुस्किल पर्नेछ,
तिम्रो तीव्र वेग छिचोलेर
आफ्नो देशको माटोसम्म
जिउँदै पुग्न मलाई
थाहा छ, यो कठिन जलयज्ञमा
जीवितै पारी पुगेँ भने
त्यताका सुरक्षाकर्मीले
आतङ्ककारीलाई पक्रेझैंँ पक्रनेछन्
अनि कुख्यात अपराधीलाई झैँ
नाङ्गै पारेर
बजार घुमाउन सक्नेछन्
नगर परिक्रमापछि
आफ्नो मातृभूमि टेक्ने कुचेष्टा गरेको कसुरमा
क्वारेन्टाइन नामको हिरासतभित्र राख्नेछन्
कमिसनको गन्ध नआउने राहतकोषका
दाल–चामल खान दिनेछन्
प्रिय पत्नी, त्यसबेला मलाई नाङ्गै हिँडाए भनेर
तिमी अधैर्य नहुनू ÷नझार्नू आँखाबाट आँसु
बरु त्यसलाई
विपतको बेला हामी निमुखालाई
राज्यले दिएको उपहार सम्झेर
घट्घटी आँखा रित्याएर पिउनू
र आफ्नै घरको क्वारेन्टाइनबाट
मेरो प्रतीक्षा गरिरहनू ।

यदि डुबुल्की मार्न नसकेर
नदीको भेलसँगै बगँे भने
ए, महानदी !
बिन्ती छ,
मेरो लाशलाई
मेरै देशको माटोतर्फ किनार लगाइदिनू
म मेरै देशमा समाधिस्थ हुन चाहन्छु
खरानी बनेरै भए पनि
म मेरै देशको माटोमा विलय हुन चाहन्छु ।