दातृनिकायसँग कुल ऋणमै ५० प्रतिशत मिनाहाको प्रयास गर : राप्रपा


हरेकपल April 19, 2020

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना दातृनिकायलाई कुल ऋणमै ५० प्रतिशत मिनाहाको प्रयास गर्न सरकारलाई सुझाब दिएको छ । 

राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई वर्षसम्मको ब्याज मिनाहा गरिनुपर्दछ, नेपालजस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नुपर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहा गरिनुपर्दछ ।’

राप्रपाले महामारी फैलिएको महिनौँ भइसक्दा पनि स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

कोरोना अन्त्य नभएसम्म सामान ढुवानी बाहेक  भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न पनि राप्रपाले माग गरेको छ । 

राप्रपाले संकटका वेला सबै पक्षको सहयोग र सुझाब लिन तथा सरकारको  कार्यबारे सबैलाई जानकारी दिन प्रत्येक तहमा सर्वदलीय संयन्त्र गठनको माग पनि गरेको छ ।

राप्रपाले कोरोना भाईरसको प्रकोपबाट उत्पन्न आर्थिक मन्दीका कारण विदेशमा जागिरबाट निकालिएका र अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै स्वदेश ल्याएर उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आग्रह गरेको छ ।