कोरोना महामारीसंगै कसरी बन्दैछ शिक्षा क्षेत्र अस्तव्यस्त ?


हरेकपल April 19, 2020

चीनको वुहानबाट प्रारम्भ भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आतंकले मानव सभ्यतालाई नै असर गर्ने गरी त्रासदीपूर्ण अवस्थामा पुर्याएको छ । शिक्षा क्षेत्रमा पनि यसको प्रभावले भयाबह स्थिति उत्पन्न भएको छ । अहिले विश्वका १९१ मुलुकका  १ अर्ब ५७ करोड विद्यार्थी, भर्ना भएको विद्यार्थीहरु मध्ये करिब ९२ दशमलब ५ प्रतिशत लक डाउनका कारण स्कुल कलेजहरु बन्द भइ शिक्षाको उज्यालो घामबाट बन्चित भएका छन् ।  उनीहरु घरको चार दिवार भित्र सीमित भइ अन्यौलमा छन् । युनेस्कोका अनुसार कोविड १९ का कारण चीनमा २७ करोड ८४ लाख  र भारतमा ३२ करोड ७ लाख विद्यार्थी मारमा छन् भने नेपालमा करीव ८७ लाख विद्यार्थी बन्दको मार झेलिरहेका छन् ।  

कोरोना संक्रमण फैलिदै गर्दा मार्च ८ मा पहिलोपटक चीनका विभिन्न ठाउँहरुमा स्थानीय तहमा स्कूल कलेजहरु बन्द गर्न थालिएको अवस्था थियो । सो समयमा विश्वका अरु सबै मुलुकले ढुक्कले स्कुल कलेजहरु खोलिरहेका थिए र चीनलाई एक किसिमको उपहास गरिरहेको भान हुन्थ्यो ।  छिमेकी मुलुक चीनमा संक्रमण फैलिदै गर्दा र आफ्नो मुलुकमा पनि कोरोना संक्रमण सुरु हुदा मंगोलियाले २० फेब्रुअरीमा पठन-पाठन पूर्णरुपले बन्द गर्यो । संक्रमणले व्यापकता लिदै गर्दा चीनले २१ फेब्रुअरीमा पठनपाठन पूर्णरुपले बन्द गर्यो । त्यस्तै २४ फेब्रुअरीमा संक्रमण शुरु भएपछी इटालीले विभिन्न ठाउँमा स्थानीय तहमा पठन पाठन बन्द गर्यो । संक्रमणले निकै ब्यापकता लिदै गर्दा २६ फेब्रुअरीका दिनदेखि नै इरानले आफ्नो सम्पूर्ण शैक्षिक कार्यक्रमहरु बन्द गर्यो भने २७ फेब्रुअरीदेखि पाकिस्तानले पनि आफ्नो पठनपाठन आंशिक रुपमा बन्द गरेको पाइन्छ ।

अमेरिकाले २८ फेब्रुअरीदेखि विभिन्न ठाउँका स्थानीय तहमा स्कुल कलेज बन्द गर्न थालेको थियो . अमेरिकाका अधिकांश राज्यले चालु शैक्षिक सत्रको भरि बिद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । अस्ट्रेलियाले २४ मार्चमा पठन पाठन आंशिक रुपमा बन्द गरी स्कूल होलिडे, बिद्यार्थी फ्री स्कूल र स्कुल बन्द जस्ता बिभिन्न मोडेलमा स्कुललाई बन्द गर्ने निर्णय गरेको छ । भारतले ४ फेब्रुअरीदेखि आफ्नो पठनपाठन आंशिक रुपमा बन्द गर्यो भने २५ फेब्रुअरी देखि लक्-डाउन संगै पठन पाठन पूर्ण रुपले बन्द गरेको अवस्था छ । नेपालले १९ मार्चदेखि पठन पाठन पूर्ण रुपमा बन्द गरेको छ ।    

अप्रिलको शुरुवातमा विश्वका धेरै मुलुकहरुमा स्कुल कलेज पूर्ण रुपमा बन्द भइसकेको अवस्था छ । अहिले दुइवटा एसियन मुलुक उत्तर कोरिया र तुर्कमेनिस्तान, दुइवटा अफ्रिकी मुलुक लेसोथो र कोमोरोस, लगायात १३ वटा साना ओसोनिया टापुहरु सोलोमन टापू, भानुआटु, समोआ, किरिबाटी, माइक्रोनेसिया, टोंगा, मार्सल आइल्याण्ड, पालाउ, तुभालु र नाउर गरी जम्मा १५ वटा मुलुकहरुमा संक्रमण नभएकोले पठन-पाठन यथावत छ ।  

 नेपालमा एसइइ सुरु हुनुभन्दा अघिल्लो दिन गरिएको लक्-डाउनको कारण एसइइ रोक्नु परेको थियो भने ११ र १२ को परिक्षा पनि रोकिएको छ । सरकारको निर्णयमा ढिलाइ भएको कारण मुलुकका विभिन्न ठाउँबाट परिक्षा केन्द्रसम्म एसइइ दिनलाई टा-टाढाबाट आएका विद्यार्थीहरु परीक्षा नदिई फर्किनु परेको थियो । स्कूलहरुमा अन्तिम परीक्षा आउने समय थियो । केही स्कुलले परीक्षा सम्पन्न गरिसकेका थिए भने केही स्कुलमा अन्तिम केही दिनका परीक्षाहरु बाँकी थिए । स्कूले विद्यार्थीहरु आफ्नो परीक्षा पास गरी माथिल्लो क्लासमा उमंग र खुसीसाथ जानुपर्नेमा कसैको परीक्षा नै बाँकी रहयो त कसैको नतिजा बाँकी छ । स्कूल र कलेज कहिलेदेखि जाने हो ? विध्यार्थीका लागि अनुत्तरित प्रश्न बनेको छ । सबै विद्यार्थी लक-डाउनको शिकार भई मनोवैज्ञानिक रुपमा नै त्रसित हुने अवस्थामा पुगेका छन् । बिहान उठेर आफ्नो होम वोर्क सकी रमाउदै स्कुल जाने, साथीभाइसँग उमङ्गका साथ पढ्ने, खेल्ने बालबालिकाहरूको जीवन घरको चार दिवार भित्र बन्द रहेको छ ।

त्यसैगरी विभिन्न विश्वविद्यालहरुका स्नातक, स्नातकोत्तरका व्यवशायिक, प्राविधिक तथा अप्राविधिक कार्यक्रमहरु, एमफिल तथा पीएचडीका प्राय सबै कार्यक्रमहरु बन्द रहेको छ । विश्वविद्यालयका विद्यार्थीहरु कलेज जानबाट वञ्चित छन् । सेसन् लम्बिएकोमा बिद्यार्थी चिन्तित छन् । कोविड १९ ले सामाजिक दुरी कायम राख्न भन्दै गर्दा अब स्कुल कलेजमा हजारौं-हजार विद्यार्थीहरु सँगै बसेर पढ्ने, लेख्ने र रमाउदै खेल्ने कुरा कसरी सम्भव होला ?

एकजना मानिसमा भएको भाइरसले हजारौंलाई फैलाउन सक्ने यो संक्रमणको अवस्थामा एकजना मात्र विद्यार्थीमा रहेको भाइरसले पूरै स्कुल र कलेजलाई प्रभाव पार्न सक्ने निश्चित छ । विश्व स्वास्थ्य संगठन तथा अन्य बिभिन्न अनुसन्धानले खोप नबनेसम्म यो संक्रमणबाट विश्वले मुक्त हुन नसक्ने बताएका छन् । अमेरिकाले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । यसैगरी केही अध्ययनले सन् २०२४ सम्म पनि कोरोना संक्रमण जारी रहने भएकोले सो समयसम्म सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन् ।

 चिनको जनसंख्या लाई आधार मानेर मेडिकल जर्नल अफ ल्यांसेट मा प्रकाशित एक अध्ययनअनुसार भ्याक्सिन चाँडै पत्ता नलागेसम्म कुनै कारबाही जोखिमरहित र पीडारहित नहुने र चाँडै लक डाउन खुल्दाको असर केही क्षेत्रमा कठोर हुन सक्ने पनि बताइएको छ । तसर्थ यो विषम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षालाई पनि निकास दिनु जरुरी छ ।  यस्तो सामाजिक दूरीलाई कायम राख्दै मास्क, सेनिटाइजर, पन्जा या भाइरस सर्न नसक्ने ड्रेस सहित हजारौं-हजार विद्यार्थीलाई एकैचोटि कसरी परीक्षामा सामेल गराउने वा क्लास कसरी संचालन गर्ने भन्ने विश्वव्यापी अनुत्तरित प्रश्न खडा भएको छ ।

कोरोना भाइरसले लकडाउन अवस्थामा पुगेको विद्यार्थीहरु भावनात्मक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन पुगेका छन् । उनीहरु आफ्नो भविष्य सम्झेर निराश अवस्थामा छन् । बन्द भएका स्कूल-कलेज कहिले देखि खुल्लान् ? हामी फेरी पहिलाकै जस्तो कसरी पठनपाठनका लागि स्कूल कलेज जाने होला ? सर तथा साथीभाइसंग कहिले भेट होला ? हाम्रो भविष्य कस्तो होला ? अब पहिलेको जसो सुचारु रुपमा सबै कुरा चल्ला कि नचल्ला ? विभिन्न ठाउँमा रोजगारी सृजना होलान् किन न होलान ? आफु तथा आफ्नो परिवारमा कोरोना लागेमा के होला? भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ । नेपालबाट विभिन्न मुलुकहरुमा पढ्न जाने विद्यार्थीहरूको रहरलाई कोरोना संक्रमणले तहसनहस पारिदिएको छ ।

हाल चीन, दक्षिण कोरिया, ताइवान आदि देशहरूमा स्कुल, कलेजहरु खुल्न थालेको अवस्था छ ।  उनीहरुले स्कूल  कलेजलाई यत्तिकै खोलेका छैनन् ।  स्कूल परिसरलाई अनवरत रुपमा स्यानिटाइज गरिएको छ भने  स्कुल आउने प्रत्येक विद्यार्थीको थर्मल ज्वरो नापने र उनीहरुलाई मास्कको व्यवस्था गरिएको छ  ।  कक्षाकोठालाइ सेनिटाइज गरिदिने, स्कुलमा हरेकलाई हातमा सेनिटाइजर लगाउं लाउने, जुत्ता सेनिटाइज गरिदिने, डेस्क बेन्च १ मीटर दुरी कायम गरेर अत्यन्त सचेतनाका साथ पठन-पाठन शुरु गरिएको छ । त्यस्तै क्यानडामा पनि दशवटा प्रान्त तथा तीनओटा टेरिटोरी बाहेक कोविड संग मुकाबिला गर्ने संयन्त्र सहित अन्य स्थानहरुमा विद्यालय खुल्ला छन् । अष्ट्रेलिया, ग्रीन्ल्याण्ड, अमेरिका, रुस र क्यानडा आदि देशहरुमा स्थानीय स्तरमा केही स्थानमा पठन-पाठन सुचारु छ ।

युरोपियन मुलुकहरु डेनमार्क, जर्मनी, स्पेन, अस्ट्रिया, नर्बे आदि लगाएतले लक्-डाउनको प्रतिबन्धलाई केही खुकुलो पार्दै उच्च सतर्कताका साथ बिस्तारै विध्यालय खोल्ने भएका छन् । कोविड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए । डेनमार्कले एक महिनादेखि बन्द रहेका प्राथमिक विद्यालय, शिशु स्यार केन्द्रहरु खोल्ने निर्णय गरेको छ । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो ।  विद्यालय खुलेसँगै यहाँ केही नयाँ नियमहरु अनुशरण गर्ने भनिएको छ । विद्यार्थीलाई पहिले भन्दा अलि टाढा राखिने, सरसफाईमा विशेष ध्यान दिइने, सम्भव भएसम्म खुला स्थलमा कक्षाहरु सञ्चालन गर्ने निर्णय पनि भएको छ । युरोपको अर्को देश नर्वेले पनि केजीका कक्षाहरु सञ्चालन गर्ने र बिस्तारै कक्षा ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको छ र प्रतिबन्धलाई केही खुकुलो पार्ने निर्णय गरेको । युरोप र अमेरिकामा संक्रमण फैलिएपछि त्यहाँको सरकार तथा जनता दुबैले लापरवाही गरेको कारणले कोरोना महामारीको चरम अवस्थाबाट गुज्रिनु परेको तथ्य लुकेको छैन । तसर्थ युरोपियन मुलुकले फेरी पनि  कोरोना संक्रमणको उच्च बिन्दुमा रहेको अवस्थामा हतारमा पठन-पाठन शुरु गरे भने अर्को ठुलो दुर्घटना हुनेछ ।  

भारतमा केही विश्वविद्यालयहरुले अनुसन्धानमा संलग्न विद्यार्थीलाई व्यक्तिगत लग इन दिएर पुस्तक, जर्नल, डाटासेट तथा डाटाबेसहरु उपलब्ध गराएर अध्ययन, अनुसन्धान र पठनपाठनलाई अगाडि बढाउने बहस हुन थालेका छन् । त्यसैगरी विश्वका विभिन्न विश्वविद्यालयहरुमा अहिले वेभ सेमिनारहरु हुन थालेका छन् ।

नेपाल सरकारले हालै विद्यालयहरु संचालन गर्न टेलिभिजन एसोसिएसन तथा केवल एसोसिएसनसंग सहकार्य गरेर टेलिभिजनबाट दुर शिक्षा दिन प्रयास गर्दैछ । त्यस्तै टेलिभिजन नपुगेका स्थानमा सामुदायिक रेडियो कार्यक्रमबाट समेत दुर-दराजका बिविद्यार्थीलाई समेट्ने कोशिस गर्न खोजिरहेको छ । त्रिभुवन विश्वविद्यालयले केही दिन अगाडी सम्भव भएसम्म स्नातकोत्तर अथवा सोभन्दा माथिका पठनपाठन तुरुन्त अनलाइनको प्रयोगबाट वैकल्पिक रुपमा शुरु गर्ने कुरा प्रकाशमा आएको छ । अनलाइनबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, अभिमुखिकरण तालिम र द्रुत इन्टरनेटको श्रोत खोजि गर्ने कुरा पनि समाबेश छन् ।  कोविड-१९ द्वारा नेपालमा पर्ने अल्पकालीन र दुरगामी प्रभावका सम्बन्धमा अनुसन्धान गरी रिपोर्ट तयार गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गतका विभिन्न अनुसंधान केन्द्रहरुलाई जिम्मेवारी दिएको कुरा पनि उल्लेख छ । काठमान्डौ विश्वविध्यलायाले आफ्ना कतिपय शैक्षिक कार्यकक्रमहरु अनलाइन विधिबाट शुरु गर्न गइरहेको छ ।  

नेपालमा कोरोनाको प्रभाव बढ्दै गएको छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि यसको प्रकोप बढ्दै गएको अवस्थामा लक डाउन अवधि बढ्ने भएकोले अहिले नै कक्षा संचालन गर्ने अवस्था छैन । तर पनि हामीले भोलिको दिनमा स्कूल तथा कलेजलाई कसरी अगाडि बढाउने त्यसका लागि प्रारुपहरु तयार गरिरहनु जरुरी देखिन्छ ।  

कोविड-१९ को नियन्त्रण भएमा वा खोपको आविष्कार भएमा आजको परिस्थिति हटेर हिजो जस्तो संसार सम्भव हुनेछ । तर खोपको अविस्कार नभए वा दिर्घकालसम्म भाइरस देखिरहने अवस्था भए हजारौको भिडभाड हुने स्कूल कलेजमा कसरी महामारीको प्रकोपबाट बचाउँदै पठन पाठन अगाडि बढाउने हो अन्तर्राष्ट्रिय बहसको विषय बन्न पुगेको छ । तसर्थ सबै उन्नतिको मुहान शिक्षाको निरन्तरताको उचित निकासा खोज्नु पर्छ ।

लामो समयसम्म यो महामारी पूर्ण रुपले नियन्त्रणमा आउन नसक्ने अवस्था कायम रहेमा भोलिका दिनमा नेपालका विद्यालय, तथा विश्वविद्यालयहरुले पनि खुल्ला आकास मुनि अथवा कक्षा कोठामा व्यक्तिगत कुर्सि टेबुल राखि सामाजिक दुरि कायम गर्दै माक्स सेनेटेजर प्रयोग गर्दै र पटक पटक साबुन पानीले हात धुदै पूर्ण सरसफाई अभियान सहित विद्यार्थीलाई शिक्षा प्रदान गर्नुपर्ने छ ।  यसरी जान नसक्ने अवस्था आएमा अनलाइन मध्यम बाट पनि पढाउन प्रभावकारी संयन्त्र बिकाश गर्न राज्यको ध्यान अहिलेदेखि नै जानुपर्छ ।  त्यसैगरी  रेडियो, टेलेभिजन, केवल मार्फत दूरशिक्षा मार्फत स्कुलमा पढाउने राज्यको सोच प्रभावकारी बनाउनुपर्छ ।  

हाल नेपालका विश्वविद्यालयहरूमा केही प्रोग्रामहरुमा, शहर बजारका पैसा लगानी गर्नसक्ने केही विद्यार्थीहरुलाई इन्टरनेटको प्रयोगबाट सिकाउन सके पनि आम विद्यार्थी, दूर-दराजका गरिब विपन्न परिवारका धेरै खर्च गरेर पढ्न नसके विद्यार्थीका लागि यो अहिलेको अवस्था असम्भव र अकल्पनीय छ । हातमुख जोर्ने समेत गाह्रो भएर भोकै बाँच्न बाध्य हुनुपर्ने अवस्थाका गुज्रेका धेरै विद्यार्थीको इन्टरनेट पहुच तथा ल्यापटप टाढाको बिषय हो । दूरदराजका विद्यार्थीको भनेको बेला दुइ छाक भात खाने तथा किताब, कापी र कलम किन्न सक्ने समेत सामर्थ्य छैन । सर्बप्रथम इन्टरनेट र प्रबिधिको पहुच नभएका सबै बिध्यार्थीलाई मूल धारमा ल्याउदै अन्धकारबाट मुक्त गराउने दायित्व राज्यको हो ।

तसर्थ नेपालमा कोरोना संक्रमणको विषम परिस्थिति  कायम रही शिक्षालाई अनलाइनमा लानुपर्ने बाध्यता भएमा हाल कायम रहेको नेपालको न्युन इन्टरनेटको पहुँचलाई बढाउनु आवश्यक छ । बिद्युत नपुगेको स्थानमा सोलार सुबिधा दिएर पनि नेपालमा विद्यार्थीलाई सहुलियत इन्टरनेट दिने तर्फ राज्यले सोच्नुपर्छ । इन्टरनेटको शुल्कको कुरा गर्दा नेपालमा भन्दा छिमेकी मुलुक भारतमा निकै सस्तो छ । त्यहाँ अहिले पनि दुई सय रुपैयाँमा असिमित मोबाइल फोन कल र इन्टरनेट १ महिना भरि  चलाउन सकिन्छ । तर हाम्रोमा निकै महंगो रहेको इन्टरनेटलाई सस्तो र सुलभ बनाउन राज्यले विशेष व्यवस्था गर्नुपर्दछ । इन्टरनेट कम्पनीहरुले सस्तोमा नेट उपलब्ध नगरे राज्यले हस्तक्षेत गरेर भएपनि सस्तो गर्नुपर्दछ भने दूरसञ्चार सस्थानको  सेवा पनि सर्वसुलभ र साधारण जनताको पहुँचमा पुर्याउन सक्ने हुनुपर्दछ । इन्टरनेटको कारण दुरदराज र शहरिया विद्यार्थी बीचको  सिकाइको खाडल नबढ्ने बनाउन आवश्यक छ । बिकसित मुलुकमा समेत अनलाइनमा सहभागी हुने विद्यार्थी अत्यन्त कम रहेको परिप्रेक्षमा नेपालमा इन्टरनेटको पहुँच भएका  सबैलाई अनलाइन शिक्षण प्रणालीमा सहभागी गराउन पनि चुनौती छ ।  तसर्थ आगामी दिनहरुमा अनलाइन बिधि उच्च शिक्षामा उपयोगी हुने भए पनि अहिले नै यसलाई पूर्ण रुपमा लागु गर्न कठीन छ ।  एमफिल, पीएचडी बाहेक अहिलेनै स्नातकोत्तर तथा स्नातक तहका सबै विषयमा वैकल्पिक विधि लागु गर्न निकै कठिन छ । महामारी यथावत रहेमा स्कुल कलेज जस्ता  भीडभाड भइ संक्रमणको सम्भावना रहने कुरालाई मध्यनजर गदै खोल्ने निर्णय लिनु जरुरी हुन्छ । तसर्थ अहिलेको यो कोरोना महामारी कारण विश्वको शिक्षा प्रणाली कता मोडिने हो त्यो भविष्यको गर्भमा रहेको देखिन्छ ।