पासको व्यवस्था गरिदिए अलपत्र सर्वसाधारणलाई घर पुर्याइदिन्छौँ : सार्वजनिक यातायात महासंघ


हरेकपल April 20, 2020

काठमाडौं– लामो लकडाउनका कारण काठमाडौं उपत्यकालगायत स्थानबाट हजारौं मजदुर पैदल नै हिँडेर घर गइरहेका छन् । यसैबीच सरकारले पासको व्यवस्था गरिदिए अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको सार्वजनिक यातायात व्यवसायी महासंघले जनाएको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो । यो यातायात कम्पनीहरूको महासंघ हो ।

महासंघले लकडाउनको समयमा सरकारलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी असार मसान्तसम्मको कर, राजस्व र बैंकको ब्याज मिनाहा गर्न पनि माग गरेको छ ।

यस्तै महासंघले ६ महिनाको किस्ता अवधि बढाइदिन र समग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग पनि अघि सारेको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।