आज सोमप्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख ८ गते


हरेकपल April 20, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको २० तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको त्रयोदशी तिथि राति ३।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभद्रपदा नक्षत्र बिहान ८।१७ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।३६ मा छ भने सूर्यास्त बेलुका ६।३१ बजे हुनेछ । चन्द्रम आज मीन राशिमा रहेका छन् ।


आज सोमप्रदोषव्रत परेको छ । सोमवारका दिन त्रयोदशीयुक्त सन्ध्याकालीन समय पनेै दिनलाई सोमप्रदोष भनिन्छ । चन्द्रजन्य दोष निवारणका निम्ति सोमप्रदोषव्रत लाभदायी रहने गर्दछ । आज केवल शिवजीकोे उपासना फलदायी रहने गर्दछ ।