धर्म, विज्ञान र कोरोना महामारी


हरेकपल April 19, 2020

श्रीमद्भगवतगीताको मा अध्याय ९ श्लोक ८ भगवान श्री कृष्ण भन्नुहुन्छ: प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुन: पुन: । भुतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।। ‘यो सम्पूर्ण  दृश्यमान जगत मेरो अधिनमा छ, मेरो इच्छाद्वारा स्वचालित रुपमा  यो सृष्टि बारम्बार प्रकट हुन्छ र मेरो इच्छाले अन्त्यमा यसको बिनाश पनि हुन्छ ।’ भागवतगीतामा भने अनुसार यो सारा संसार श्रीकृष्णमा निहित छ । यसको शुरुदेखि अन्त्यसम्म हरेक जिम्मा श्रीकृष्णले आफैलाई स्विकार्नु भएको छ ।

सबै जीवात्माहरु यो भौतिक प्रकृतिको गर्वमा अवास्तित हुन्छन र आफ्नो आफ्नो क्रियाकलाप गर्छन । यस वाक्यमा भने अनुशार भगवानको इच्छाद्वारा संसार स्वचालित हुन्छ त्यसैले हाम्रो हातमा न त संसारको सृष्टि सम्भव छ न त बिनाश नै । इतिहासलाई पल्टाएर हेर्ने हो भने मानवलाई नै संसारको सबैभन्दा बिबेकशील र विशिस्ट प्राणी मानिन्छ। मानव आज चन्द्रमा देखि लिएर पृथिवीको भित्रि भाग सम्म सबै ठाउँ पुग्न सक्षम छन् । यो सफलता  सबै मानवले आफ्नै अनगन्ती प्रयासद्वारा हासिल गरेको हो । तर केवल सफल हुनु मात्र जीवनको लक्ष्य हो त ? सफल भएता पनि आज हामी जुन दौडमा छौ यसमा जीत कसको हुन्छ भनेर चिन्न कठिन  छ किनभने समयले हामीलाई कतै न कतै असफल बनाएर छोडेको जस्तो आभास गराएको छ । यही असफलताको रुपमा हामीले अहिलेको कोरोना महामारीलाई लिन सक्छौ ।

अहिले संसारमा महामारीको रुपमा फैलिरहेको भाइरस जसलाई हामी कोरोना अर्थात् कोबिड-१९ को नामले चिन्छौ र त्यसको संक्रमणको जुन समस्यासंग जुधिरहेको छौ, सायद त्यसको जवाफ विज्ञानले दिन सकिरहेको छैन । कोरोना संक्रमणले संसारलाई आक्रान्त तुल्याइरहेको छ । हुन त धर्म र विज्ञान धेरै कुरामा विपरित मानिन्छ । सरसर्ती हेर्दा  विज्ञानका कुराको प्रमाण सजिलैसंग पाउन सकिन्छ तर धर्मको कुनै प्रमाण छैन भनिन्छ । यस्तो लाग्नु स्वभाबिक पनि हो । तर सबै अविस्कार यहि प्रकृतिका बरदान हुन् । मानिसले आविष्कार गरेको हवाइजहाज जस्तो साधन चलाउन यहि प्रकृतिको उर्जा चाहिन्छ । मानिसले विज्ञानको प्रयासमा एउटा सानो जीव पनि बनाउन सक्दैन। त्यस्तै हालको यो कोरोना महामारी विज्ञानले रोक्न सकिरहेको छैन । के विज्ञान पूर्ण छ त ? भन्ने प्रश्न अनुत्तरित बनेको छ .  

कोरोना भाइरस हेर्दा त अतिनै सूक्ष्म हुन्छ तर उतिनै खतरनाक पनि । चिनको बुहानबाट जन्मेको उक्त भाइरस, युरोपको इटाली हुदै अमेरिका सहित विश्वको २१० देशमा फैलिन सफल छ । यसको गतिबिधि देखेर सारा विश्वनै आश्चर्यचकित छ । मानिस मानिसको नजिक जान नसक्ने मानौ एउटा मानव बम जस्तो खतरनाक वस्तु हाम्रो माझ छ । जसरी युरेनियमको सानो कणलाई आणविक विखंडनद्वारा भौतिकशास्त्र र रसायनशास्त्रको फ्यूजनबाट एटम बम जस्तो खतरनाक हतियार बनाउन सम्भव भयो, त्यही कुरा एउटा धुलोको कण भन्दा सानो जीवले सित्तैमा गरेर देखाइदियो । त्यसमा पनि सबै खालका मानिसको आ-आफ्नै प्रकारको  विश्लेषण छ । धार्मिक हिसाबले हेर्दा पृथ्वीमाथिको दोहनले आफुलाई पहिलैको रुपमा फर्काउन पृथ्वीले गरेको एउटा लडाई को रुपमा यसलाई लिन सकिन्छ । शास्त्रीय हिसाबले कलियुगको आयु ४,३२००० वर्ष मध्ये हामीले केवल ५०००  मात्र वर्ष बिताएको छौ । त्यसैले आशा गरौ हामी केहि समय संघर्ष गरेर कोरोनालाई पराजित गर्दै अघि बढ्न सफल हुनेछौं ।  

हुन त यदि विज्ञानका महान आविष्कारकहरु नहुने भए हामी आज जहाँ छौ त्यो सम्भव थिएन होला । अल्बर्ट आइनस्टाइन जस्ता महान वैज्ञानिकले e=mc2 जस्तो सिद्धान्त दिएर विश्वलाई नयाँ आयाम दिए । निकोलस टेस्लाले अल्टर्नेटिंग करेन्ट नबनाएको भए सायद आज विश्वमा बिजुली नामको शब्द सम्भव हुदैनथ्यो होला । न्यूटनको गुरुत्वाकर्षण शक्तिले संसारमा तहल्का नै मच्चाईरहेको छ । लुइस पास्टरले दिएको माइक्रोबायोलजीको सिद्धान्तले आज विभिन्न रोगको खोप बनाउनुको साथै माइक्रोबियल फर्मेंटेशन र पास्चराइजेशनले एउटा सफलता प्राप्त गर्यो जसले रोगको निवारण अनि मानवको ज्यान बचाउने मुख्य सूत्र पत्ता लगायो ।

यसैगरी विज्ञानका विभिन्न स्रष्टाहरुको यस क्षेत्रमा आफ्नै योगदान छ ।  तर बैज्ञानिकहरुले जे गरे पनि पृथ्वीमा रहेका बस्तुको खोजि गरेर, त्यसलाई फिल्टर गरेर सैद्धान्तिक रुपमा प्रस्तुत गरिएको हो । यसमा कुनै बाहिरी बस्तु नभएर पृथ्वीमै भएको गतिविधिलाई नियालेर हेरेको अनुभव हो । तसर्थ जे जति बस्तुहरुको हामी कुरा गर्छौ सबै प्रकृतिमा पहिल्यैदेखि उपस्थित भएको बस्तुहरुको परिचलान् मात्र हो । त्यसैले प्रकृति हामीभन्दा धेरै अगाडी छ । यसलाई न कसैले जित्न सक्छ न त मेट्न नै । यसको हाँगाले सारा संसारलाई ढाकेको छ । त्यसकारण मानिसले कहिलेपनि प्रकृतिलाई जित्न सक्दैन भन्ने कुरा वर्तमानमा हामीले भोगिरहेको महामारीबाट सिक्न सकिन्छ ।

तसर्थ भागवतगीता अध्याय ४ श्लोक ७ मा उल्लेख छ: यदा यदा हि धर्मस्य ग्लानीभर्वती भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। अर्थात् “हे भारतबंशी अर्जुन जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ त्यस समय त्यस ठाउँमा मैले अवतार लिन्छु” यो बाक्यमा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउदै भन्नुभएको थियो कि पाप बढेपछि र अधर्मको उन्नति भएपछि म अवतार लिन्छु । यो भगवान श्रीकृष्णको लिला हो कि प्रकृति ले गरेको इकोसिस्टमको सन्तुलनको प्रयास हो ? अनुत्तरित छ । तर जे भए पनि यसले हामीलाई पृथ्वीको सबै प्राणी जातिको बाँच्न पाउने अधिकार सुनिस्चित गर्न दिएको एउटा ठुलो संदेश हो ।

विज्ञानले मानवीय जीवनलाई सरल सहज र भौतिक रुपमा उन्नत बनाउन पुर्याएको सहयोग असीमित छ । तर त्यति हुदा हुदै पनि प्रकृति माथिको नियन्त्रण कायम गर्ने कुरामा वैज्ञानिकहरुले  शत प्रतिशत सफलता हासिल गर्न नसकेको देखिन्छ । धार्मिक पक्षबाट हेर्दा मानिसले प्रकृति माथि गरेको अत्याचारको परिणाम हो र त्यसलाई पार पाउने उपायको रुपमा मानवीय महत्वकांक्षा र नकारात्मक सोचमा परिवर्तन गर्दै सबै चराचर जगतलाई आफु सरह हेर्ने दृष्टिकोणको बिकास गर्नुपर्दछ भन्ने देखिन्छ । एसको ज्वलन्त उदाहरण अहिलेको कोरोना महामारी नै छ । मानिसले अरु त छाडौ सर्प, चमेरा जस्ता जंगली जनावरलाई समेत खान बाँकी राखेका छैनन् र यसले गर्दा  जैविक विविधतामा ठुलो असर परिरहेको छ । प्रकृतिद्वारा जीव माथिको अति दोहनले आज हामी यो अवस्थामा पुग्दैछौ ।

प्रत्येक प्राणीको यस पृथ्वीमा आ-आफ्नै अस्तित्व छ  र सबैको सन्तुलन क्रियाकलापबाट नै यो संसार चलेको छ जसलाई इकोसिस्टम भनिन्छ । यो इकोसिस्टममा एउटा पनि तत्वलाई बाहिर निकाल्न खोज्यो भने परिणाम निकै नै भयाबह हुन् सक्छ । यसको  उदाहरणको रुपमा हामीले अहिलेको कोरोना संक्रमणको घटनाक्रमबाट पनि पाइसकेका छौ । यदि समयमै प्राणी जातिको बाँच्न पाउने  अधिकार निश्चित नगर्ने  हो भने यसले सन्तुलित  इकोसिस्टमको परिकल्पना  समेत गर्न सकिदैन । कत्तिपय कुरा सुरुवात गरेपछि यसको अन्त्य पाउन कठिन रहेछ भन्ने कुराको हामी अनुभव गर्न सक्छौ ।

(लेखक:मनमोहन मेमोरियल पोलीटेक्निक , हात्तिमुडामा  अध्यापनरत हुनुहुन्छ)