निको भएर घर फर्किने तयारीमा कैलालीका २१ वर्षीय कोरोना संक्रमित


हरेकपल April 19, 2020

कैलाली, ७ वैशाख । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक निको भएका छन् । धनगढीको सेती अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका उनको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेका हुन् । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनी चैत ११ गते भारतबाट नेपाल फर्किएका थिए । अस्पताल जानुअघि ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनलाई आइतबार नै घर फर्किन दिइने अस्पतालको भनाइ छ ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । ३१ जनामध्ये उनी उपचारपछि निको भएका चौथो व्यक्ति हुन् ।