नेवि संघ बाजुराले खाद्यान्न राहत वितरण गरेर मनायो स्थापना दिवस


हरेकपल April 19, 2020

बाजुरा । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ बाजुराले आज आफ्नो ५१औं स्थापना दिवसको अवसर पारी खाद्यान्न राहत विरतरण गरेको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रमका साथ सम्पन्न गरिदै आएको सङ्गठन स्थापना दिवस यस वर्ष भने नेविसंघ बाजुराले फरक ढङ्गबाट कोरोना भाइरस अर्थात् (कोभिड–१९) को महामारी र लकडाउनले गर्दा निम्त्याएको संकटलाई मध्यनजर गरि पूर्ण सेवाभावका साथ कुनै औपचारिक कार्यक्रम नै नगरि नितान्त गरिब, मजदुर, निमुखा, विद्यार्थी र संकटमा परेकाहरूलाई खाद्यान्न राहत वितरण गरि सङ्गठनको स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसमा नेवि संघ बाजुराका उपाध्यक्ष जनक थापाको पहलमा नेपाली काङ्ग्रेस नेतृ जुना दानी, बाजुरा जिल्ला कार्यसमिति सदस्य तथा बडिमालीका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावल,बडिमालिका नगरपालिका उप–प्रमुख कविता विष्ट लगायतको उपस्थितिमा खाद्यान्न राहत वितरण गरिएको थियो ।

समस्या र संकटको घडीमा कुनै औपचारिक कार्यक्रम गरिरहनुभन्दा सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गरि राहत वितरण कार्यक्रमको आयोजना गरेको उपाध्यक्ष थापाले बताउनु भएको छ । बाजुरा सदरमुकाममा घर भाडामा बस्दै आएका विद्यार्थीहरू र बाहिर जिल्लाहरूबाट कामको सिलसिलामा सदरमुकाममा बस्दै आएका र लकडाउनको कारणले गर्दा समस्यामा परेका मजदुरसंगै खाद्यान्न संकटमा परेकाहरूलाई राहत वितरण गरेको थापाले बताउनुभएको छ । राहत वितरणमा सम्पर्कमा आएकाहरूलाई १३ बोरा चामल वितरण गरिएको छ । सामाजिक दुरी अर्थात् धेरै भिडभाड नहोस् भनि राहत लिन आउने विद्यार्थी र मजदूरहरूलाई खाद्यान्न केन्द्रमै बोलाई राहत हस्तान्तरण गरिएको छ । राहत वितरण गर्दा विद्यार्थी र मजदुरहरूले नेवि संघले वितरण गरेको राहतले आफुलाई ठुलो सहयोग भनी खुसी व्यक्त गरेका थिए।